प्रण : बिष्णु प्रसाद उप्रेती

लघुकथा : प्रण

बिष्णु प्रसाद उप्रेती

एउटा मन्त्रालयको गेटमा म सुरक्षाकर्मीसंग अनुराेध गर्दै थिएँ–“मलाई मन्त्रीजीसंग अाज भेट्न जरुरी छ,एकपल्ट भित्र जाने अनुमति चाहियाे।”
सुरक्षाकर्मीले नकारात्मक जवाफ दिंदै भने ” भित्रबाट कसैलाई नपठाउने अादेश छ, म त अादेशकाे पालना गर्ने मात्र त हुँ,भित्र जान त मिल्दैन हजुर ´´
हिजाे दस वर्षसंगै युद्ध लडियाे । पार्टीकाे एउटै कमिटीमा धेरै वर्षसंगै बसेर काम गरेकाे मिल्ने साथी हाे । एकपल्टभित्र जाने अनुमति चाहियाे भन्दै अड्ढी कसेँ तर सुरक्षा कर्मिले केही गर्दा पनि मानेन।
एउटा कागजमा अाफ्नाे पूरा परिचय लेखेर उसलाई दिंदै भनेँ -“याे लगेर भित्र दिनू ,मन्त्री अाफैें लिन अाउनुहुनेछ”।

Advertise
Add
advertise

सुरक्षाकर्मीले साथीलाई पालाे राखेर भित्र गयाे। मपनि मन्त्रीसंगकाे भेटमा गर्ने गफहरु कल्पिदै बसें। केहीबेर पछि सुरक्षाकर्मी फर्केर अाई भन्याे — “अहिले भेट्ने समय छैन अरे,तपाईसंग बेलुका ६ बजे अस्तिकै हाेटलमा भेट्नु हुने अरे´´ ! तपाईं ऐले जान सक्नुहुन्छ। म छक्क परेर टाेलाउदै थिएँ ।
यसैबेला एउटा कालाे कारगाडी मन्त्रालयका गेटमा राेकियाे । गाडीबाट कालाे सुट, राताे टाई, टल्किने सिंगापुरे जुत्ता,र दामी चस्मा लगाएका भलाद्मी अाेर्लिए। मलाई पनि कता चिने जस्ताे लागेर हेर्दै गर्दा, उसैले ‘हेलाे कतातिर हाे ‘भन्दै हात हल्लाउँदै गार्डतिर गएँ । गार्डले पनि तन्किएर सलाम गर्याे। एउटा खातामा सही गरेर उ फटाफट भित्र गयाे।
म हेरेकाे हेरै भएं। मैले अाफुलाई नियालेर हेरें।साधारण कमेज सुरुवाल, पुरानाे ज्याकेट,गाेलस्टार जुत्ता, अनि हिंजाे प्रशिक्षणमा “सादा जीवन,उच्च बिचार” भन्दै नेताले बालेकाे कुरा झल्झली संझिएँ । अब नेतालाई कहिले नभेट्ने प्रण गर्दैे लुरुलुरु अाफ्नाे बाटाे लागेँ ।