अनुदान : श्रीकृष्ण महर्जन

लघु कथा : अनुदान

श्रीकृष्ण महर्जन

एकाविहानै सुजन घरमा आयो । ऊ मेरो छिमेकी भए पनि नाताले भाइ पर्छ ।“दाइ तपाईंको त्यो बेँसीको दुई रोपनी जग्गा मलाई भाडामा दिनुपर्यो ।” सुजन भाइले बिनम्रताकासाथ निवेदन गर्‍यो ।

“दिन त दिने तर त्यो जग्गामा के काम गर्ने हो नि ?” मैले सुजन भाइलाई सोधेँ ।“एउटा कृषि फार्म खोल्न लागेको नि दाइ । कतै जागिर खान नपाएर ल्वाँठ भइयो । तरकारी खेती गर्ने अब, हुन्न र दाइ ?” उसले झटाझट जवाफ दियो ।

“ओहो, क्या राम्रो विचार ! त्यस्तो काम गर्ने हो भने भइहाल्छ नि । कति तिर्छौ नि मेरो त्यति राम्रो जग्गाको भाडा ?” मैले सोधेँ ।

“ चलनचल्तीमा चलेको मूल्य दिइहाल्छु नि । वर्षको तीस हजार रुपियाँ दिउँला नि, दाइ । काम राम्रो हुँदै गयो भने बढाउँला पनि । हुन्न र दाइ ?” उसले नम्रहुँदै प्रस्ताव राख्यो ।

“त्यतिमा त, दिन सकिँदैन भाइ, चालिस हजार रुपियाँ देऊ न त । खेतीपातीकको लागि राम्रो जग्गा छ ।” मैले जवाफ फर्काएँ ।

केही गमेजस्तो गरेर उसले भन्यो, “दाजुले मुख खोलेरै भन्नुभयो, अब हुन्छ नै भन्नुपर्यो । तर रकम करार अवधि बितेपछि मात्र दिन्छु नि ।” उसको कुरामा विश्वास गरेर मैले केवल मुन्टो हल्लाएर स्वीकारोक्तिको सङ्केत गरेँ ।

“उसो भए सम्झौतापत्रमा हस्ताक्षर गर्ने दिन कहिलेलाई तोकौँ त दाइ ?” उसले प्रश्न गर्यो ।

“भोलि नै गरूँ न त, रात गए अगराठ पलाउँछ भन्छन् । ल, अब तयारीकासाथ आउनू ।” मैले जवाफ दिएँ ।

नभन्दै विहान भोलिपल्टै ऊ कागजपत्र र साथमा लेखन्दास, वकिलसमेत लिएर घरमा आइपुग्यो । दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर पनि भयो । यसपछि उसले काम अगाडि बढाउँछ र एउटा टनेल निर्माण गर्यो । जग्गामा बारबेर लगायो ।

करिव एक वर्ष बितेपछि उसले मलाई पर्सिपल्ट भेट्ने विचारले मोबाइलमा फोन गरेर समय लियो । उसको र मेरो भेट भयो । ऊ एक्लै आएको थियो ।

दुईचार औपचारिक कुरा गरेपछि उसले भन्यो, “दाइ लिनुहोस् तपाईंको जग्गा भाडा, पूरा चालिस हजार रुपियाँ ।” उसले पैसा आफ्नो गोजीबाट निकालेर दियो हातमा थमायो ।

“ओहो भाइ ! भाडाको जम्मै रकम समय नबित्दै दिन लागेको ? चाँडै दियौ त ! धेरै नै आम्दानी गर्यौ कि कसो ? बधाई छ ।” यति भनेर मैले पैसा समाउँदै गन्न थालेँ ।

“अँ… दाइ । अब म काम पनि नगर्ने भएँ । फेरी जग्गा चाहिएमा सम्पर्क गर्छु है ।” भन्दै उसले सम्झौतापत्र मेरै अगाडि च्यातिदियो ।

“होइन, के भयो र ?” मैले प्रश्न गरें ।

“अँ….यत्तिकै । म पछि भेट्छु तपाईंलाई ।” यति भन्दै ऊ अलि हतारले हिँड्यो ।

केही दिनपछि थाहा भयो कि उसले यी सब सरकारले दिने कृषि अनुदान पाउन गरेको नाटक पो रहेछ । आज वास्तविक कुरा थाहा पाइयो । सरकारी कृषि अनुदान खेतबारीमा खेती गर्ने वास्तविक कृषकले पाउँदा रहेनछन् । यो त भ्रमको खेती गर्ने फटाहाहरुले पो पाउने रहेछन् ।

फर्पिङ, दक्षिण्काली