फेर्ने कि लगाउने ? : तारा भट्टराई

तारा भट्टराई

लघुकथा : फेर्ने कि लगाउने?

तारा भट्टराई

जनैपूर्णिमाको दिन लामोबाटो मोटरसाईकल कुदाएर ससुराली पुगेका नयाँ ज्वाँईको अनुहारमा निक्कै वेचैनी देखेर सासुले सोधिन्- “हजुरलाई सन्चो छैन कि क्या हो ज्वाँईसाब” ? ज्वाँईले अलि हड्बडाएर जवाफ दिए “हैन हैन म ठिक छु” । मुखले ठिक छु भनेपनि अनुहार र शरीरको हाउभाउले केही कुरा बेठिक भएको संकेत बुझ्न गाह्रो थिएन ।

जनै मन्त्रने विधि चलिरहँदा बिच बिचमा विधिले मागे अनुसारको दक्षिणा र टिकाटालोले पनि ज्वाँईको अनुहारमा कान्ति ल्याउन नसकेको देखेपछि सासुले ज्वाँईलाइ झनै नियाल्न थालिन् । जति छिटो छिटो जनै मन्त्रने विधिका मन्त्रहरु उच्चारण भैरहेका थिए,त्यो भन्दा तिब्र गतिमा ज्वाँईका मुहारको वेचैनी बढेको देखेर सासुले ससुरालाई ठाडो निर्देशन दिइन।”होइन, कतिबेर लगाइरहेको ?ज्वाँईसापलाई भोक लागिसक्यो ।छिटो विधी सक्नुहोस्”।

सासुले यसो भनिरहँदा ज्वाँई, आफुले सरस्वती पुजा र जनैपूणिर्माको दिन एकाबिहानै अरु चिज पाक्न ढिलो हुने हुँदा बासीभात बजाइदिने गरेको र आजपनि बिहानै भुराहरुको बासीभात सर्लक्क पारेर हिँडेको सम्झेर फिस्स हाँसे।
सासुले उन्को मुस्कुराहटबाट आफ्नो अनुमान पक्का भएको बुझिन् ।त्यसपछि अझै मन्त्र बर्बराई रहेका ससुरालाई आदेश दिइन ” लौ अब जनै फेर्ने बेला बनाइहाल्नुहोस् त “। यो सुनेर ज्वाँई एक्कासि बेहोश हुँला झैं तिरमिराएर यता उता नजर लगाउन थाले ।उनका नजर सबैभन्दा बढी फेर्न राखेको जनैका थालितिरै थिए। उनी सँग आईडिया नभएको होइन तर उनले त्यहाँबाट जनै झिक्नै पाएनन् । सासुको आदेश मुताबिक नै ससुराले नयाँ शुद्ध जनै ज्वाँईतिर लम्काउँदै भने “लौ, अब पुरानो जनै बिसर्जन गरेर नयाँ जनै फेरुँ त ज्वाँईसाप”। निलोकालो अनुहार बनाउँदै ससुराको हातबाट जनै लिएका ज्वाँईले मनमनै भने “फेर्नका लागि त लगाएको पनि हुनु पर्यो नि? अनि हिम्मत बटुलेर ससुरालाइ सोधे “आज जनै फेर्नै पर्ने हो कि लगाउँदा मात्र पनि हुने हो??

बेलबारी ,मोरङ