हतारो र चटारोको त्यो अविस्मरणीय दिन

राजु क्षत्री अपुरो

हेम्जा साहित्य प्रतिष्ठान पोखराले प्रत्येक महिनाको दोस्रो शनिबार काव्यमालाको कार्यक्रम गर्ने गर्दछ । बैशाख महिनाको त्यो दोस्रो शनिबार हेम्जाकी देवी त्रिपाठी बैनिले कार्यकममा उपस्थिति जनाउन निम्ता दिएकी थिइन् । म पोखरामा हुने साहित्यिक गतिविधिमा दोश्रो पटक सहभागी हुन जाँदै थिएँ र यो पाला त मञ्च मै उपस्थित भएर आफ्नो रचना बाचन गर्ने मौका समेत पाउँदै थिएँ ।

कार्यक्रम बिहान ७ बजे शुरु हुने भनिएपछि म बिहान ६ बजे नै उठेर हेमजा तिर लागेँ । बाटोमा कुनै जिप या मोटरसाइकल आउलान् भन्दाभन्दै झण्डै आधा बाटो हिडिसकेको पत्तो नै पाएनछु । मर्दिपुल झर्ने डिलमा पुग्दा अर्को बाटो हुँदै टुप्लुक्क आइपुगेका गाउँले भाइ दिलिप रानाभाट भेटिए । उनी च्याउ खेती पनि गर्दा रहेछन् ।
हामी दुईजना पैदल गफ गर्दै जाँदा बाटो कटेको पत्तो नै भएन । सवारी साधन चल्न थालेपछि अचेल मान्छेहरू पैदल त्यति हिड्दा रहेनछन् । हेमजा पुगेपछि उनी आफ्नो गन्तव्य तिर लागे भने म बलराम पौडेल भाइको घर तिर मोडिएँ । बलराम पौडेल पछिल्लो समयमा साहित्यमा गहन चाख लिएका व्यक्ति हुन् र अहिले समिक्षकको रुपमा देखा परेका पनि छन् । हाम्रो पारिवारिक सम्बन्ध पनि राम्रो रहेको हुँदा मलाई उनको घरतिर खिच्यो। म उनलाई पनि लिएर त्यो कार्यक्रममा जान चाहान्थें तर घरपुगेपछि थाहा लाग्यो उनी कुनै कामले बाहिर गइसकेका रहेछन् । आतिथ्य सत्कार स्वरुप पाएको गाईको तात्तातो दुध पिएर म हेमजा कै मिलन चोकतिर लागेँ । मोबाइलमा समय हेरेँ! कार्यक्रम शुरु हुने समयले नेटो काट्न लागीसकेछ। हरिचोक बाट आएको बसमा चढेँ ।कण्डक्टरले सोधे -“कहाँ जाने ? मैले भने -हनुमान चोक , बस चढेर भाडा बुझाएकै एक मिनेट मै “ल हनुमान चोक आयो उत्रीनुहोस् ” भन्यो उसले । उत्रिएर पछाडी फर्केर हेरेको जम्माजम्मी तीन सय मिटर पर मात्र रहेछु । हत्तेरी , पाँच किमि पैदल आएर तीन सय मिटर मात्र के खान चढेँ हुँला! भन्नेपनि लाग्यो। मैले त अलि माथी कै कुनै नयाँ चोक बन्यो होला भन्ने सोचेको थिएँ ।

Add
advertise

हनुमान चोकमा केही मान्छेहरू सलबलाइरहेको पाएपछि कार्यक्रम स्थल यहीँ रहेछ भनेर अनुमान गर्न कठिन भएन । कार्यक्रम स्थलमा हेमजा साहित्य सदनका अध्यक्ष एवं पृथ्वीनारायण क्याम्पस नेपाली बिभाग प्रमुख कृष्ण पौडेल सरले गर्मजोशिका साथ स्वागत गर्नु भयो। उहाँले२०७३ भदौ चार गते मेरो अनुपस्थितीमा पनि मेरो गाउँ मै पुगेर मेरो पुस्तक “भाग्य र कर्म” लघुकथा सङ्ग्रह बिमोचन गरेर आउनु भएको थियो।

त्यो दिन विशेष कार्यक्रम रहेको थियो। पोखराबाट सुगम सङ्गीत परिवारको टोलि आएको थियो । स्थानिय साहित्यकारहरू प्रकाश त्रिपाठी, देवी त्रिपाठी , अमृता अधिकारी ,झलक कुँवर लगायतका सर्जकहरूले आ-आफ्ना रचनाहरू बाचन गरेपछी सुगम संगित यात्राको कार्यक्रम शुरु भयो। चर्चित गायक तथा सङ्गितकार राम भक्त जोजिजु लगायत थुप्रै गायक गायीकाहरूका सुमधूर स्वरले कार्यक्रम स्थल छाड्न मन नै मानेन जवकी म त्यसैदिन केही अरु कार्यक्रममा पनि सहभागीता जनाउनु पर्ने थियो । उहाँले सबैको अनुरोधमा आफ्नो “उडेर जुन छुन्छु” भन्ने चर्चित गीत गाउनु भयो। त्यसैगरि स्थानिय गङ्गा त्रिपाठी , सुनिल गायकले पनि मीठो स्वरले सबैको मन जित्नु भयो।

