जिज्ञासा : दीपक लोहनी

दिपक लोहनी

लघुकथा : जिज्ञासा

दीपक लोहनी

पाँच वर्षिया छोरोले बालाई सोध्यो-
“बा, आकाश खस्यो भने के हुन्छ ?”
राहत नपाएर रित्तै फर्किएको बाले केही बोलेनन् । उदाशीको एकमुठी सुस्केरा खुइइइ ..ए छोडे मात्र ।

उसले फेरि आमालाई सोध्यो –
“आमा, आकाश खस्यो भने के हुन्छ ?”
ग्याँस सकिएर रन्थनिएकी आमाले पनि केही बोलिनन् । फरियाको सप्कोले टिल्पिलाएको आँसु पुछिन् मात्र ।

Add
advertise
banner ad
advertise

उसको मनमा जिज्ञास मेटिएको थिएन । तर बा/आमा नबोलेकोले एकछिन चुप भयो । आकाश हेर्यो । पानी पर्न नसकेर गड्याङ गुडुङ गर्दै मेघ गर्जिरहेको थियो । बाटोमा पुलिसहरू लौरो बजार्दै हिडिरहेका थिए ।
कतै पर – “महामारीबाट बच्न घरबाट ननिस्कनुहोस् ।” भन्दै स्पीकर घन्किरहेको थियो ।

उध्रिएको गन्जीले ढाकिएको शरीरलाई ढोकाबाट बाहिर निकाल्दै उसले पुलुक्क आकाश हेर्यो । खुट्टाहरू चप्पलविहीन थिए । कट्टु लगाएको थिएन – तुन्तुरो पुरै देखिएको थियो ।

उसले कोठामा पस्यो र फेरि बा/आमालाई सोध्यो –
“आकाश खसे के हुन्छ ?”
“हामी सबै मर्छौ ।” यसपटक बल्ल आमा बोलिन् ।

“यसरी भोक भोकै मर्नु भन्दा त आकाश खसेकै जाती ।” उसले प्वाक्क बोल्यो र आकाश हेर्न कोठा बाहिर निस्कियो ।

मनमैजु – काठमाडौ ।