अनुगमन : लक्ष्मण अर्याल

लक्ष्मण अर्याल

लघुकथा : अनुगमन

लक्ष्मण अर्याल

“कागजपत्र पटक्क मिलेन मिलाएर ल्याउनुस् ।” — हाकिमले भन्यो ।

“के मिलेन र सर, भन्दिनस् न मिलाएर ल्याउँछौं ।” — सेवाग्राहीले नरम मिजासमा सोध्यो ।

सुब्बाले कुरो उधार्‍यो — “तपाईंहरू हामीलाई रेस्पोन्स नै गर्नुहुन्न । तपाईंको कागज मिल्दैन ।”

“काम गर्नुपर्छ र गरिन्छ पनि । हामी कामकै लागि हौं तर तपाईंहरू कुरै बुझ्नुहुन्न । हाकिम साबले कसरी सही गर्ने पचास लाखको कागजमा ?” — यसपल्ट पापी पेटका कारण न्यून वेतनधारी खरदार बोल्न विवश भयो ।

सेवाग्राहीले सोच्यो — आखिर यो अनुदान नै त हो । अनुदान अलिकति कम होला के फरक पर्छ र ? प्राप्ति त हुन्छ नि । अनि बोल्यो — “सर, हामी कहाँ घुम्ने ठाउँ छ, आइदिनु होला । आउँदा यहाँहरूले अन्त बस्ने सोच्नुभएन । हामी स्वागतका लागि आतुर छौं । यही मेसोमा हामीलाई अनुगमन गर्दिनुस् । सर्प मर्छ लठ्ठी भाँचिदैन ।”

लेखाप्रमुखले कागज पल्टाएजस्तो गर्‍यो र भन्यो — “ विषालु सर्पले दु:ख दिएको छ आजकल, लठ्ठी नभाँची सर्प मर्नुपर्छ । ठीक छ दर्ता गर्नुस् ।”

सेवाग्राहीको काम बन्यो । एक सातापछि हाकिमका जम्मो टोली अनुगमनका लागि कार्यालयमा आए । कार्यालयका हाकिम उही सेवाग्राहीले अनुगमन टोलीलाई धीत फुकाएर आतिथ्यता प्रदान गर्‍यो । आतिथ्यतामा रातो खसी ढलेको र विदेशी सोमरसका बोतलहरू खुलेका जस्ता झिनामसीना कुराहरू गौंण भए । यी कुरा उठ्नु र उठाउनु भनेको ‘अतिथि देवो भव’ भन्ने हाम्रो पारम्परिक विश्वासमा आघात हुन्थ्यो जुन हुन पाएन ।

अन्ततः सदाझैं यसपल्ट पनि काम लिन र मिलाउन जान्नेहरूले भष्टाचार हुन दिएनन् ।