त्यो भन्दा पहिला मलाई पनि लघुकथा वाचन गर्ने अवसर दिइएको थियो । मञ्जरी थियटर मलेसियाले मेरो सम्मान कार्यक्रमको अवसरमा लघुकथा वाचन गरेको बाहेक नेपालमा वाचन गरेको यो पहिलो अबसर थियो मेरो। कविता , गीत, गजल, मुक्तक सुन्न बानी परेकाहरूलाई मेरो लघुकथाले कत्तिको तान्यो थाहा भएन तर सुगम सङ्गीतका प्रायः सदस्यहरूलाई चाहिँ खिच्न सफल भएछु भन्ने लाग्यो। टोलिका सदस्य एवम कार्यक्रमका उद्घोषकले मैले वाचन गरेको लघुकथालाई बिचमा प्रसङ्ग जोडेका थिए।

अलि ढिलो गरि शुरु भएको कार्यक्रम भएको हुँदा समापन पनि ढिलै भयो। एउटा संयोग नै थियो मलाई लघुकथामा गुरुको दर्जा दिएकी त्यसै ठाउँकी चेली अमृता अधिकारी रेडियो पश्चिम पोखरामा आवद्ध रहिछन् । उनी मेरो सानो अन्तरवार्ता लिन चाहान्थिन् । मैले उनलाई केही बेर समय दिएँ ।

त्यसपछि एक साथ मेरा दुई कार्यक्रम जुधे । पोखरामा नवगठित रहेको लघुकथा समाज पोखराको पनि सानो कार्यक्रममा कल्याण पन्त सरले निम्ता दिनु भएको थियो र त्यही समयमा हेमजामा भइ रहेको शुभकामना कपको फूटबल फाइनल खेल हुनुपुर्व भेट्रानहरू बिच मैत्रीपुर्ण खेल समेत थियो। गाउँले दाजु कृष्ण सुनारले कुनैपनी हालतमा टिममा सहभागी हुनै पर्ने निर्देशन समेत दिई सक्नु भएको थियो। केही दवावमा परेको मेरो खुट्टा खेलतिर नै लम्किए । पोखराको कार्यक्रमको समयलाई तालमेल मिलाउन नसक्दा आफैमा खिन्नता महशुस गरेँ । त्यो दिन अल्पबिराम पोख्रेली लगायतका थुप्रै लघुकथाकारहरूलाई भेट्नबाट बञ्चित रहेँ ।

लामो समयदेखि अभ्यास नभएकोले शरीरको तौल बढेको थियो । फेरि बैशाख मासा ,दिनको चर्को घाम भएको हुँदा मैदानमा सहभागी जनाउन भन्दा अरु काम गर्न सकिएन भन्ने आफैलाई लाग्यो । यति हो मैदान भित्र आफ्ना समयका पुराना खेलाडी साथिहरू भेट्ने मौका चाहिँ मिल्यो।

त्यसपछि फाइनल खेल शुरु भयो। फाइनलमा अमर शिंह पोखराको टिम र स्याङ्जा वालिङको टिम पुगेका थिए । वालिङको टिम खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको रहेछ र पोखराको टिम बढो मुस्किलले पुगेको रहेछ। सर्सर्ती बुझ्दा वालिङले नै कप उचाल्छ भन्ने सबैलाइ लागीरहेको रहेछ।र भयो पनि त्यहि । स्याङ्जाका खेलाडीहरूले पछिल्लो समय फूटबलमा निकै प्रगती गरेका रहेछन भन्ने बुझियो। हेर्दाहेर्दै स्याङ्जाका खेलाडीहरूले मध्यान्ह अघि नै दुई गोल ठोकिसकेका थिए । पोखराको टिम निकै दवावमा थियो।
त्यसपछि म आफ्नो मामाघरमा माइजू बितेकी हुँदा १३ औ दिनमा सहभागी हुनपर्ने थियो। म उता खेल हेर्न छाडेर पुरुन्चौर तिर लागेँ । त्यतापट्टीको रुटतीर अहिले कुनै सवारी साधन चल्दैनन् । हुनेले प्राइभेट सवारी मात्र प्रयोग गर्छन नत्र पैदल नै प्रयोग गर्नुपर्ने अवस्था। तैपनि कोहि बाइकवाला आइ पो हाल्छन कि! भनेर हिंड्दा हिंड्दै एक घन्टा नाघिसकेछ।उता घनघोर पानी पर्न आँटेको थियो। तर घर पुगिन्जेल पानी परेन र रुझ्नबाट बचियो। त्यतिन्जेलसम्म साँझ हुन लागीसकेको थियो। घर फर्किन सक्ने अवस्था पनि थिएन र मेरो बास मावलिकोमा भयो।

बिहान उठेदेखी साँझ सम्मको भागादौडीले शारीरिक र मानसिक रुपमा थकित भएको थिएँ । छुट्टीमा गएको बखतको त्यो दिन मेरो लागि हतारो र चटारोको अविस्मरणीय दिन नै रह्यो ।