‘अझै क्याम्पस गएको सपना देख्छु’ -जानु काम्बाङ लिम्बू (साहित्यकार )

                       देवेन्द्र सुर्केली

युकेमा सक्रिय साहित्यकारहरूको नाम लिनुपर्दा पहिलो पंक्तिमै जानु काम्बाङ लिम्बूको नाम आउँछ । लेखिरहने, वर्षेनी कृति ल्याइरहने, अनलाइन तथा पत्रपत्रिकामा रचना प्रकाशन भइरहने भएकोले उनको सक्रियता निक्कै देखिएको हो ।

Advertise
Add
advertise

जानुले ‘शिविरमा इश्वर’ (कविता सङ्ग्रह सन्–२०१६), नउघ्रेको जुन (कथा सङ्ग्रह सन् २०१८), आँसुको लय (गीत सङ्ग्रह सन् २०१९) पुस्तक ल्याएकी जानुले अनुभव (२०१६) र जानु (२०१८) गीतिएल्बम पनि ल्याइसकेकी छिन् । नियात्रा सङ्ग्रह र उपन्यास पनि प्रकाशनको तयारीमा रहेका छन् ।

ताप्लेजुङको तमोरखोला ईखाबुमा बाबु टेकबहादुर काम्बाङ लिम्बू र आमा सम्रोती फेम्बु लिम्बूको जेठी छोरीको रूपमा जन्मिएकी हुन् जानु काम्बाङ लिम्बू । वि.सं. २०३० सालमा जन्मिएको जानुको गाउँ अहिलेको परिवर्तित संरचनामा फक्ताङलुङ गाउँपालिकाको वडा नं. ४ मा पर्दछ ।

नेपाल आर्मीमा कार्यरत बुबा टेकबहादुर बितिसक्नु भएको छ । मुलघर माइतमा आमा, कान्छी बहिनी, कान्छा भाइबुहारी र २ भदैनीहरू छन् । जेठा भाइबुहारी र दुई भदैहरू बेल्जियमतिर छन् । माइला भाइबुहारी र दुई भदाईहरू झापामा छन् । घरपट्टि श्रीमान र दुई भाई छोराहरू छन् । सक्रियता देखाएपछि संघसंस्थाले पनि छोड्दैन । त्यसैले ताप्लेजुङ समाज युकेको सचिव, याक्थुङ माङ्गेना चुम्लुङ युकेको सहसचिव, हङकङ नेपाली मञ्च युकेको उपाध्यक्ष, लिम्बुवान नागरिक समाज युकेको संस्कृतिक प्रमुखलगायत धेरै जिम्मेवारी उनमा छ । हाल युकेमै स्थायी जीवन बिताइरहेका जानुको ताप्लेजुङ, धरान, हङकङलगायतको बसाईका विभिन्न किस्साहरू छन् । जसलाई यहाँ प्रस्तुत गरिएको छ ।

स्कुलभन्दा भेडिगोठ प्यारो
नेपाली आर्मी बुबा जागिरको शिलशिलामा नेपालको विभिन्न ठाउँमा सरिरहनु पर्ने भएकोले जानु काम्बाङको बाल्यका मावलामा बित्यो । तत्कालिन लेलेप गाविसको फेम्बु उनको मावली हो ।

जानुलाई पनि मावला र मावली बोजुबाजे सारै प्यारो लाग्थ्ये । बाबा छुट्टीमा आउँदा घर लैजान्थे । तर उनी भागेर मावला पुगिहाल्थिन् । घर आउँदा मेरो बाजेले स्कूल जानु पर्छ, पढ्नु पर्छ भन्नु हुन्थ्यो, मावला बस्दा त्यसो भन्ने थिएनन् । त्यसैले उनलाई मावला प्यारो लागेको रहेछ ।

मावलामा खाना खाएपछि बस्तु चराउन रमाउंदै बाजेसँग बनपाखा जानु, जेठा मामाको ५ सय बढि भएको भेडा बथानमा गएर रमाउनु नै उनको दिनचर्या हुन्थ्यो । भेडीगोठमा त गोठालेहरू हुन्थे, त्यसैले उनी चाँही घरको १८ ओटा बाख्रा र गाई बस्तु चराउन जान्थिन् । जानुको काम दिनभर बाख्रा हेर्नु हुन्थ्यो भने बाजेचाहीँ गाईगोरू हेर्थे । गोरू या गाईले बाली खान लागे ‘फर्का माया’ भनेर अह्राउने गर्दथे । उनी चाहीँ ‘एउटा पालाम सिकाउनु हुन्छ भने मात्र फर्काउँछु’ भन्थिन् । बाजेले पाःलाम सिकाउँथे ।

