छोराको माया : सीता रेग्मी

सीता रेग्मी

लघुकथा : छोराको माया

सीता रेग्मी

“ए हजुर, यता हेर्नोस् त , बाबु त हाँस्न पो थाल्यो ” आफ्नो तीन महिने छोरोसँग रमाईरहेकी श्रीमतीले आफ्नो श्रीमानलाई उत्साहित हुँदै जानकारी गराइन् ।

” ए हो र मेरो छोरो त ठूलो भैसक्यो नि” श्रीमान् पनि मख्ख परे ।

“यता सुन्नोस् न, बाबु तीन महिना पुगिसक्यो । अब अर्को हप्ता देखि त बिदा पनि सकिन्छ ।अफिस जानु पर्छ। बाबुको स्याहार नपुग्ने हो कि?” श्रीमतीले शङ्का व्याक्त गरिन् ।

“जाऊ न , बाबुको लागि त तिमीले माइतमा आमालाई भनेकै छौ । उहाँले हेरी हाल्नुहुन्छ । दूध चाहिँ बट्टाको खुवाउनु पर्ने भयो। ।” श्रीमानले समाधानको उपाय सुल्झाए ।

“तर बट्टाको दूध खुवाउदा बिरामी पो पर्ने हो कि ?” श्रीमतीले फेरि शंका व्यक्त गरिन् । बरु म त छ महिना बेतलबी बिदा बस्नु पर्यो ” श्रीमती आफ्नो विचार राखिन् ।।

” बस्छौ भने बस न त तर…….. ” उनी रोकिए ।।
“तर के”? श्रीमतीले जान्ने इच्छा राखिन् ।।

” अहिले बाबुसानो छ । त्यसैले तिमी उसको लागि आफ्नो सबै काम छोडेर उसैसँग समय बिताउन चाह्यौ । यो एकदम राम्रो कुरा हो तर के तिमीलाई विश्वाश लाग्छ ? कुनै बेला तिमीलाई सहाराको आवश्यक भएमा उसले पनि यसरी नै तिम्रो लागि त्याग गर्ला त ?”

उनी एकोहोरो भइन् । उनले संझिन् , बृद्ध र रोगी सासूलाई उनले कसरी बृद्ध आश्रम पठाएकी थिइन् ? बाबू , मलाई आश्रम नपठाऊ बाबू भनेर सासू कत्ति रोएकी थिइन् ।

सुन्दरहरैचा, मोरङ