थात्थलोभन्दा टाढा, त्यसपछि झनै टाढा…. 


 देवेन्द्र सुर्केली

विक्रम सम्वत १९९० सालको भुँइचालो धेरै कुराको मापक बनेको छ । बुढापाकालाई तपाई कति वर्ष पुग्नुभयो भनेर सोध्दा ९० सालको भुकम्प हुँदा म यति वर्षको थिएँ अर्थात भुकम्पको यति साल पछि म जन्मिएको हो भन्ने गर्छन् । त्यसैगरी राजनीतिक घटनाक्रम तथा अन्य घट्नामा पनि त्यसको आसपासलाई आधार मानिन्छ ।

खोटाङ ऐसेलुखर्कस्थीत जुबुका प्रतापसिंह राईको चाही ‘९० सालको भूकम्प’ अलि फरक कथा भयो । इण्डियन आर्मीमा कार्यरत प्रतापसिंहले भने भुकम्पपछि थातथलो छोडेर हिडेका थिए । उसबेलाको इण्डियन आर्मी भनेको इष्ट इण्डिया कम्पनीको अधिनमा रहेको र दोश्रो विश्वयुद्धको गर्भ बन्दै गरेको अवस्था थियो । युद्धमा होमिदा होमिँदा लाहुरेहरूमा नैराश्यता थियो । फर्कँदा न प्रशस्त पैसा हुन्थ्यो न शरीर तन्दुरुस्त । त्यहिमाथि नेपालमा विभिन्न महामारी आइरहन्थे । महामारीले प्रतापसिंहका ४ जना छोराहरू बिते । त्यसैबेला विनासकारी महाभूकम्प आयो ।

आफ्ना ४ जना छोराहरू बित्नु र महाभुकम्पले बस्ती तहसनहस पार्नु प्रतापसिंह राईको लागि विरक्तलाग्दो समय भयो । त्यसैले त्यस ठाउँमा उनको मन पटक्कै अडिएन । तल्लो घर, वल्लो घर, डाँडाकाँडा हिड्दा आफ्ना मुनाजस्ता कलिला छोराहरूको यादले रन्थनिन्थे । त्यसैले उक्त ठाउँलाई त्याग्ने घोषणा गरे । तर जाने कहाँ ?

पल्टनबाट दार्जिलिङको कुरा सुनेका थिए । चियाको बोटमा सुन फल्ने कुराले लोभ्याएको थियो । विफर र औंलो रोगको कारण त्यसबेला पहाडबाट तराई झर्ने आँट हुन्नथ्यो । त्यसैले श्रीमती रहरमाया राईसहित उनी पहाडी बाटोलाई पच्छ्याउँदै इलामको चारकटेरे पुगे ।

चारकटेरे भारत र नेपालको सिमानामा पथ्र्यो । उनीहरूको मन सीमापारी पुगेर भारतीय हुन मानेन । सँगै आएका आफन्तहरू भने चारकटेरे पार गरेर दार्जिलिङ्को बदमताम चियाकमान पुगे ।

चारकटेरेमा उनीहरू अर्काको घरमा कामदारको रूपमा बसे । र, त्यहीबाट नयाँ जीवनको शुरुवात गरे । चार छोरा ऐसेलुखर्कमै बितेपछि वंश थाम्ने सन्तान हुनैपर्छ जोड थियो प्रतापसिंह दम्पतीको । यहाँ ३ सन्तानको जायजन्म पनि भयो । तर ठूली छोरी र कान्छा छोराको माई रोगको महामारीमा निधन भयो र एक छोरा जसबहादुर राईमात्र बाँच्न पुगे । प्रतापसिंह र रहरमाया राईले बाँचेको एउटै सन्तान जसबहादुरलाई भरमग्दुर प्रयास गरेर बचाए । उनीहरूको सबैभन्दा ठूलो सम्पति नै यहिँ बाँचेको एउटा सन्तान थियो ।

प्रतापसिंह र रहरमायाको प्रार्थना भगवानले सुनेरै होला जसबहादुरले बुबाआमाको मन राखे । वंश थामे ।

चारकटेरेमा दार्जिलिङको हावाले छोएको थियो । त्यसैले शिक्षाको ज्योती पनि हावाकै रूपमा आइपुग्थ्यो । जसबहादुरले बुबाआमालाई सरसहयोग गर्दै कक्षा आठसम्म अध्ययन गरे । त्यो अध्ययनले हुलाकमा जागिर पाए ।

जागिरे भएपछि जसबहादुरले विवाह दार्जिलिङ राङभाङबस्तीकी रत्नकला राईसँग । उनीहरूको दम्पतीले चारकटेरेमा अलिकति जग्गा र घर जोडे ।

…….

