खोजी : कृष्ण शाह यात्री

कृष्ण शाह यात्री

लघुकथा : खोजी

कृष्ण शाह यात्री

केही दिनदेखि मृत्युले उसको खोजी गरिरहेको कुरा उसले थाहा पायो । उसलाई निकै डर लाग्यो । त्यसपछि ऊ मृत्युले भेट्न नसक्ने ठाउँको खोजीमा हिड्यो ।

हिँड्दा हिँड्दै , उसले सुकेर ढल्न लागेको फूलको बिरूवा देख्यो । ऊ रोकियो । उसले बिरूवालाई अडेसा लगाइदियो र पानी पिलायो । बिरुवा तङ्ग्रियो । फूल मुस्कुरायो ।

banner ad
advertise
Add
advertise

बाटोमा, उसले तार बेरिनाले उडन नसकेको , छट्पटाइरहेको चरा देख्यो । उसले तार झिकिदियो। पीडा हटेपछि चरा रमाउँदै उड्यो ।

बाढी उर्लिएको खोला तर्दा , उसले पौडिन नजानेर डुब्न लागेको एक बालक देख्यो । उसले हत्तपत्त समातेर बालकलाई जोगायो । अाफ्नो ज्यान बचाइदिएकोमा बालकले अाँसु झारेर अाभार व्यक्त गर्यो ।

उसले मृत्यु अाफैँतिर अाइरहेको देख्यो । ऊ जङ्गलभित्र पस्यो ।
मध्यजङ्गलमा उसले एउटा बूढो र रोगी बाघ हिँड्नसमेत नसकेर लडिरहेको देख्यो । निकै दिनदेखि खान नपाएर बाघको दयनीय अवस्था देखेर उसलाई औधी माया लाग्यो । ऊ बाघको अाहारा बन्न तयार भयो । दुबै हात जोड्यो ।अाँखा बन्द गर्यो र अाफुलाई समर्पण गर्यो ।

तर अचम्म भयो , बाघले उसलाई खाएन । उसले अाँखा खोल्दा , मृत्यु उसको सामने उभिएर मुस्कुराइरहेको थियो । मृत्युले भन्यो , “ यस पटक म बाघको रूपमा तेरो सामुन्ने अाएको थिएँ । तेरो अाँट र मन देखेर म कायल भएँ । अहिले तँलाई मार्नु भनेको, म अाँफै मर्नु बराबर हो । म तँलाई नलिईकनै फर्किन्छु । ´´