लघुकथाको व्यापकता भएको देख्न पाउँदा अति नै खुसी लागेको छ : श्री ओम श्रेष्ठ “रोदन”

श्री ओम श्रेष्ठ “रोदन” (लघुकथा समाज अध्यक्ष )

माता बेलकुमारी श्रेष्ठ र पिता शिवप्रसाद श्रेष्ठको कोखमा बि सं २०१९ कार्तिक १५ गते ललितपुरको झम्सिखेलमा जन्मिएका  श्री ओम श्रेष्ठ ` रोदन ´ नेपाली साहित्यका बहुमुखी प्रतिभासम्पन्न व्यक्तित्व हुन । कुशल निबन्धकार , कथाकार र कवि मात्र होइन , सम्पादनको क्षेत्रमा समेत ख्याति कमाउनु भएका श्रेष्ठ निर्भिक लेखन तथा अभिव्यक्तिमा स्पष्ट दृष्टिकोण राख्ने शान्त र सौम्य स्वभावले युक्त छन् उनी ।

२०३६ सालमा “प्राञ्जल” पत्रिकामा कविता प्रकाशन गरेर नेपाली साहित्यमा प्रवेश गरेका श्रेष्ठको ललिता – कवितासङ्ग्रह (२०४५) ,सरगम – कवितासङ्ग्रह (२०४७), अर्थहिन अर्थहरू – निबन्धसङ्ग्रह ( २०५४), संवेदनाका स्वरहरू – संयुक्त निबन्धसङ्ग्रह ( २०५४),आखिझ्याल- लघुकथासङ्ग्रह(२०५८),समयका सम्भावनाहरू – निबन्धसङ्ग्रह (२०५९),समुन्द्रपारि – समुन्द्रवारि – यात्रासंस्मरण ( २०६०), नबिर्सिने यादहरू -नियात्रा सङ्ग्रह (२०६२), प्रसङ्गवश -अन्तर्वातासङ्ग्रह ( २०६७), भ्रममार्ग – लघुकथासङ्ग्रह (२०६७), एक्लो परिचय – निबन्धसङ्ग्रह (२०५९), भनु कि नभनूँ – निबन्धसङ्ग्रह ( २०७४) लगायतका पुस्तकहरू प्रकाशित रहेका छन् ।

Add
advertise
banner ad
advertise

साथै उनले विभिन्न पुस्तक , पत्रिकाहरू सम्पादन गर्नुका साथै प्रसिद्ध दुई दर्जनभन्दा बढी सम्मान तथा पुरस्कारहरू प्राप्त गरिसकेका छन । विभिन्न साहित्यिक संघ , संस्थामा सक्रिय उनले ” लघुकथा समाज”का संस्थापक अध्यक्ष पदमा रहेर १२ वर्षदेखि कुशल नेतृत्व गर्दै आइरहेका छन् ।  अस्ति भर्खरै उनले  गोर्खापत्रको प्रधानसम्पादकबाट अवकाश प्राप्त गरेका हुन्  ।

उनै व्यक्तित्वसंग लघुकथाकै सेरोफेरोमा केन्द्रित रहेर हिमाल टाईम्सकर्मी राजु क्षत्री “अपुरो” ले गरेको  संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ:

तपाईँ लघुकथा समाजमा लामो समदेखि अध्यक्ष पदमा रहि जिम्मेवारी बहन गर्दै आइरहनु भएको छ।यो समाजको जन्म के कसरी हुन पुग्यो ? यसको थोरै पृष्ठभुमि बताइदिनु हुन्छ कि ?

— रेयुकाई नेपाल भन्ने संस्थाका कर्माचार्य शिवुमार्फत पहिलो पटक राष्ट्रव्यापी लघुकथा प्रतियोगिता गर्न सफल भएपछि छुट्टै उत्साह जाग्यो ।त्यसपछि प्रतियोगितालाई निरन्तरता दिदै जाँदा यसलाई संस्थागत गर्नु पर्छ भन्ने लाग्यो।तसर्थ २०६५ भदौ ५ गते किशोर पहाडी ,ध्रुव मधिकर्मी , गोरख बहादुर सिंह ,डा. रवीन्द्र समीर जस्ता लघुकथाका हस्तीहरू रहेको लघुकथा समाज मेरो संयोजकत्वमा गठन गरिएको थियो ।

समाजले के कस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ नि ?

— लघुकथाको बिकाश र बिस्तारका लागि हुने कुनै पनि प्रकारका कार्यक्रम हाम्रो प्राथमिकतामा पर्ने गर्दछन् । लेखन, प्रकाशन, खोज, अन्तरक्रिया, जस्ता कार्यक्रमहरूका साथै शोधार्थीहरूलाई सहयोग गर्ने, प्रोत्साहित गर्ने, सम्मान गरेर मनोबल उच्च बनाउने कार्यहरू गर्दै आइरहेका छौं ।

अग्रज लघुकथाकारका लघुकथा मञ्चन पनि गरिदै आएको पाइएको छ । यस बारे थप कुरा प्रष्ट्याइदिनु हुन्छ कि ?