चारकटेरे अहिले पशुपतिनगर बनिसकेको छ । पूर्वी पहाडी जिल्लाबाट दार्जिलिङ छिर्ने प्रमुख नाका नै बनेको छ पशुपतिनगर । त्यही पशुपतिनगरमै जोडिएको घरजग्गामा जसबहादुर र रत्नकला दम्पतिबाट मुकेश, किशोर, मालती, राम, लक्ष्मणको जन्म भयो । रोगहरू आउथेँ, उचित औषधोउपचारको व्यवस्था हुन्नथ्यो । त्यसैले विभिन्न महामारी आउनेक्रममा जसबहादुरका छोरी मालतीको मृत्यु भयो भने कान्छो छोरो लक्ष्मणको जन्मपश्चात तत्कालै निधन भयो ।

सामान्य हुलाकको जागिरले परिवारले ठीकै धानेको थियो । पुख्र्यौंली थलो नटेकेका जसबहादुरले बाउबाजेको थलो फर्कने आँट गरेनन् । त्यही चारकटेरेमै दुःखजिलो गरी परिवारलाई धान्ने अठोटमै जुझिरहे ।

यो कथा उनै प्रतापसिंहको नाती, जसबहादुरको जेठा छोरा मुकेस राईको हो । जसले साहित्य (विषेश गीतलेखनमा) फरक पाइला राख्न सकेका छन् । व्रिटिस आर्मीबाट रिटायर्ड मुकेशलाई उनको जीवनकथाबारे जिज्ञासा राख्दा बाजे, बुबा, आफू र आफ्ना सन्तानसम्मको कथा नल्याई अपुरो हुने बताए । र, माथिका कथाहरू उक्किएका हुन् ।

…….

जसबहादुर साहित्यप्रेमी थिए । गीतसंगीतका पारखी थिए । वि.सं. २०३५ सालतिर गाउँमा रेडियो थोरैकोमा मात्रै हुन्थ्यो । त्यो थोरैमध्ये जसबहादुर पनि पर्थे । उनको घरमा ब्राउन कलरको छालाको खोल भएको फिलिप्स रेडियो थियो । जसबहादुर गीत संगीत सुनेर पनि धेरै मनोरन्जन लिन्थे । दार्जिलिङ नजिक भएकै कारण खर्साङ् रेडियोमा बज्ने फर्माईस गीतको कार्यक्रममा छोराहरूको नामसमेत उल्लेख गर्दै गीत फर्माईस गर्थे । फर्माइसको हरेक पत्रमा मुकेश, किशोर र शैलेन्द्र राख्थे । यी नामहरू बलिउडमा चर्चित कलाकारसँग मिल्थे । तर जसबहादुरले रामबहादुरको नाम भने डकुमेन्टमा शैलेन्द्र बनाउन सकेनन् । किनभने जुम्ल्याहा छोराहरूको नाम रामलक्ष्मण राखिने पुरानो थीति अनुसार पिठमा त्यहिँ लेखियो । त्यसैको आधारमा जन्मदर्ता बन्यो । र, अन्य डकुमेन्ट पनि ।

जसबहादुरले आफ्ना सन्तानलाई शिक्षित बनाउन चाहन्थे । त्यसैले घरनजिकै रहेको स्कुलमा प्राथमिक शिक्षा पुरा गराए । कक्षा ५ देखि भने घरबाट आधाघण्टा टाढा रहेका बौद्धधाम माध्यमिक स्कुलमा भएको जानुपथ्र्यो ।

मुकेश सोझा थिए तर इमान्दार र जेहेन्दार पनि थिए । माध्यमिक तहमा पुगेपछि साहित्यमा अति नै रुची बढेको रहेछ । यसको मुख्य कारण त्यसबेला कुनै मनोरन्जनको साधनहरू नहुनुले गर्दा साहित्यिक पुस्तकहरू पढेरै मनोरञ्जन लिनु पथ्र्यो । जसले गर्दा साहित्यको पुस्तकहरू खोजी खोजी पढ्ने बानी बस्यो ।