मावलामा जानुको नाम माया थियो । मामा र बाजेबोजुहरू माया गरेरै माया भन्थे । त्यो उनको नाम नै थियो या मायाले माया भनेका हुन् थाहा पाउन नसकेको बताउँछिन् ।

भेडीगोठ र गौचरनमा कुदिहिड्ने समय धेरैबेर रहेन । पढ्नुपर्छ भन्ने परिवारको आग्रहलाई उनले मान्नै पर्ने भयो । पछि बुबाको जताजता पल्टन हुन्थ्यो, परिवारलाई पनि सँगै लान थाले । त्यसैले विभिन्न ठाउँमा उनले अध्ययन गर्न पाएकी थिइन् ।

उनी त्यसबेला पढेको गाउँको स्कूल र त्यहाका शिक्षकहरूलाई अझै याद गर्ने गर्छिन् । विशेषगरी साइनोमा दाजु पर्ने रुद्र लाबुङ, रत्न लाबुङ नबिर्सने शिक्षकहरू रहेछन् । शिक्षक भएपनि मिलनसार र साथी जस्तै हुने अनि आफ्नै घरमा भेला गरेर नाच्नु र गाउनु सिकाउने गर्दथे । गाउँमा काम धेरै भएर स्कूल जान नपाउँदा छुटेको पाठहरू फेरि दोहोर्याएर पढाउने पनि गर्दथे । शिक्षकहरू अझै गाउँमै रहेको सम्झिरहेको पनि बताउँछिन् ।

दिदी, फुपुको लुङ्गी/चोलो लगाएर धाननाच
गाइगोठालामा बाजेलाई सिकाइमागेको पाःलाम खेर गएन । लिम्बुवानमा गाउँमा कसैको घरमा पाहुना आउने बित्तिक्कै भेला भएर धान नाच्न जाने चलन पुरानै हो । दिदीहरूले उनीहरूको लुङ्गी र चोलोहरू लगाई दिएर धान नाच्ने साथी लाने गरेको र पछि त आफैलाई पनि मज्जा लाग्न थाल्यो र खुब पछ्याउँथे दिदी र फुपुहरूलाई पच्छ्याउने गरेको कुरा पनि उक्काइन् ।

साहित्य र सिर्जनशीलता
इखाबुमा युवतीहरूमा स्कुल जाने उनीमात्र भइछिन् । पढ्ने लेख्ने युवती छएपछि दिदीहरू साँझपख टुकी बोकेर चिट्ठी लेखि माग्न आउंथेछन् । रातभरि चिट्ठी लेख्ने, छेउछेउमा पाःलाम पनि लेख्दा उनमा साहित्यले बास बस्ने भइगयो । कतिपय दिदीहरूले भनेका र कतिपय आफैँले कथेका पाःलामहरू उनैमा जम्मा भएर बस्यो । पाहुनाहरूसँग धान नाच्दा दिदिहरूले फुर्काउँदै उनलाई अघि सार्ने गर्थे रे । अनि त उनी पनि फुर्केर आफै मज्जाले पाःलाम भन्ने र कतै पाहुना जाँदा उनीहरूको जवाफ पनि मज्जाले फर्काउन सक्ने भइछिन् ।

बुबाले सन्तानको पढाई नबिग्रियोस् भनेर परिवारलाई आफूसँगै पल्टन लगेपनि जानुलाई धरानमा तुम्बाको राखेर पढाइएछ ।

अन्य साथीहरू भलिबललगायतका उफ्रिने खेलहरू खेल्दा जानु चाही साहित्यको किताबहरूमा घोत्लिने गर्दथिइन् । साथीहरू पनि पढ्न त पढ्थे । तर साथीहरूको रोजाईको पुस्तक थियो कमिक्सको किताबहरू । साथीहरूले ति पुस्तकहरू साटासाट गर्दै पढिरहँदा जानुचाँही उपन्यास र कविताका किताबहरू खोजी खोजी पढ्थिन् रे ।

