पत्रकार : ममता मृदुल

everest kitchen
ममता मृदुल

लघुकथा – पत्रकार

ममता मृदुल

रविले बिए पास गरेपछि धेरै तिर काम खोजे । एकजना छिमेकी दाजुले साप्ताहिक पत्रिका निकाल्छन् । काम नपाउन्जेल त्यही काम गर्ने भए । न्युनतम तलबमा त्यही काम गर्न थाले । यसै क्रममा पत्रकारिता तालिम लिए । राम्रो दैनिक पत्रिकामा स्टेन्जरको काम पाए । बिहे गरे । एउटी छोरी जन्मिन् । घर व्यवहार राम्रै चलेको छ ।

एक्कासी रविलाई देब्रे पट्टि कोखा दुख्न थाल्यो । पहिला पनि दुख्थ्यो । यसपाली धेरै दुख्यो । अस्पताल गएर जँचाए । रिपोर्ट हेरेर डाक्टरले किडनीमा समस्या छ , दिने मान्छे छ भने खोज्नु भनेपछि रविको हंसले ठॉउ छोड़्यो ।

banner ad
advertise
Add
advertise

पत्रकार महासंघमा साथीहरु सँग भने । घरमा पैसा छैन। मर्न कस्लाई मन लाग्छ । छोरी सम्झेर मन भक्कानियो । रविको ऑखाको ऑसुले अरु पत्रकारको मन पीडाले भरियो । सबैले उठाएर बिस हजार दिए ।

चार दिन पछि रविलाई डाक्टरले भर्ना गर्यो । उपचारको लागि साथीहरु लागिरहेको कुरा समाचारमा छापियो ।
रविलाई आफु बेकारमा पत्रकार भएछु भन्ने लाग्यो । एकजना अपरिचित मान्छे अस्पतालमा आए । डाक्टरसँग भेटेर आएका रहेछन् । डाक्टरसँग म रविको मामाको छोरा भनेर सबै चेक गराएर किडनी दिन तयार रहेको भनेपछि रविले उनीसँग सोधे , तपाईले मलाई किडनी किन दिन लाग्नु भएको । मसँग त औषधि गर्ने पैसा पनि छैन् ।
ती व्यक्तिले भने , तपाईले मेरी छोरीलाई बलात्कार गरेर मार्ने अपराधीको बारेमा समाचार लेखिदिनु भयो । आज त्यो अपराधी जेलमा छ । मेरी छोरी त मरिहाली । अब यो सम्पत्ति के काम ? उनको रुझेको नयनसँगै रविका नयन पनि रुझे ।