विज्ञापनको कमाल

राजु क्षत्री अपुरो

एकताका पत्रपत्रीकामा आएका विज्ञापनहरू खुब आकर्षक लाग्ने गर्थ्यो । खुब खोजी खोजी हेरिन्थ्यो। कतिपय त मनन गर्ने कोशिसमा पनि लागिन्थ्यो। एउटा विज्ञापन भेटियो। त्यो हिन्दिमा थियो। “कद लम्बा कैसे करें ! इच्छुक लोग तुरुन्त मगवाएँ,” क्याप्सन देखेपछि खुब खुसी भइयो।

आफू परियो होचो मान्छे। होचो भएरै होला। कति युवतिहरूले मेरो प्रेम प्रस्तावलाई ठाडै अस्विकार गरेका घटना ताजै थिए। फौजमा भर्ती हुन जाँदा पनि भर्ती अफिसरले होचो देखेर घुरिघुरी हेर्थ्यो। हेपेर बोल्नेहरूले ग्यान्टेदेखी भ्याण्टे भन्न भ्याए, पाँच फुटेदेखि डल्ले भन्न भ्याए। कुरो गरेर साध्य नै छैन। अब दुई इन्च बढाएर मुखमा बुझो लगाइदिनु पर्‍यो भन्ने दृढशक्तिका साथ लागियो। सामान मगाउन पर्यो, भनेर बहाना बनाएर बाबाका खल्तीका पैसा झारझुर पारियो। पाकेटमा आयो औषधि समेत एउटा किताब । किताबको बाहिरी कभरमा एउटा होचो मान्छे तीन महिनामा तीन इन्च तिनिक्कै तन्किएको देखेर मन प्रफुल्ल भएर आयो। नाक फुलाउन थालियो। छाती तन्काउन शुरु गरियो।

banner ad
advertise
Add
advertise

पुस्तकमा लेखे बमोजिम गरियो अभ्यास , खाइयो दैनिक काला गोली , तीन महिनापछि नापियो उचाई, त्यसका बाजे १५६ सेमि बाट एक सेमि बढेका भए मरिजाम।

निमाबी सकेर माबिमा प्रवेश गरेपछि पोखराका फिल्म हलमा खुब धाइने गरिन्थ्यो । फिल्म शुरु हुनुपुर्व हर्लिक्सको विज्ञापन आउथ्यो। एउटा केटो रसिलो पोटिलो देखिन्थ्यो। भन्थ्यो, ‘म त हर्लिक्स फुकै खान्छु।’ हर्लिक्स खाएर पोटिलो भएको होला। म पनि त्यस्तै हुनुपर्‍यो भनेर आमालाई कर लगाएरै हर्लिक्स किन्न लगाइयो। भाइबैनिलाई नदिइकनै खाइयो मकैका सातु खाए झैं फुकै । सकियो चार पाँच डब्बा । के को मोटाउनु नि ! झन् नदेखिएका करङ पो देखिन थालेछन् ।

मान्छेलाई एकपटक आफू राम्रो बनौँ । आफुलाई सबैले राम्रो भनिदेओस् भन्ने उमेर चाहिँ आउँदो रहेछ। त्यो उमेरबाट गुज्रीने अवस्थामा म पनि किन पछि पो पर्थेँ र ! भरखरै टिभीको शुरुआत भएको बेला। एउटी राम्री अनुहार भएकी केटि आफुले फेयर एण्ड लब्ली दलेर गोरी भएको बताएपछि अब के नै चाहियो र! किनियो क्रीम दलियो खुबै।
साथीभाइहरूले राम्रो त के भन्थे, बरु के को लेडिजले झै क्रीम घसेको होला !भनेर उडाउन सम्म उडाए।

रेडियोबाट बज्ने सौन्दर्य साबुन निरमाको प्रयोग पनि खुबै गरियो। घरिघरि ऐना हेरिन्थ्यो। अनुहार हेर्यो। सधैँ रोएजस्तो।

बेरोजगार भएपछि मनमा निकै कुरा खेल्दा रहेछन् । पैसा कैसे कमाएँ ? जादुगर कैसे बनेँ ? एक हजार नोकरियाँ जस्ता पुस्तक रोजाईमा पर्न थाले। लौ त नि अब तन्त्रमन्त्र सिक्नु पर्‍यो र जादु गर्न पर्‍यो । सबैले चिन्ने , दाम पनि कमाइने भनेर पुस्तक किनेर ल्याइयो। पुस्तक खोलेर हेरेको त कहाँ मन्त्र तन्त्र हुनु नि ! दिमाग मै घुस्न नसक्ने तरिकाहरू पो उल्लेख रहेछ।किताब पढेर होइन अभ्यास गरेर जादु सिक्ने कला पो रहेछ! अब कहाँ पाउने सामान! कहाँ पाउने सिकाइदिने गुरु!
त्यतापनि मन मारीयो।

यो एक हजार नोकरी के के रहेछन् त नि भन्ने इच्छा जागेर आयो। किनियो किताब । शुरु मै उल्लेख थियो ,”सब से पहले अपनी पढाइ पुरी कर ले !” अरे ,
त्यो त हामिलाई पनि थाहा थियो क्यारे नि! सिकाइरहनु भनिरहनु पर्ने कुरा हो र ? अनि पढाइ लेखाइ गर्न दिमाग पनि हुनुपर्‍यो ! भन्दिनेलाई कति सजिलो हो भन्या!
दुनियाँमा कतिले पढाइ पूरा गरेका होलान् र ! त्यही हो दुई चार सय नसुनेका नोकरी पेशा चाहिँ पढियो अनि थन्काइयो पुस्तक।

आफ्ना मात्र के कुरा गर्नु , अहिलेका धेरैजसो युवाहरू चाउचाउ कै विज्ञापनमा लोभिएर चाउचाउ खान थाले । पाक्नमा छिटो खानमा मीठो विज्ञापन जो थियो। यसो हेर्छु, होचा डल्ला भएपनि हाम्रा शरीर टिमिक्क मिलेका थिए। लगाएका पाइन्ट पेटिले कस्नै पर्ने थिएन। तर अहिलेका धेरैले पेटिले कसेपनी त्यो पाइन्ट कम्मर भन्दा तीन इन्च तल खसेको देखिन्छ। । टुसुक्क बसेको बेलामा मलमुत्र त्याग गर्न लागेको हो कि भन्ने भान हुने!

हाम्रा कुरा मात्र के भए र !,यी चाहिदा नचाँहिदा विज्ञापन गरेर कम्पनिहरूले हाम्रा नारीहरूका दिमाग यति भुटिदिएका छन् कि लेखेर साध्य नै छैन। यो बारे अर्को लेखमा लेखौला है त!