यात्राको कथा

विवेक भण्डारी

लघुकथा : यात्राको कथा

विवेक भण्डारी

सधैँ जसो म महानगर यातायातको पर्खाइमा थिएँ । गन्तव्य अरूदिन जस्तै धुम्बराही भएपनि मेरो पर्खाइ भने आज सातदोबाटोमा होइन कोटेश्वरमा थियो। बेलुका भइसकेको थियो। घाम परको डाँडामा रमाइराखेको थियो।

महानगर यतायात आइरह्यो तर सबै भिड न भिड। केहीबेर पर्खेपछि एकछिनमा अर्कै गाडीमा चढ्न कर लाग्यो। यहाँ पनि झ्याल छेउको सिट नपाएकोले कालो मुखलाई अझ कालो बनाउँदै बच्चालाई काखमा राखेर बसेकी महिला छेउको सिटमा गएर बसेँ ।

गाडीले तिनकुने हुँदै सिनामंगल हुँदै एयरपोर्ट नजिकैको सानो पार्क अगाडि लग्यो । त्यहाँ आइपुग्दा काखको बच्चाले आमालाई पार्क देखाउँदै भन्यो “हामी बाबासँग त्यहाँ गएको है”। यति भनिसक्दा गाडीको बत्ती बल्यो र गाडी उज्यालो भयो। त्यसपछि एअरपोर्टको गेटलाई देखाउँदै भन्यो “बाबा यहाँबाट प्लेनमा चढेर जानु भएको है”। बालकले यति भनिसक्दा गाडीको बत्ती पिलपिल गर्न थाल्यो। केही समय एयरपोर्ट अगाडि रोकिएको गाडी अब फेरि चल्न थाल्यो। पशुपतीको पूल आइपुग्दा त्यो बालकले खोलातिर इसारा गदै भन्न थाल्यो ”मम्मी बाबालाई त्यहाँ लगेको है”। यति भनिसक्दा गाडीको बत्ती नि झयाप्प निभ्यो। मौन बसेकी बालककी आमा घुँक्कघुँक्क गर्दै रुन थालिन्।

सधै गाडीबाट हलुका मन लिएर ओर्लने म आज गरुङ्गो मन लिएर ओर्लिएँ र भर्खर बाइस टेकेकी ती आमा र सानो बालकलाई सम्झँदै आफ्नो बाटो लागेँ ।

दमक, झापा