दिमागको बिर्को खोल्ने प्रयत्न

राजन सिलवाल

लघुकथाकार राजु क्षत्री अपुरोको चौथो लघुकथा कृति दिमागको बिर्को हात परेको निकै समय भयो । मित्र श्री टंक आलेमगरमार्फत् यो कृति हात परेको हो । राजु क्षत्री अपुरोसँग विद्युतीय संसारमा कुरा भएको छ । प्रत्यक्ष भेटघाट छैन । मलेशियामा रोजगारी छ, थाहा छ । माछापुच्छ्रे गाउँपालिकामा पर्ने लाहाचोक उनको घर हो त्यति थाहा छ । उमेरमा भाइ हुन् त्यति थाहा छ । सबैभन्दा धेरै थाहाचाहिँ उनको लघुकथा लेखनको लगाव हो । केही वर्षयता लघुकथामा निरन्तर लागेका छन् र यहाँ चर्चा गर्न लागिएको लघुकथा कृति उनको चौथो साहित्यिक सन्तान हो । यहाँ म उनको कृतिको साहित्यिक मूल्यबोध वा निरुपणतिर लाग्दिनँ बरु प्रस्तुत कृति पढिरहँदा त्यहाँभित्र समाविष्ट प्रतिनिधि लघुकथाहरुले मलाई पारेका पाठकीय प्रभाव बारेमा दुई चार शब्द लेख्नेछु ।

राजुका लघुकथाहरु लघुकथा कुनो र लघुकथा संसारमा आइरहन्छन् । कहिलेकाहीँ छोटा प्रतिक्रियाहरु त्यतै पनि दिने गरेको छु । उनी पनि अन्य कतिपयका लघुकथाहरुमा जाँगरपूर्वक प्रतिक्रिया दिइरहेका हुन्छन् । साहित्यको कुनै पनि विधामा अथक अभ्यास, निरन्तरता, अध्ययन र लामो यात्रा गरेपछि पहिला सन्तुष्टि र त्यसपछि सिद्धिको नजिक पुगिन्छ भन्ने मलाई लाग्छ । एकाध विलक्षण प्रतिभाहरुका हकमा बाहेक अरु सबैको लेखन यात्रा यसरी नि गुज्रेको हुन्छ भन्ने मलाई लाग्छ । उनले आफ्नो पहिलो लघुकथा वि.सं. २०६९ मा प्रकाशन गरेका हुन् । उनैका अनुसार उनले सन् २००६ देखि लघुकथामा प्रवेश गरे । यस हिसाबले उनको यात्रा डेढ दशक पुरानो भएको छ ।

लेखकले के लेख्छ र कसरी लेख्छ भन्ने कुरा उसले बाँचे भोगेको र बुझेको संसारले धेरै हदसम्म निर्धारण गर्दछ । लेख्न त धेरैले उस्तै उस्तै विषयवस्तु समातेका हुन्छन् । व्यक्ति, परिवार, समाज, देश, विदेश, धर्म, संस्कृति, प्रेम, यौन, दर्शन, प्रकृति, ईश्वर, माया, राजनीति, विसंगति, गरिबी, आदि नै कथा वा लघुकथाका सामान्य विषयवस्तुहरु हुन् । लेखकको पृष्ठभूमि, पेशा, वातावरण, शिक्षा, उमेर, आस्था, जीवनदर्शन, स्वास्थ्य, आदिले पनि उसको लेखाइलाई दिशानिर्देश गर्दछन् ।

म यहाँ लघुकथाको सैद्धान्तिकतामाथि गहिरिन चाहन्नँ किनभने म लघुकथाको विज्ञ लेखक वा साधक होइन । म आफैँ पनि लघुकथा लेखनको सके बाल्यकालबाट गुज्रिरहेको छु । अग्रजहरु र मेरा समकालीनहरुका लघुकथाका विषय, बान्की, शैली, संरचना, विषयवस्तु, त्यसको उठान, विकास र समापनहरु हेर्दै गर्दा, पढ्दै गर्दा लघुकथाको एकप्रकारको स्थूल छवि मनभित्र बसेको अनुभव म गर्छु ।

