आमा : ओमकुमारी रानाभाट

ओमकुमारी रानाभाट

लघुकथा – आमा

ओमकुमारी रानाभाट

खाना पकाउँदै गरेकी आमाले सुतिरहेकी छोरीलाई ढोकामा आएको दूधवालासँग दूध थाप्न भनिन् । छोरी सुनिता उठिन । आमाले सिरक फ्याँक्दै भनिन्-“सुत्न पाए समयको ख्यालै छैन। भोलिबाट परीक्षा छ, मलाई अफिस जान ढिलो भैसक्यो उठ् छिटो ।””सुत्न पनि दिनुहुँदैन , छोरी नुर्याउँदै उठेर बाथरुम गई, ढोका जोरले बजारेर बाथरुमको ढोका बन्द गरी ।

“नानी खाना खान आइज” आमाले खाना पस्किइन् । छोरी खाना खाने टेबलमा घोप्टेमुन्टो लगाएर मोबाइलमा गेम खेल्न थाली । अफिस जान हतार हतार गर्दै, छोरीलाई अह्राइ सिकाइ गरिन् तर छोरी झर्किदै भन्न थाली -“कति बकबक गर्नुहुन्छ ! म अब सानी छैन नि बुझ्नु भयो ? अफिस जान ढिलो भएको छैन ? तपाईं घर नहुँदा त कति आनन्द हुन्छ ।

Add
advertise

“तपाईंको कचकचले दिक्क भैसके म । तपाईंको साटो बाबा भएको भए कत्ति मज्जा हुन्थ्यो” छोरी बडबडाउँदै खाना खान्छे ।आमा चुपचाप अफिस गइन् । छोरी आफ्नो धूनमा लागी ।

समय मै आउने आमा बेलुका अबेरसम्म नआउँदा सुनिताको मन आत्तिन थाल्यो । किन , कहाँ भनेर प्रश्नहरू सलबलाउन थाल्यो ।एकाएक फोनको घण्टी बज्यो । उसले फोन उठाई ।
“हेल्लो को हो तपाई ?” पुरुष आवाज आयो ।
“म सुनिता । तपाई को ? यो त मेरो आमाको नम्बर हो ।”
” म अस्पतालबाट असइ रमेश। ”
“मेरो आमा खोईँ ? ” ठाडै सोधी
“यो फोनको महिला मृत अवस्थामा फेला परेको छ । तपाईं तुरुन्तै अस्पताल आउनुहोस् । ” यति भनेर प्रहरीले फोन राख्यो ।सुनिता रुँदै आत्तिदै अस्पताल पुगी ।

डाक्टरले सुनिताको उमेर सोधे र भने – “माफ गर तिमी सानी छौ । तिमीलाई लास देखाउन सक्दैनौं । घरबाट ठुलो मान्छेलाई लिएर आऊ।”
“बाबा एक्सिडेन्ट्मा पहिल्यै बितिसक्नु भयो । अामाबाहेक मेरो कोही छैन , म आमासँग जान्छु ” । अलाप गरेर सुनिता रोई । तर भेटन दिएनन् बरू उनलाई प्रहरीले घर पुर्याए । पिँढीमा बसेर रुँदै , एक्लै आमासँग बिताएका पलहरु याद गरी । भावुक बनी । आमा, आमा कहाँ जानुभयो ? छिटो घर आउनुहोस् भन्दै आकुल व्याकुल गर्दै रोई , कराई।
घर भित्रबाट आमा आईन् । किन रोएकी ? के भयो ? उसले आमालाई दौडेर अँगालो हाल्दै सबै घटना बताई ।
आमाले भनिन् – “ बिहान हतार हतारमा अफिस जाँदा फोन हराएको थियो , पुलिसले पो फेला पार्यो , राम्रै भयो । ´´

लेखनाथ २६ पोखरा