“हक” : पदम बहादुर क्षेत्री ” प्रदीप “

पदम बहादुर क्षेत्री ” प्रदीप “

लघुकथा : हक

पदम बहादुर क्षेत्री ” प्रदीप “

” मसंग जान्छस् कि जादैनस् ” झोलामा खुकुरी राख्दै दाइले प्रश्न गर्नुभयो। “रातको नौ बजिसक्यो यतिखेर कहाँ जाने त्यो पनि खुकुरी बोकेर? ” आज दाइको निको चाल छैन भन्ने त्रासले प्रतिप्रश्न तेर्स्याएँ। “पोहर बाउसे गएको पैसा अझै दिएन, कति पटक मागेँ दिन्छु त भन्छ तर दिने होइन । हुँदाहुँदै आज त उल्टै पो थर्कायो बुढोले” भन्दै टर्च लाईट पनि लिनु भयो र एउटा ठूलो बोरा मलाई थमाउनु भयो। मेरा खुट्टा काँम्न थाले।

नचाहाँदा नचाहाँदै पनि म लुरुलुरु पछि लागें । बाटोमा आज हुने घटनाको त्रासमय कल्पनामा जेलिदै हिँडे । लगभग दाइले नाम लिएको बुढा बाको घर नजिक पुग्दा, झोलाबाट निकालिएको नाङ्गो खुकुरी टर्चको रोशनीमा टल्केको देखेर आफुलाई रोक्ने कोसिस गरेँ , सकिँन। अशान्त मनलाई चिर्दै चिच्याउँन थालेँ तर पनि सकिँन।

Advertise
Add
advertise

केही समयपछि बारीमा पुगेँ । एकाएक आवाज आयो- “छपाक्क …..छ्याक” ! मैले हेरेँ , लटरम्म भएको केराको बोट ढलेको थियो। “बोरा ले” भन्दै दाइले पैतिसवटा केराको कोसा गनेरै राख्नु भयो।

केही पर पुगेपछि ढुक्क मनले सोधेँ “दाइ किन पैतिसवटा कोसा मात्र राख्नु भएको त, सबै राखेको भए हुन्थेन र “? मैले सोधेँ । “आ ऽ ऽ ऽ …….. लिनु पर्ने पैतिस रुपैया मात्र थियो । एक रुपैयाको एउटाले हिसाब बराबर , धेरै लोभ लालच गर्नु हुन्न क्या भाइ, आफ्नो हक मात्र लिने हो” । मैले बल्ल सन्तोषको श्वास फेरेँ ।

– माछापुच्छ्रे गापा लाहाचोक ४ कास्की             https://youtu.be/ad4PR5-zRvg