सङ्गीत–नाट्य र ललितकला प्रज्ञा–प्रतिष्ठान औचित्यविहीन !

हिमाल टाईम्स संवाददाता 

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गठन भएको १५ वर्ष पुग्न लाग्दासमेत संस्थाको औचित्य पुष्टि गर्न सकेका छैनन् । सङ्गीत–नाट्यको पहिलो कुलपति अम्बर गुरुङको चार वर्षे कार्यकाल सिन्को नभाचिँकन नै सकियो । शान्तिाराम राई, श्रवण मुकारुङ, आलोकश्री, कृष्ण शाह यात्री, हरिबहादुर थापा, नमूना शर्मा, मदनदास श्रेष्ठ लगायतका तत्कालीन प्राज्ञ सभा सदस्यहरूले आफूहरूले पनि मासिक तलब पाउनुपर्ने माग गर्दै प्राज्ञ परिषद्लाई कुनै पनि गतिलो काम गर्नै दिएनन् । प्रतिष्ठानको आफ्नै भवन नभएकोले कुनै पनि काम गर्न नसकेको भनेरै कुलपति गुरुङको कार्यकाल सकियो । गुरुङले आर्केष्टा र क्वायरको सपना देखेका भए पनि त्यो केवल सपनामै सीमित रह्यो ।

Advertise
Add
advertise

गुरुङको कुलपतित्व कालमा दुई जना सदस्य सचिव भए । पहिलो सदस्य सचिव बनेका पोखराका कवि तीर्थ श्रेष्ठले स्वास्थ्यका कारण राजीनामा दिएपछि केही समयपछि सङ्गीतकार आभासलाई सरकारले कुलपति गुरुङकै आग्रहमा सदस्य सचिव नियुक्त ग¥यो । तर, प्राज्ञ सभा सदस्यहरूकै कारण आभासले पनि कार्यकाल बाँकी छँदै राजीनामा दिए । प्राज्ञ सभा सदस्यहरूले मासिक तलब दिनुपर्र्ने भनेर कार्यालय घेर्न थालेपछि र कुलपति गुरुङले पनि तबल खुवाउँदा हुने पक्ष लिएपछि उनले ऐननियमविपरित म काम गर्न सक्दिनँ भनेर राजीनामा दिएका थिए । त्यतिबेला अख्तियारमा समेत मुद्धा परेको थियो । तत्कालीन उपकुलपति प्रचण्ड मल्ल पनि प्रतिष्ठानमा कार्यरत एउटी महिला कर्मचारीलाई हातपात गरेपछि कार्यकाल पूरा हुन तीन महिना बाँकी छँदै घर विदा बसे ।

साहित्यकार सरुभक्त अर्थात् भक्तबहादुर श्रेष्ठ सङ्गीत–नाट्य प्रज्ञा–प्रतिष्ठानको दोस्रो कार्यकालमा दोस्रो कुलपति भए । उपकुलपति बनाइए सङ्गीतकार शम्भुजित बाँस्कोटा । सदस्य सचिव आए गणेश रसिक । तर, त्यो टिमले पनि त्यस्तो प्रभावकारी काम भने गर्न सकेन । कुलपति बनेका सरुभक्त छोरी र नातिकै लागि पोखरा बस्थे धेरै जसो । उनी तलब भत्ता भने खाइरहन्थ्ये । उनले प्रज्ञामा पेस गरेको मुग्लिङमा खाना खाएको एक लाख पचास हजारको बिल खर्च फस्र्योट अझै बाँकी रहेको बताउँछन् लेखाका कर्मचारी । उपकुलपतिले डबलीमै रमाइलो गरेर बिताए । अरु प्राज्ञले विभागको आधा बजेटले काम गरेजस्तो गरेर आधा चाहिँ नाफा कमाएर गएको बताउँछन् कर्मचारीहरू ।