उनको पढ्ने बानीमात्र थियो, तर पढ्दापढ्दै अलि अलि लेख्ने पनि गर्थिन् रे । उक्त लेखाई साहित्य थियो या अन्य ? थाहा नभएर आफ्नै अभ्यासपुस्तिकामै सिमित भयो ।

‘साहित्यमा प्रेरित हुन त प्रेमले पनि थप जोड दिँदो रहेछ नि !’ भन्ने प्रश्नमा माध्यमिक शिक्षा पढुञ्जेल प्रेममा नपरेको तर विवाहपश्चात प्रेम भएको कुरा राखिन् । धरानको सदन स्कुलबाट एसएलसी गर्नेवित्तिकै उनको विवाह भइहालेको थियो ।

विवाहपछि सन्तान हुनु, परिवारलाई सम्हाल्नु, हङकङको यात्रा हुनु र माइती, सहपाठीसँग टाढा हुनुले साहित्य कोर्नमा झनै मलजल हुनपुग्यो । विवाहपश्चात क्याम्पस पढाउने सर्तहरू पनि यिनै व्यस्तताभित्र हराए । त्यसैले बाराम्बार सपनामा क्याम्पस गएको देख्ने गर्दछिन् ।

गायन र अभिनयमोह
‘कतिको छुच्ची हुनुहुन्थ्यो या सहपाठीलाई कुटिन्थ्यो पनि कि’ भन्ने प्रश्नमा जानु भन्छिन् –‘साथी त के कुट्थे नि म यति सोझीले, बरू गीत चाँही गाउथेँ ।’

धरानको सदन स्कूल पढ्दा पुरानो राष्ट्रिय गान हरेक बिहान बरण्डामा उनीसहित अरु २ सहपाठीलाई उभाएर गाउन लाउँथेछन् । उनीहरूले पहिले गाउँने, त्यसपछि अन्य विद्यार्थीहरूले गाउने परिपाटी मिलाइएको रहेछ । ‘त्यो बेला तिम्रो स्वर राम्रो छ भनेर साथीहरू र मिसले भनेपछि उनमा गायनमोह निकै जागेछ । जतिबेला पनि गीत गुनगुनाई रहने, मनपर्ने गीतहरूको सबै शब्द कण्ठ हुन्थेछ गाउँदा–गाउँदा ।

इखाबूको स्कुलमा पढ्दा तिहार र अन्य कार्यक्रमहरूमा नाच्ने तथा नाटकहरूमा खेलेको अनुभव पनि रहेछ जानुलाई । तर साथीहरूभन्दा केही अग्ली भएकीले नाटकहरूमा युवकको भूमिका निभाउन परेको स्मरण अविश्मरणीय लाग्ने रहेछ उनलाई ।

त्यसैगरी जानुले युकेमा एकपटक नाटकमा अभिनय गरेको युट्युवमा भेटिन्छ । यस विषयमा उनी भन्छिन् –म मान्छे नै त्यस्तै स्वाभावको छु । जान्दिनँ भन्न नजान्ने जे पनि कोसिश गर्छु र गर्नु पर्छ भन्छु, सफल र असफल त आफ्नै ठाउँमा छन् । अभिनय पनि मेरो तिनै बिषयमा पर्छ सायद !’

खासमा उनमा अभिनयमोह थिएछ भन्ने यो किस्साबाट पनि थाहा हुन्छ –उनी हङकङ पुग्दा जम्मा २२ वर्ष पुगेकी रहिछिन् । उनकै भाषामा भन्नुपर्दा स्याल पनि बैंसमा घोर्ले हुन्छ भनेझैं उनी पनि घोर्ले भएकी थिइन् । त्यसबेला उनलाई लिम्बू चलचित्र र म्युजिक भिडियोको अफर चाँही आएको रहेछ । तर उनले नानीहरू सानै भएको र कामबाट लामो छुट्टी लिन नमिल्ने भएकोले नेपाल आएर काम गर्न सकिनन् । हङकङको एक साडी पसलमा मोडलिङ गरेको युकेमा नाटक खेलेको उनको अभिनयको सम्झना बन्न पुगेको रहेछ ।