— बि. सं . २०६४ मा नाटककार एवम लघुकथाकार कृष्ण शाह यात्रीको लेखन र निर्देशनमा पहिचानको खोजी लघुकथा मञ्चन भयो। त्यसपछि लघुकथा समाज र सर्वनामको सहकार्यमा आजका नेपाली लघुकथा गोष्ठी गर्दै आएका छौं । प्रत्येक गोष्ठीमा एक जना अग्रज लघुकथाकारको लघुकथाको मञ्चन सर्वनामका कलाकारहरूले गर्दै आइरहेका छन् । अन्य लघुकथाकारहरूको प्रस्तुति प्रभावकारी बनाउनको लागि गोष्ठिपूर्व कार्याशाला गर्ने गरेका छौं ।

लघुकथाको बिधागत बिकासमा निक्कै सक्रिय रहनु भएको छ तर कतिपय समालोचकहरू हेयको दृष्टिले हेर्ने गरेको पाइन्छ, यो बारे के भन्नु हुन्छ ?

— हो ,सही भन्नु भयो । सुरुका समयमा लघुकथा साहित्यिक लेखन नै होइन । लघुकथा लेखेर साहित्यकार बनिँदैन भन्नेहरू नभएका पनि होइनन् । उहाँहरूलाई हामीले कार्यक्रममा जिम्मेवारीपूर्वक आमन्त्रण गर्यौ लघुकथातर्फ आकर्षण गरायौं ।अहिले त्यस्तो स्थिति भएजस्तो लाग्दैन । लघुकथालाई लोकप्रिय बनाउने काममा उहाँहरूको भूमिकाकालाई पनि सम्मान गर्नु पर्दछ।

वर्तमान समयसम्म आइपुग्दा लघुकथा लेख्ने श्रष्टाहरूको ठूलो जमात बनी सकेको छ । लघुकथाका धेरै सङ्ग्रहहरू पनि आइसकेका छन् । आफु संलग्न रहेको बिधाको यो उचाई देख्दा कस्तो महशुस गरिरहनु भएको छ ?

— म आफू लघुकथामा समर्पित व्यक्ति भएको हुँदा खुसी लाग्नु स्वभाविकै हो । अब त पुराना श्रष्टाहरूलाई पनि लघुकथाको मोहले छोइसकेको छ। उनीहरू अब बुझेर लेख्न थालेका छौँ भन्ने गरेका छन् । यो एउटा सफलता हो। यसमा हामी सबैलाई खुसी लागेको छ।

लघुकथा पाठशाला खेलेको भूमिकाबारे के भन्न चाहानु हुन्छ ?

— लघुकथा पाठशालाले नयाँ गति दिईरहेको मैले पाएको छु। नेपाली साहित्यमा लघुकथाको विकाश र विस्तारमा लघुकथा पाठ्शालाले निरन्तर गरिरहेको अभियान निकै प्रसंशसनिय छ ।

पाठशालाले लघुकथाकारहरुलाई सम्मान गर्नुका साथै नयाँ लघुकथाकारहरुलाई प्रोत्साहन गरिरहेको छ ।
सामाजिक सन्जाल मार्फत लघुकथाको प्रत्यक्ष वाचन,रेडियोबाट वाचन,अभिनयसहित वाचन , श्रस्टा परिचयजस्ता कार्य उदाहरणीय मात्र नभएर अनुकरणीय बनेको छ । सस्थापक एडमिन लता केसीको स्वदेश बाट र
विदेशमा आफ्नो काममा व्यस्त भएर पनि लघुकथाको श्रीवृद्धिमा तपाईंले गरिरहनु भएको नेतृत्वदायी कार्यको म मुक्त कन्ठले प्रशंसा गर्दछु ।

साथै पाठ्शालाले आगामी दिनमा अझै महत्त्वपूर्ण कार्यका लागि हार्दिक शुभकामना ।
सहकार्यको लागि लघुकथा समाज नेपाल सदा तयार भएको पनि अवगत गराउँदछु ।

लघुकथा पाठशालाका पाठक र लघुकथाकारहरूलाई के सुझाव दिन चाहानु हुन्छ ?

— लेख्नुभन्दा पनि अग्रज लघुकथाकारहरूका कृतिहरू पढ्नु पर्यो। अनि अभ्यास गर्दै जानु पर्‍यो। सामान्य बिषयलाई हल्का रुप दिएर लेख्नु भएन । पाठकको वाहवाही भन्दा पनि आफ्नो लघुकथाको उद्देश्य के हो? भन्नेमा ध्यानाकर्षण हुनु पर्दछ । फेसबुकमा वाहवाही पाउदैमा मात्र लघुकथा हुने होइन ।

पाठकहरूले पनि आवश्यकता भन्दा बढी तारिफ गर्नु उचित हुँदैन । कमजोर लागे सुझाव सहितको प्रतिक्रिया दिनु उचित हुन्छ।

अन्तमा हाम्रा लेखकहरू तथा पाठकहरूलाई केही सन्देश दिन चाहानुहुन्छ कि ?

— लघुकथा पाठशालाले थुप्रै नयाँ लघुकथाकारहरू जन्माएको छ। अब लेखक स्वयं जिम्मेवार बन्दै निखारिदै जानुपर्छ। पाठक भनेका सर्जकका गहना हुन् । पाठक बिना त सर्जक अधुरो हुन्छ। म उहाँहरूप्रती पनि सम्मान व्यक्त गर्दछु। अन्तमा मेरो सानो अन्तर्वार्तालाई लघुकथा पाठशाला मार्फत पाठकसमक्ष पुर्याउन तपाइँको भूमिकालाई पनि धन्यवाद दिन चाहान्छु ।

(भदौ ५ गते लघुकथा दिवसको अवसरमा )