गर्भ

कामक्षा दाहाल

लघुकथा : गर्भ

कामक्षा दाहाल 

दुर्गम गाउँको बस्तीमा रहेको भक्तबहादुरको आँगनमा एकाबिहानै छिमेकीहरु जम्मा भएर साईली छोरीलाई कसको हो? छिट्टो भन् भन्दै केरकार गर्न थाले। गरीब परिवारमा हुर्केकी सोझी साईली मौन रही। परिवारका सबै सदस्य शिर झुकाएर बसिरहे।

यतिकैमा अलि टाठो बाठो पुरुषले बोल् छिट्टो उठ्बस गर्नेबेला विहे नभएकी केटी जो-कोहिसँग बस्ने अनि अहिले नबोल्ने?भन्दै तानेर लछारपछार गर्दै पेटमा लातैलातले हान्यो। साईली भुईमा ढली। ढलेकी साईलीलाई उठाउँनुको सट्टा यसले गर्दा हाम्रो गाउँको इज्जत नै गयो। अझ बोल्दिन कति ओटासँग बसिस्? भन्दै पुनः लात्ती हान्दै अगुवा भनिएका महिलाहरु कराउन थाले । साईली बेहोश भएर ढली। भाउजूले पानी छ्यापेर हम्की दिईन् केहि समयपछि होशमा आएकी साईलीले मलिन स्वरमा एकै वाक्य बोली ड्राइभरको ।

को? कुन ड्राइभरको ? नाम भन् भन्दै कोलाहल भयो। चिन्दिन, जान्दिन। साईली सुस्तरी बोली। भक्तबहारलाई तेरी छोरीले चिन्दिन, जान्दिन भनेको मान्छे पत्ता लगाएर जिम्मा नलगाउञ्जेल तेरो परिवार समाजबाट बहिष्कार भो भन्दै सबै हिँडे।

भाउजुूले माया गर्दै भन, नानी!कसको हो ?? म साथ दिन्छु भनिन् । साईलीले म कोहिसँग बसेकी छैन भाउजू विश्वास गर्नुहोस् भनी।

भाउजूले स्वास्थ्य चौकीमा लगेर चेकजाँच गराईन्। स्वास्थ्यचौकिका अ.हे. ब.ले पनि पेटमा बच्चा हुर्कदै गरेको र धड्कन चलिरहेको छ भने ।भाउजूले बाटाभरी पनि सोधिन् , फकाईन् तर साईलीले कोहिसँग पनि सम्बन्ध नराखेको नै भनीरही।

दिनदिनै साईली खाना खान पनि छोड्दै गई। पेट झन् झन् बढ्दै गयो। ‘आत्महत्या पो गर्ने होकि’ भनेर भाउजूले कुनै क्षण छोडिनन्। राती सुत्दा असैहृ्य पीडाले साईली छटपटाएको सँगै सुतेकी भाउजुले थाहा पाइन्। खर्चपर्च पनि थिएन। मन मिल्ने साथीसँग ऋण मागेर खर्च बनाईन् र अर्कोदिन बिहानै साईलीलाई लिएर अस्पताल गईन् । टिकट काटेर डाक्टरकोमा पुगेपछि सबै कुरा भनिन्। डाक्टरले भिडियो एक्सरे गरेर ल्याउन भने। एक्सरे रिपोर्ट लिएर डाक्टरको हातमा थमाइन् ।डाक्टरले रिपोर्ट हेर्दै भने पेटमा त ट्युमर पलाएर बढिरहेको रहेछ। शल्यक्रिया गर्नुपर्छ तर छिप्पिईसकेछ गाह्रो हुन्छ।

यति सुन्नासाथ मलाई बचाउनुहोस् डक्टर भन्दै साईली खुब रोई।डक्टरले सान्त्वना पनि दिए। सूचना प्रवाहका कारण सहयोगी रकम पनि जुट्यो तर शल्यक्रियाका लागि बेहोश भएकी साईलीको कहिल्यै होश फर्केन।

ओखलढुंगा