लघुकथामा मलाई आकर्षण गर्ने सबैभन्दा प्रथम कुरा हो शीर्षक । कुनै शीर्षक यति सरल र पूर्वसूचक हुन्छन् कि जुन पढेपछि भित्र के भनिएको छ भनेर गरिएको अनुमान गर्न कुनै कठिनाइ पर्दैन । क्षत्रीका केही लघुकथाहरुको शीर्षक स्वतः विषयको प्रकाशन गर्ने खालका छन् भने कतिपय कथाहरुका शीर्षक उत्सुकता पैदा गर्ने खालका छन् । लघुकथामा शीर्षकले पाठकलाई लोभ्याउनु पर्छ र पूरै कथा पढिसकेपछि रहस्य खोलिदिनु उचित हुन्छ भन्ने लाग्छ मलाई । शीर्षक रखाइमा भविष्यमा लेखिने लघुकथाहरुमा सुधारका ठाउँहरु देखेँ मैले ।

त्यसपछि पाठकलाई तान्ने भनेको लघुकथाको उठानले हो । कथाको अन्त्यसम्मै कथाकारले पाठकलाई डो¥याउनका लागि लघुकथाको आरम्भिक अनुच्छेदको भूमिका रहन्छ । त्यसको शैली, बगाइ, सम्वाद, कथा भन्ने शिल्प, कालगत संगति, पात्र वा परिवेशको चित्रणले पाठकमा कौतुहलता उत्पन्न गर्न सक्यो भने मात्र पाठक तानिँदै बाँकी अनुच्छेदहरुमा डोरिन्छ । एकै अनुच्छेदमा सकिने लघुकथा रहेछ भने पनि प्रारम्भिक वाक्य र विषयवस्तुको पस्काइले लघुकथा पढ्ने वा छोड्ने निर्णयमा पाठक पुग्छ ।

लघुकथा संक्षिप्त हुने भएकोले पात्र र परिवेशको अनावश्यक र लामो वर्णन आवश्यक पर्दैन । एकातिर त्यसले शब्दको ढेर लगाउँछ भने अर्कातिर पाठकलाई बिच्क्याउँछ । तीक्ष्णतम उठानको आधारशीलामा लघुकथाको परिपुष्ट विकास भएको रुचाइन्छ । प्रारम्भ र विकासमा संगति नभएको लघुकथा रुग्ण हुन पुग्छ र कम चोटिलो हुन्छ । मलाई दिमागको बिर्कोभित्र समाविष्ट ६१ कथाहरुमध्ये धेरै कथामा उठान किञ्चित कमजोर तर तिनको विकास सुगठित महसुस भयो । लघुकथाको जुन प्रारम्भ हुन्छ अर्थात् प्रथम दर्शन भनौँ त्यसमा राजु क्षत्रीले अरु सुधार गरे भने उनका लघुकथाहरु अझ उज्याला र अझै दमदार हुनेछन् । कथा भनाइको जुन शिल्प हुन्छ त्यसमा लघुकथाकार नेपथ्यमा बस्ने वा कथाकार स्वयम् नै प्रमुख पात्र भएर उभिएको छ भने पनि उसको भूमिका तटस्थ देखिँदा कथामा सन्तुलन कायम रहन्छ । क्षत्रीका आधाभन्दा बढी कथामा त्यो सन्तुलन डग्मगाएको छ । जहाँजहाँ सन्तुलन पूर्ण छ त्यहाँ लघुकथाहरु जमेका छन् । अमिट र अविस्मरणीय बनेका छन् ।

