अचानोको चोट : जया शर्मा

जया शर्मा

लघुकथा – अचानोको चोट

जया शर्मा

दिउँसोको समय। बिमला खाजा बनाउँदै थिइन्, बाबुछोरी बैठक कोठामा। कलेज पढ्दै गरेकी छोरी र कर्मचारी बाबु लकडाउनले घरैमा थन्किएका थिए।

“अब त मनपर्ने फिल्म पनि हेरेर सिद्धिइसके, कस्तो दिक्कलाग्दो भएको हो! कतिञ्जेल लम्बिने हो यो भाइरसको प्रकोप?” तन्मय भुत्भुताए। छोरी नजिकै बसेर ल्यापटप चलाउँदै थिइन्।

“किन र बाबा? के भो?”

“के भो भन्नु नि अब? यो बन्दाबन्दीले त सासै फेर्न नसक्ने भइसकेँ म।”

“सञ्चो छैन हो?”

“सञ्चै छु, छन त।”

“खाना, खाजा समयमै खाइरहनु भएको त छ नि?”

“खाएको छु समयमै तर अफिस जाने आउने गरेको मान्छेलाई उकुसमुकुस हुँदो रहेछ लगातार घरैमात्र बसिरहँदा।”

“बाबा, अफिस नगएका दिनमा तलब आउँछ कि आउँदैन?”

“आयो नि तलब त तर पैसा भएर, खान पाएर मात्र के गर्नु? बन्दी भइएको छ, घरभित्रै! कतै निस्कियो भने रोग लाग्ला भन्ने डर।”

“के भो त बाबा? भोक लाग्दा मन लागेको खान पाउनु भएको छ, निद्रा लाग्दा सुत्न पाउनु भएको छ, मनोरन्जनका लागि टीवी, कम्प्यूटर छन्, फूलबारी छ, करेसाबारी छ। यस्तैमा रमाउनु न।”

“यसरी एकोहोरो घरमा बसेर पनि रमाउन सकिन्छ? फेरि आफ्नै इच्छाले बसेको भए कुरा अर्कै हुन्थ्यो। यो त रोगको डरले र सरकारको करले हो। जति सुविधा भएपनि यसरी त सकिँदैन रहेछ, बीस बाइस दिन भइसक्यो कतै निस्कन नपाएको! गुम्सिइसकेँ म त!”

“हजुरहरूको बिहे भएको तेइस वर्ष भयो है?”

“हो त! यो वर्ष त चौबीस पुग्छ।”

“आमालाई ‘घरमा नपुग्दो केही छैन, तिमीले बाहिर काम गर्नुपर्दैन’ भनेर हजुरले कर गरेर सरकारी जागीर छोड्न लगाएको पनि चौबीस वर्ष हुन लागेछ है बाबा?”