स्तर : गीता शर्मा चापागाईं

everest kitchen
गीता शर्मा चापागाईं

लघुकथा : स्तर

गीता शर्मा चापागाईं

“तिज पनि आयो । यसपालि त एउटा नयॉं साडी किन्नु पर्यो बुढा, पोहोर पनि पुरानै साडीले काम चलाएँ” ।
“हैन ,यस्तो महामारीको बेला, पसलहरु पनि त सबै बन्द छन्। अर्को वर्ष किनौली नि !
“चिन्ता नलिनुस् न ! अचेल त अनलाईनमा पनि पाइन्छ नि , किन्न त ! । भने जस्ता कपडा मन पराएपछि घर घरमा ल्याइदिन्छन् रे त ।”
“ए हो र ? ठीकै छ नि त। हेर न त अनलाईनमा” !
बुढी फुरुङ्ग परिन् ।
“हुन्छ, मैले हेरेर अडर गरेँ है त?”

“हेलो, हजुर मलाई हजुरको पसलको अनलाईनमा राखेको १२१ न . ट्यागको हरियो साडी लिनु थियो ।”
“हुन्छ, हजुरको ठेगाना भन्दिनू न! कहॉं ल्याउनु पर्ने?”
“हजुर कलंकी, शान्ति मार्ग”
“हुन्छ , अब एक घन्टामा सामान आउछ हजुरको!
पैसा पनि सामान ल्याउनेंसगै पठाइदिनु होला!”
“हुन्छ हजुर , बरु मूल्य कति होला ? जानकारी पाऊँ न ! ”
“हजुर सस्तो छ। १६ ००० मात्र। तर आजलाई यो साडीमा १००० छुट छ। त्यसैले १५००० मात्र दिनुहोला।
“…ऐ …ऐ….हजुर म त २०००/- , २५००/- सम्मको खोजेको , यो त अल्लि महंगो भयो।”
“सरी हजुर, यो पसलको सबभन्दा सस्तो साडी भनेकै यही हो । यति सस्तो पनि किन्न सक्नुहुन्न भने त यो पसल नै हजुरको स्तरको परेन” उसले उताबाट फोन राखेको आवाज सुनियो ।
एकछिन ऊ खिन्न भई। मनमनै सोची- “अब मान्छेको स्तर पनि पसलेले पो तोक्ने बेला आएछ।”