तारा : तुलसीराम खरेल।

तुलसीराम खरेल।

लघुकथा : तारा

 तुलसीराम खरेल

आकास पुरै खुलेको थियो। लाखौं ताराहरु झलल बलेझैं लाग्यो। चन्द्रमाको अभावको खासै अनुभव भएको थिएन उनलाइ। उत्तरवाट दक्षिणतर्फ आकासमा देखिएको लामो सेतो गुजुल्टो आकासगंगा भित्रको सेतो धुलो र ससाना लाग्ने हजारौं ताराहरुभित्रै सूर्य सहितको आफ्नो पृथ्वी घुम्दैछ भन्ने कल्पना गरे उनले।

भोलीपल्ट बिहानै उठे शिवराज। भान्सा कोठा सुनसान थियो। धारावाट चिसो पानी थापे।दुइ गिलास चिसो पानीले उनको रातभरी जलेको हृदयलाई शान्त पार्न सकेन।केटाकेटी उठेका थिएनन्। नजिकैको पसलवाट पाउरोटी र घुमेको रोटीजस्तो ब्रेड किनेर ल्याए।सानी छोरीलाई त्यो ब्रेड सारै मन पर्थ्यो। चिया बिस्कुट , ब्रेडजामले केटाकेटीको मन प्रफुल्लीत भयो। छोरीले सोधिहालिन् ‘बाबा मामुले सँधै काखमा बोकेर ब्रेड दिनुहुन्थ्यो मामुसँग किन फोन लाग्दैन?’ शिवराजले छोरीलाई काखमा राखे,चुम्बन गरे, तर केही उत्तर दिनभने सकेनन्।

रात छिप्पिसकेको थियो।साउन महिना भएपनि खडेरीले धानखेत पटपट फुटेको देखिन्थ्यो ।शिवराजको छातीपनि धानखेत भन्दा कम फुटेको थिएन्। यो व्यथा कसैलाइ सुनाएर मन हलुको पार्नै नसक्नेगरी उनी थलापरेका थिए।रातको सफा आकासका लाखौं ताराले आज शिवराजको मन भुलाउन सकेन। एउटा उज्यालो ताराको संझनाले उनको मुटु चुँडिन खोज्यो।भोली छोरीलाई कसरी ढाँट्ने भन्नेकुराले उनलाई आंकुसे जुकाले झैं डस्न थाल्यो।

भोलीपल्ट छोरीले सोधी बाबा फोन लगाईदिनु न, मामुसँग कुराकानी गर्छु नी बाबा!उनका आँखा आँशुले लपक्कै भिजे। ढाँट्नै मन लागेन। छोरीलाइ अंगालोमा बेस्सरी कसे र भने- “नानु मामु खाडी मुलुकमा कामको सिलसीलामा कहिल्यै नफर्कनेगरी बिलाइन।” आँशुले भिजेका परेली खोलेर रातको आकासमा संधैसँधै उनकी ताराको खोजीगर्ने बानीले उनलाई भने छोडेको थिएन।
– बिर्तामोड, झापा।