एक : अनन्त राज उपाध्याय 

लघुकथा : एक
अनन्त राज उपाध्याय 

डा. जीवनको मनमा कोरोनाको कारणले रोगग्रस्त भई छिटो मरिन्छ भन्ने ठूलो डरले घर गर्यो । उस्ले मैले यस संसारलाई छोडी सन्यासीहरुसंग मिसिन गए भने फोहोरी समाजबाट उस्लाई कोरोना सर्ने डर भएन् । अनि खाने र बस्ने गतिलो प्रबन्ध पनि भो भन्ने सोंची एउटा मठमा ऊ शरण लिन पुग्यो ।

त्यहॉको मुख्य महात्मालाई उस्ले साष्टांग दण्डवत गरेपछि महात्माले उस्लाई सोधे : “ के पाउन तिमी मठमा आयौ ? उस्ले भन्यो : “ बलवान बनी रोगमुक्त हुन , महात्मा ! “ महात्माले भने : “ बलको सदुपयोग ईश्वरीय संरचनालाई सुदृढ बनाउन जीव सेवामा लाउन सकेनौं भने त त्यो अर्थहीन र शून्य हुन्छ ।”

जीवन- “ज्ञानी बन्न, महाराज ।”
महात्मा – “ज्ञानी मात्र बनेर ज्ञानको सदुपयोग संसारका जीवहरुको हितमा लगाएनौं भने ती ज्ञानहरु तिमीसंगै मर्छन् र त्यो शून्य हुन्छ ।”

जीवन : “ धनी बन्न, महाराज ।”
महात्मा : “ धन मात्र भएर त्यसलाई परोपकारमा खर्चेनौं भने तिमी पछि त्यस्को अधिकार अरुमा जान्छ अनि शून्य हुन्छ ।”

जीवन : “ शक्ति पाउन्, महाराज ।“
महात्मा : “ शक्तिको सदुपयोग जीवहरुको हितमा गरेनौं भने, अपजस मात्र कमाउछौ, बदनामी कमाई त्यो शून्य हुन्छ ।”

जीवन : “ सत्ताको लागि, महाराज ।”
महात्माले भने : “ सत्ता एक त संधैभरिको लागि रहन्न । दोश्रो संधैभरिको लागि हो भनी नेताहरुले जनताको शोषण गरेको पाइयो, त्यस्ले पनि शून्यमा पुर्याउँछ ।”

जीवन : “ सुखको लागि, प्रभु ।”
महात्मा : “ तिमी नेपाली हौ । नेपाली देवकोटाले सुख भनेको आफु मिटाई अरुलाई दिनु जहॉ छ भनेका हैनन् ? तिमी त कोरोनाले मरिने डरले जनसेवा नगरी यहॉ आएको हैनौं ? यो पनि शून्य हुन्छ ।” प्रति प्रश्न गरे ।

जीवनले दिक्क मानी भने : “ जे गरे पनि शून्य मात्र हुने रे’छ । सबै शून्यहरुलाई जोडे पनि योग शून्य नै हुन्छ, केही अर्थ लागेन् । कसो गर्ने त ?”

महात्माले भने : “ हो ! जीवन । तर सबै शून्यहरुलाई क्रम मिलाई राखेर त्यस्को अगाडि एक राख त । ती शून्यहरु कत्तिको अर्थपूर्ण हुन्छन् । त्यो एक ईश्वर हो जसले श्रृष्टिको यत्रो संरचनालाई संचालित गरिरहेको छ । शून्यलाई धेरै अर्थपूर्ण बनाउन सक्छ । हामीले तिनको संरचनालाई सम्बर्धन गर्न ज्ञान, धन, शक्ति, सत्ता, बल आदि सबै सावधानीपूर्वक सेवा र परोपकारमा लाउनु पर्छ । ईश्वरले सावधानीपूर्वक नि:स्वार्थ सेवा गर्नेलाई धेरै माया गर्छन् र सबै दिन्छन् ।”