हरेक रोग निको पार्ने गुरू

विश्वराज अधिकारी

लघुकथा : हरेक रोग निको पार्ने गुरू

कथाकार: विश्वराज अधिकारी

गुरुको चमत्कारी आध्यात्मिक क्षमता देखेका एक शिष्यले अनुरोध गर्यो, “गरुवर, तपाइँले जानेको त्यो मन्त्र मलाई पनि सिकाइ दिनु पर्यो। तपाइँको त्यो मन्त्र गज्जबको छ। जस्तो सुकै, अति दर्द पीडा दिने रोग लगेको व्यक्तिको निधारम तपाइँले त्यो मन्त्र पढेर समात्दा रोगी पहिले भूँइमा ढल्छ र उसले त्यो रोगबाट मुक्ति पाएको तुरुन्तै अनुभूत गर्छ।”

गुरुले सुनेको नसुनेझै गरे। गुरुले यस्तो गर्ने क्रम लामो समयसम्म चले पछि एक दिन शिष्यले, “आज त त्यो मन्त्र तपाइँले मलाई जसरी पनि सिकाइ दिनै पर्छ, गुरुवर। नसिकाउने हो भने……….., भन्दै’ गुरुसँग जिद्दी गर्यो।

Add
advertise

गुरुको चमत्कारको बखान र रोगीहरू बटुल्नेदेखि उनीहरूले गुरुलाई दिने दान दक्षिणा आदि सबैको व्यवस्था गर्ने त्यो इमान्दार शिष्य आफ्नो हातबाट छुट्ने त्रासबाट भयभीत हुँदै गुरुले आफ्नो त्यो शिष्यलाई उक्त मन्त्र घोकाएर सिकाए। अनि गुरुले चेतावनी पनि दिए, “हेर, यो मन्त्र अरू कसैलाई पनि नसुनाउनु। जुन दिन तिमीले यो मन्त्र अन्यलाई सुनाउने छौ त्यसदिन देखि यो मन्त्रको शक्ति समाप्त हुनेछ।”

शिष्यले सहमतिमा सिर हल्यायो।

एक दिन, आफ्नै घरको आँगनमा राखिएको मेचमा बसेका गुरु त्यो मेचबाट ढले। उनको अनुहारमा अति नै त्रास फैलियो। छातीमा हात राख्दै गुरु, “अइआ, अइआ”, भन्दै कराउन थाले।

केही पर रहेको त्यो शिष्य तत्काल गुरुको नजिक आयो। उसले भन्यो, “न आत्तिनु होस गुरुवर। तपाइँले भन्ने गरेको त्यो चमत्कारी मन्त्र अब मैले पनि जानेको छु। चिन्ता नगर्नु होस। खोइ तपाइँको निधार दिनुस। मैले त्यो मन्त्र पढेपछि तपाइँको रोग र पीडा अहिले गायब हुन्छ।”

गुरुको निधार समातेर त्यो शिष्यले, ‘आन्तरु मान्तरु, कासा कासा, जा जा जा, आन्तरु मान्तरु, कासा कासा, जा जा जा” भन्दै गुरुले दिएको त्यो मन्त्र पढ्न थाल्यो। शिष्यले यस्तो दुई चारपटक गरिसके पछि दिक्दार हुँदै गुरुले शिष्यलाई भने, “एमबुलेन्सलाई फोन गर, मलाई छिटै अस्पताल पुर्याऊ। समयमा अस्पताल नपुगे मेरो मृत्यु पनि हुन सक्छ। मलाई हृदयघात भएजस्तो छ। ढिलो नगर। फोन गर।”

ज्यादै सोझो र अति ज्ञानी प्रवृतिको शिष्यले भन्यो, “धैर्य गर्नुहोस गुरुवर। मलाई दुई चार पटक अझै त्यो मन्त्र पढ्न दिनु होस। तपाइँले त्यो मन्त्र पढ्दा कस्ता कस्ता दीर्घरोगीका घातक रोगहरू त निको भएको छ। तपाइँको रोग निको नहुने त कुरै छैन।”

आफूलाई अस्पताल नलगेर त्यो मन्त्र मात्र पढने शिष्यको मनसाय देखेर गुरुले भने, “हेर त्यो मन्त्र सन्त्र केही पनि होइन। केवल नाटक हो। त्यो मन्त्रले रोग निको हुँदैन।। बरू मलाई छिटै अस्पताल पुर्याउ।”

शिष्यले आश्चर्य मान्दै भन्यो, “त्यो मन्त्र होइन, त्यसले रोग निको पार्दैन? अनि, पहिले त्यो मन्त्रले कसरी त्येतिका मानिसको कडा भन्दा कडा रोग निको पार्यो त?”

गुरुले भने, “हेर, यो बेला बहस गर्ने बेला होइन। मलाई छिटै अस्पताल पुर्याउ।”

(समाप्त)