आँट र ढाँट : लक्ष्मी पोखरेल

लघुकथा : आँट र ढाँट
                           लक्ष्मी पोखरेल

धीरज हिजै लाहुरबाट दुईमहिने बिदामा गाउँ फर्केको थियो । घरमा ढल्कदोँ उमेरकी आमा मात्र थिइन् । ऊ आमालाई पालो दिन पँधेरोमा पानी भर्न आँफै गयो । पँधेरोमा गोमा पनि थिई ।
“कहिले आइस् हो लाहुरे ? मेरो माया त के मार्थिस् र तैँले ´´ , ऊ रिसाएको हेरेर मज्जा लिन जिस्काउँदै भनी ।
“लाज पचेकी नक्कली , संसारमा तैँ एउटी मात्र बाँकी छेस् नि ! ´´ मुर्मुरिदै भन्यो , उसले ! “हिजो आएँ । दुई महिना बसेर जान्छु ।” धीरजले उस्तै जवाफ फर्कायो र आफ्नो प्लास्टिकको ग्यालेन भरेर घरतिर लाग्यो ।

पछिल्तिर गोमाको स्वर सुनियो ,” आईसकेपछि मलाई भित्र्याएरै जान्छस् होला नि ! तेरी आमालाई कतिञ्जेल पँधेरो पठाउँछस् ? ´´ धीरजको कन्पारो तात्यो । हातको पानी भुइँमा राखेर भन्यो,” के सोचेकी तैँले, आफ्नो कुल घरान हेर् र कुरो गर् । खुस्क्यो कि क्या हो ? गाउँकाले के भन्छन् ?”
“ के कुल घरानको के कुरो गर्छस् ? मान्छे सबै यौटै हो । दुई जातका, लोग्नेमान्छे, आईमाईमान्छे । फेरि गाउँकाले तेरा घरको पनि सद्दे कुरो गर्दैनन् त । तेरा बाउका कतिवटी स्वास्नी छन् , बाहिर ? वरबोटे परियार पवनको अनुहार तैँसँग काट्टीकुट्टी किन मिलेको छ । जातको कुरो न गर् मसित । भगवानले हात देका छन् गरेर खानेको हात हुन्छ जात हुन्न ।” पँधेर्नीहरू गललल हाँसे ।

धीरज मुखभरिको जवाफले रन्थन्निएर हिँड्यो । ग्यालेन सिकुवामा राखेर आमालाई बाउको बारेमा सोध्यो ।
“त्यस्ता पातर्नीका कुरा पनि पत्याउने हो ? तेरा बा त्यस्ता कहाँ छन् र ” ? धीरज सत्रह अठार वर्षको हुञ्जेलसम्म उसका बाबै घरै बस्थे । ऊ बाउदेखि दच्किन्थ्यो । कडा मिजासका थिए । खान खेल्नका शौकिन , धीरज लाहुर गएपछि बाबै पनि घरमा अडिएनन् । बाउसँग उति ठ्याक् नमिल्ने उसले पनि त्यति चासो राखेन ।

पर्सिपल्ट पानी थाप्न पँधेरो गएको धीरज गोमाको हात समाएर डोर्याउँदै घर पस्यो । आमाले बाटो छेक्न खोजिन् । धीरजले भन्यो, ” मलाई जन्म दिने आमा भएर तँपाईले मलाई नै ढाट्नु भयो । कुल घरानको खोस्टे कुरोमा बाको बारे पनि ढाकछोप गर्नु भयो । बरु यसले मेरो मुखैमा साँचो बोली । मैले हिजै सबैतिर डुलेर पत्तो लगाइसकेँ र बुझिसकेँ बाको जात ! ढाँटले जीवन काटिन्न । तपाई पनि बुढी हुनुभो। अब यसले मलाई आँटी । नढाँटी घर गरेर खान्छे “।

http://localhost:59578/preview.html