समापनको कुरा गरौँ । निबन्धको (लामो वा छोटो) भन्दा लघुकथाको समापन निश्चित रुपमा फरक हुनुपर्छ । निबन्धको समापनमा निबन्धकार बोल्छ । उसले राय दिन्छ, सुझाव दिन्छ । आग्रह राख्छ । लघुकथामा कथाकार होइन उसको पात्र बोल्ने हो । पात्रहरु पनि रोबोटिक होइनन् जीवन भएका । रोबोटको मन हुँदैन मानिसले हालिदिएको कृत्रिम मस्तिष्क मात्र हुन्छ । सफल र राम्रा कथा वा लघुकथामा पात्रहरु जीवन्त हुन्छन् । आत्मायुक्त । ती जे गर्छन् नाटकमा जस्तो निर्देशित हुँदैनन् । भए पनि त्यस्ता देखिँदैनन् । पात्रहरुको स्वाभाविक बसाइ, हिँडाइ, बोलाइ, भोगाइ देखिनु पर्छ । कथान्त जति चोटिलो, जति मिठो, जति प्रभावशाली भयो, पाठकहरु अर्को कथा पढ्न त्यत्ति नै उत्सुक हुन्छन् । कथामा पाठकले सोझो उपदेश वा सन्देशको आशा राख्दैन । अचेलको पाठकको पहुँच दन्त्यकथा र लोककथाभन्दा धेरै पर विश्वकथासम्म पुगिसकेको हुँदा कथाकारले पाठकलाई तदनुरुप कलात्मक समापनतर्फ डोर्याउन सक्नु उचित मानिन्छ । प्रस्तुत संग्रहमा एक चौथाइभन्दा कम लघुकथाहरु वाह् भन्नयोग्य समापन गरिएका छन् । बाँकी कथाहरुको समापन ठिकै छ ।

विषयवस्तुको कुरा गरौँ । क्षत्रीका लघुकथाहरुले धेरैभन्दा धेरै विषयहरु समातेका छन् । कैयन् सामाजिक र पारिवारिक समस्याहरुलाई पनि उनले कथाको विषयवस्तु बनाएका छन् । म तथ्यांक पेशाको मान्छे हुँ । उनले एउटा कथा त तथ्यांकको बारेमा पनि लेखेका रहेछन् । रमाइलो लाग्यो । यति हुँदाहुँदै पनि उनले वैदेशिक रोजगारीलाई धेरै कथामा समेटेका छन् । उनका कथाहरुमा व्यक्ति, परिवार, सन्तान, घरघडेरी, कालोबजारी, व्यापार, व्यवसाय, लेनदेन, राजनीति, भ्रष्टाचार, प्रेम, यौन, सामाजिक सञ्जाल, जिन्दगी, गाउँशहर, आदि कथाका विषयवस्तु भएर आएका छन् । यस्तो लाग्छ उनलाई धेरैभन्दा धेरै कथा भन्ने रहर छ । धेरैभन्दा धेरै विषयहरुलाई कथाको विषयवस्तु बनाउने भोक छ । राम्रै हो ।

मलाई मन परेका लघुकथाहरु :

करिब ३ घण्टा लगाएर मैले उनका सबै लघुकथाहरु पढेको हुँ । पाठकको आ आफ्नो रुचि हुन्छ । पृष्ठभूमि हुन्छ । कथागत स्वाद र मूल्य हुन्छ । यहाँभित्रका ६१ कथाहरु भित्रबाट १० वटा उत्कृष्ट लघुकथाको नाम लिन पर्यो भने म बोकाको मासु, अन्तर्मन, हाइवेको होटेल, आशीर्वाद, पीडित पुरुष, चतुर्याइँ, बुढो रुख, चौतारो, सासूबुहारी र दिमागको बिर्को ।

क्षत्री उदीयमान् लघुकथाकार:

मलेशियाको रोजगारी । सजिलो त पक्कै नहोला । व्यस्तता कति होला अनुमान गर्न सकिन्छ । यस्तो व्यस्त जीवनमा रहेर पनि क्षत्रीले लघुकथालाई जुन माया गरेका छन् निरन्तर त्यो नै सलामयोग्य लाग्छ मलाई । लघुकथामा चार चार वटा कृति निकाली सकेका छन् । यो पनि उपलब्धि नै हो । उनको हात बस्दै गएको छ । शिल्प निखारिँदै गएको देख्छु दिनानुदिन । कुनै पनि सर्जकका सबै सिर्जना अब्बल हुँदैनन् । कुनै अतिशय सुन्दर हुन्छन् । कुनै सुन्दर, कुनै ठिकै र कुनै ठिकैठिकै । दिमागको बिर्को पठनीय कृति हो । एकै बसाइमा पढ्न सकिन्छ । मैले धेरै प्रशंसा गरेको छैन । अनावश्यक फुक्र्याएर म उनलाई बिगार्न चाहन्नँ । मलाई लाग्छ लेखक सन्तुलित प्रशंसा र आलोचनाले नै इस्पात हुन्छ । शुभकामना राजुजी ।