प्रतियोगितामा भाग लिने रहरमै सिमित
धरानमा त्यसबेला कम घर थिए । त्यसैले आफन्तहरू धरान झर्दा बास बसिरहन्थे । त्यसैले घरको काममा धेरै सघाउनुपथ्र्यो । त्यसले गर्दा स्कुलको अतिरिक्त क्रियाकलापमा भाग लिन उनको सपनामात्र बन्यो । कहिलेकाहीँ स्कूलले निकाल्ने मुखपत्र आदिमा कविताहरू छपाउने रहर चल्थ्यो र लेख्ने कोशिस गर्दागर्दै पुरा हुन नपाएको तितो यथार्थ पनि पोखिन् ।

तसर्थ जानुले ईखाबूको श्री सेवालुङ निमावि पढ्दा ४ कक्षामा राम्रो नाचेर एउटा नोटकापी र डटपेन पाएको त्यसपछि पछि ठुलो छोरा ४ केजी बढिको जन्माउँदा ‘हेल्दी छोरा पायो’ भनेर हस्पिटलले अलिकति नगद, नानीलाई केहि नुहाउने साबुन र टावल पुरस्कार दिएकोलाई नै आफ्नो जीवनको पुरस्कार ठान्छिन् । तर साहित्यको नाताले विभिन्न ठाउँमा पुग्दा पाउने माया, दोसल्ला नै महत्वपूर्ण पुरस्कार हो भनेर पुरस्कारको महत्व अथ्र्याउँछिन् ।

गत वर्ष नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले अभिव्यक्ति श्रृङ्खला –१२ उनलाई मञ्च प्रदान भएको थियो । त्यो मञ्च पाउनुपनि ठूलो पुरस्कार ठानेकी छन् ।

पारिवारिक जीवन
जानुको विवाह वि.सं. २०४८ सालमा भएको हो । श्रीमान चिनजानकै थिए । तर मगनी नै विवाह भएको रहेछ ।

उनी भन्छिन् –‘विवाहलाई मैले राम्रै रूपमा लिएँ, विवाहपछि श्रीमानसँग प्रेम भयो । विवाहपछिको प्रेम रमाईलो लाग्यो । विवाहपछि सोचेको कुरो त सबै पाईयो नै भन्नुपर्ला २ भाई छोरा छन् । श्रीमान श्रीमती अझै सँगै छौं । नत्र अहिलेको जमानामा त बिहे गरेर सँगसँगै २८ वर्ष बिताउन त गार्हो पो छ । त्यो देख्दा म निक्कै पुरानै जमानाको मान्छे हुँ कि जस्तो पनि लाग्छ । सोचेको कुरो नपुगेको चाँही एउटी छोरी पाउने भन्दाभन्दै भएन र कलेज पढ्न पाईएन यति नै हो । त्यसैले अझै पनि सपनामा क्याम्पस गएको सपना देख्छु ।’

विवाहपछि छोराहरूको हेरचार र सुन्दर भविष्यको खोजीतिर भौतारिँदैमा समय बितेको ठान्छिन् जानु । ‘उमेर गयो, आफ्नै लागि त केहि पनि गरिएनछ ति समयहरूमा । अहिले आएर पछुतो लाग्छ मैले उमेरहुँदै पढ्नु पर्ने थियो, अथवा आफ्नै लागि केहि गर्नु पर्ने थियो भनेर ।’ उनी कहिलेकाँही निराशा पनि पोख्छिन् ।

अबको जीवन साहित्यलाई
छिनमै साहित्य कोर्ने सामाथ्र्य राख्ने जानुले विभिन्न पत्रपत्रिकाहरूमा रचना प्रकाशित भइरहेका छन् । अनलाइनहरूमा पनि उत्तिकै प्रकाशन भइरहेका छन् । फेसबुक अपडेट गर्न पनि भ्याइरहेकी छिन् । यी सब कसरी भ्याउनुहुन्छ भन्ने प्रश्नमा उनको उत्तर थियो –‘सबै कुरो मन हो, मन भए जतिसुकै ब्यस्त भएपनि आफुलाई मन परेको काम गर्ने समय निकालिन्छ जस्तो लाग्छ मेरो बिचारमा । र, अर्को कुरो अहिले लेख्न पढ्न मन हुनेहरूलाई प्राविधिकले पनि ठुलो सहयोग गरेको छ । उहिल्यै जस्तो कापी कलम खोजिरहनु पर्दैन काम गर्दा गर्दै भएपनि या एकछिन आराम गर्न बस्दा पनि मोबाइलमा लेख्न सकिन्छ । अरूको बारेमा थाहा छैन म चाँही त्यसै गर्छु ।’