तेस्रो कार्यकालका लागि कुलपति बनेर आएका नारायणभक्त श्रेष्ठ (रायन)ले त झन् सिन्को भाच्न सकेका छैनन् । नियुक्त भएको दुई वर्ष पुग्न लाग्दा समेत रायनको परिषद्ले कुनै उल्लेखनीय काम गर्न सकेको छैन । सिङ्गो परिषद्को नाक सङ्गीत विभागका प्रमुख अशोककुमार राईले जोगाएको चर्चा चल्ने गर्छ बजारमा । हुन पनि उनकै विभागले गरेको काम मात्रै प्रतिष्ठानको प्रशंसा गर्न लायक काम देखिन्छ । उपकुलपति अभिनेता हरिहर शर्माको विभागले त झन् शतप्रतिशत विभागीय बजेट फ्रिज गराएको छ । शर्माको काम भनेको कर्मचारी प्रशासनलाई भड्काएर कुलपति र सदस्य सचिवलाई असहयोग गर्नु रहेको छ । सदस्य सचिव श्यामप्रकाश तमोट त झन् पानीमरुवा सावित भएका छन् । उनी न अरुको कुरा सुन्छन् न आफूले काम गर्न सक्छन् । सदस्य सचिव तमोटकै कारण आफूले कुनै गति लिन नसकेको कुरा कुलपति रायनले आफ्नो समूहमा गुनासो गर्ने गरेका छन् ।

प्रतिष्ठानका ६ ओटा विभागका करिब २५ प्रतिशत बजेट कुलपतिको नेतृत्वमा रहेको केन्द्रीय योजनामा राख्ने गरिएको छ । सहकार्य शीर्षकमा राखिएको बजेट कुलपति र सदस्य सचिवले आफू अनुकूल व्यक्ति र संस्था खोजेर योजना प्रदान गरी मनलाग्दी खर्च गर्ने गरेका छन् । उनीहरूले गर्ने सबैजसो कार्यक्रमको औचित्य देखिँदैन । खाली काम चलाऊ प्रवृत्ति मात्र देखिने गरेको सम्बन्धित क्षेत्रका जानकारहरू बताउँछन् । यो प्रतिष्ठानले आ.व. २०७६÷०७७ बजेटमा गोष्ठी, अनुसन्धान र प्रकाशनतर्फको कुल बजेटको ८० प्रतिशत बजेट फ्रिज गराएको छ । यसको दोष प्रतिष्ठानले कोरोनालाई दिने गरेको छ ।

परिषद् सदस्यहरूमा मञ्जुल दैनिक हाजिर गर्छन् र तलबभत्ता मात्रै बुझ्छन् । स्वास्थ्यका कारण उनी केही पनि काम गर्न सक्दैनन् । उनलाई जिम्मेवारी पनि दिइएको छैन । धीरेन्द्र झा प्रेमर्षिले पनि गत आ.व.मा शून्य प्रगति गरे । उनी वर्षको ६ महिना अमेरिका र ६ महिना घर (तराई)मा बसे । उनी पनि काज मिलाएर तलबभत्ता बुझ्ने गर्दछन् । हरिदेवी कोइरालाको पनि ताल उही छन् । उनी अधिकांश समय पोखरामै बस्छिन् । निशा शर्मा नाटक अभिनय, नाटक लेखन, निर्देशन जस्ता कार्यशालाको नाममा आधा बजेटले काम गरेजस्तो गरेर आधा आफ्नो खल्तीमा हाल्ने गरेको प्रतिष्ठान स्रोत बताउँछ । नमूना शर्माका योजना तथा कार्यक्रम पनि कुनै प्राज्ञिक महत्वका देखिँदैनन् । केही बाहेक प्रायः प्राज्ञहरूले कुलपति समक्ष एकै प्रकृतिको योजना पेस गरेको पाइन्छ । कुलपतिले पनि ती योजना तथा कार्यक्रमबारे गम्भीरतापूर्वक बुझ्ने गरेको पाइँदैन । यस प्रतिष्ठानका १४ जना प्राज्ञ सभा सदस्य मध्ये ५ जनाले मात्रै सपथ लिएका छन् भने अरुले सपथ नलिँदा स्वतः रिक्त भएका छन् । प्रतिष्ठानले प्राज्ञ सभाको बैठक समेत राख्न सकेको छैन ।

उता नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको ताल उस्तै छ । कुलपति केके कर्माचार्य, उपकुलपति गोपाल चित्राकार, सदस्य सचिव विपिनकुमार घिमिरे र परिषद्का ६ जना सदस्यहरू कार्यालय आउँछन्, हाजिर गर्छन्, कालो चिया पिउँछन् र घर फर्किन्छन् । यो प्रतिष्ठानले पनि तलबभत्ता खानुबाहेक आफ्नो अस्तित्वको औचित्य पुष्टि गर्न सकेको देखिँदैन ।                                                                                                                                      https://youtu.be/ILkZm3DqPnkc