रातो पछ्यौरी : पुष्पा के.सी. भण्डारी

लघुकथा : रातो पछ्यौरी
पुष्पा के.सी. भण्डारी

आफुलाई नेता मानेर गाँउघरमा न्याय निसाफ गर्दै हिड्ने नरबहादुरलाई उस्की पत्नी बारम्बार सम्झाउने गर्थी ” ए बुढा यस्तो नगर दैवको लाठी कुनबेला थाप्लोमा बज्रिन्छ ? कसलाई थाहा छ र! कतिका आँसु पोल्टामा थापम्! डर लाग्छ बुढा डर!”
श्रीमतीका कुरा तिलभर नठानी उल्टै भन्थ्यो ” कस्को के बिगारेको छ र? यो त न्याय गरेको हो न्याय !”
बाबु र छोराको कुरा ठ्याक मिल्ने, छोराको साथ पाएको बाउले निरीह श्रीमतीलाई के टेरोस् ?
न्याय दिने भनेर धेरैको उठिबास लगायो । कति टुहुरा बनायो। कतिको काख र सिउँदो रित्तियो तर उ सन्तुष्ट थियो आफुले गरेको न्यायमा ! यो न्यायले ऊ कुटीबाट महलमै पुगेको जो थियो ।

Add
advertise

एकदिन बाउले छोरालाई पल्लो गाँउमा जान अह्रायो ।ज्यान बकस पाएकासंग नगद असुल गर, भनेर ! छोरो नि “हुन्छ बुबा!” भनेर दुइनाले काँधमा राखेर यौटा साथी समेत लिएर गयो।
बाटोमा जंगल थियो । बिना हतियार हिड्न नि डरै थियो। “मान्छेको त डर नै के थियो र? वन्यजन्तुले त को के भन्दैन नि हैन मने?” छोरो चाँहिले भन्यो । साथी गएको मनेले हो मा हो मिलायो । उतै खाना खाए । यस्तै ज्यान बकस पाउनेको घरमा अनि रकम उठाएर फर्के!
बाटोमा नभन्दै मान्छे खाने बाघ भेटियो । छोरो चाहिँले सेकेण्ड खेर जान नदिई काँधबाट दुइनाले झिक्यो र ड्याङ्ङ पड्कायो तर अफसोस् बाघले उस्लाइ झ्याम्म झम्टेर ट्याक्कै घाँटीमा दाह्रा नङ्ग्रा घुसायो र रगत चुस्न थाल्यो । त्यही मौका पारेर मने भागेर गाँउमा गएर हाल सुनायो!
उस्को कुरा बाउले पत्याउन सकेन । सबै दौडेर जङ्गल पुगे । बाउले बन्दुक खोलेर हेर्दा गोली बिहीन थियो । झोला खोतलेर हेर्दा गोली झोलामा भेटियो । गोली हातमा लिँदा
उसले झट्ट पत्नीले भनेको सम्झ्यो “दैवको न्याय….”
सबै रुँदैगर्दा पर यौटा नवयुवक नरेको हातका गोली हेर्दै मनमनमा मुस्कुराउँदै सोच्दै थियो ” धन्न गोली निकाल्न भ्याएँ पातकीले समय लाएर घिच्दै थियो र…”
नवयुवकले दौडेर घरमा गएर आफ्नी आमालाई भन्यो ” आमा! त्यो बिहान हाम्राँ भात खा…र गथ्यो नि….! तेल्लाइ त बाघले खाएछ नि!”
“ए… हो र! खान त अझ चिल गिद्धले पर्थ्यो .. बाघले खाएछ ! जा जा बाबु , त्यो माथिको ट्यांकामा तेरा बाउले परारको तिजमा ल्याइदिएको रातो पछ्यौरी छ ले..रा..! म आज ओडेर सुत्ने भएँ । “