तीन पुस्तक, दुई गीतिएल्बम ल्याइसकेका उनले नियात्रा र उपन्यासको तयारी समेत गरिरहेकी छिन् । उनी भन्छिन् –म सबै विधामा रहर गर्ने मान्छे मात्र हुँ, ती विधा सबै जान्ने चाँही होइन म । यतिकै केहि नगरी दिन बित्यो अब बाँकी रहेको समयलाई सदुपयोग गरौँ भन्ने मात्र हो ।’

जानुले आफ्ना सृजनाहरू स्वतन्त्र हुने, कुनै विवाद अर्थात धारसँग सम्बन्धित नलेख्ने बताइन् । मनमा जे उब्जिन्छ त्यै लेख्ने बरू प्रकृतिसँग रमाउने रचनाहरूमा उनको ध्यान जान्छ रे । जस्तो कतै हिंड्दा फूल अथवा कुनै प्राकृतिक चिजले उनको मन तान्यो भने लेख्न बसिहाल्ने बानी रहेछ । त्यसैले धेरै जसो हिड्दा हिड्दै लेखेका रचनाहरू उनीसँग ज्यादा रहेछन् ।

लिम्बू भएको नाताले लिम्बू धर्म, संस्कार, संस्कृति र अहिलेको वर्तमान सरकार र राजनीतिलाई हिट गरेर कविण्ता लेख्नुस् भन्ने आग्रह आए पनि त्यस्तो सेन्सेटिभ विषयहरूमा बिना ज्ञान, बिना अध्ययन लेख्नु हुन्न भनेर मन मार्छिन् । उनी भन्छिन् –बिना अध्यायन कसरी लेख्नु ?’

जानुको बढि सक्रियता गीत लेखनमा छ । उनको धेरै गीतहरू रेकर्ड भएका छन् । तेश्रो एल्बमको समेत तयारी गरिरहेकी उनको आफ्ना एल्बमजति सबै आफ्नै लगानी हुन् । नयाँ तथा पुराना गायकहरूले उनको रचनामा गाइरहेका छन् । त्यसमा उनको सहयोग भनेको पारिश्रामिक नलिएको मात्र हो भनेर दावी गर्छिन् । कसैकसैलाई स्पोन्सर खोजिदिएको भने सगर्व बताउँछिन् । आफू युकेमा बसेको हुनाले कोही रहर गर्छन् भने त्यसलाई प्रतिभाकहाँ किन नपुर्‍याउने ? भन्ने प्रतिपश्न गर्छिन् ।

चलचित्रमा गीत लेखिदिएवापत चाही केही पारिश्रामिक लिएको बताउँछन् । पारिश्रामिक लिनु सृजनाको कदर हो । यद्यपि आफूलाई पेशेवर गीतकार नभएको पनि बताउँछिन् ।

गीतकारले गीत लेख्ने काममात्र नभई यससँग सम्बन्धित सबै कुरा बुझ्नु जरुरी रहेको पनि उनको ठम्याई छ । ज्ञान भएन भने आफ्नो एल्बम निकाल्दा लाखौ डुबाइदिने मान्छे भेटिन सक्ने उनको विश्लेषण छ । लाईभ बाजागाजा, ग्रुप भाईलोन, तबला, सेक्सोफोन आदि बाजाहरू हाल्दा के कति लाग्ने भन्ने कुरा थाहा हुनुपर्ने, ति पनि सद्दे हुन् होइनन्, बुझ्नुपर्ने हुन्छ । सुन्दा राम्रो लागे पनि संगीत बुझ्नेले यसमा यो बाजा लाइभ हाल्नुपथ्र्यो भन्दा मन खिन्न हुने र खर्च पनि गरिसकिएकोले मुर्गा बनिएको फिल पनि हुने रहेछ ।

(प्रस्तुति कर्ता वरिष्ठ पत्रकार देवेन्द्र सुर्केली नयाँ अनलाइन डटकमका प्रबन्ध सम्पादक हुन )