मावलीघर राङ्भाङबस्तीस्थीत मामाको छोराछोरी पनि साहित्यप्रेमी थिए । उनीहरूले नेपाली कथामाला र साहित्यका पुस्तकहरू खुबै पढथे । त्यसैले मुकेशमा पनि ति पुस्तकहरू पढ्ने भइहाले । नेपालको स्कुलहरूमा आफ्नो पाठ्यक्रमका पुस्तकहरू बाहेक अन्य पुस्तकहरू नै नहुने तर दार्जिलिङ तिरका स्कुलहरूमा अतिरिक्त पुस्तकहरू प्रसस्तै हुन्थ्यो । ति स्कुलको पुस्तकालयमा मनग्ये पुस्तक छानेर पढन पाइने भएकोले उता धेरै साहित्यकारहरू जन्मिएका हुन् भन्ने मुकेशलाई लागेको छ ।

स्कुले जीवनमा मुकेश केही न केही रचना गरिबस्थे तर साथीहरूलाई देखाउन सक्दैन थिए । बुबाले भने छोराको साहित्यलाई बुझेका थिए । हुलाकको जागिरे भएकोले बुबाका दार्जिलिङतिर थुप्रै साथीहरू थिए । विशेषगरी घुमपहाडको कृष्ण खडका (बैशालु मासिकको सम्पादक), अनि धोतरिया चियाकमानको बुद्ध सँगम (हाम्रो देउराली मासिकको सम्पादक), कृष्ण प्रधान (कानेखुशी, हाँस्यब्यङ्ग्य पत्रिकाको सम्पादक) हुनुहुन्थ्यो । बुबाको ति संगतका कारण मुकेशका केही रचनाहरू स्कुले जीवनमा प्रकाशित भएका थिए ।

…….

नेपालमा बहुदलीय शासनपद्धतीको माग राख्दै आन्दोलन चलिरहेको थियो । त्यस्ता आन्दोलनले कहिले गाउँबस्तीका गरिब किसानलाई उठाउँथे, कहिले सरकारी सम्पत्तिहरू जल्थे । त्यसैबेला मुकेशले पढिरहेको बौद्धधाम स्कुल वि.सं. २०३७ सालमा भवन नै जल्न पुग्यो । भर्खरमात्रै शुरु भएकोले गर्दा सिमित सुविधा हुनु र त्यो पनि जल्नुले पठनपाठनमा निकै नै अवरोध पुगेको थियो । जुनकुरा सम्झँदा मुकेशलाई अझैँ दुःख लागेर आउँछ, भन्छन् । त्यस्ता क्रियाकलापलाई असामाजिक, विकृत मनस्थितिका मानिसहरूको संज्ञा दिन्छन् ।

सामान्य जागीरे बुबा, बृद्धबृद्धा भइसकेका मिमीबेबे (बाजेबज्यै) र घरमा एक्लै काम गर्नुपर्ने आमाका कारण जेठो सन्तान मुकेशले घरको हरेक काममा सघाउनुपथ्र्यो । बिहान स्कुल जानु अगाडी एकभारी घाँस काटिराख्नु, छुट्टीको बेला भकारो सोहोर्नु, खेतीपातीको समयमा अर्मपर्म गर्नुजस्ता गाउँले जीवन भोगाईबाट मुकेश अछुतो छैनन् । यस्ता अनेक दुःखहरूलाई आत्मसात र अनुभूत गरेकाले आफूलाई आफ्नो जीवन परिपक्व नै लाग्छ । धेरै दुःख गरेर पनि घरको अवस्थाबाट उकालो चढ्नु साँचै नै गाह्रो भएकोले मनको कुनै एउटा कुनामा ‘लाहुरे चाहना’ मुकेशमा विकसित हुन थाल्यो ।

परिवारको चाहना पढनु पर्छ, उच्च शिक्षा हासिल गर्नुपर्छ भन्ने थियो । तर मुकेशले आफ्नो पढाईलाई एसएलसीमै थाँती राखे र क्रमशः भर्तीको दौडानमा लागे । हिम्मत नहार्ने स्वभाव भएकाले उनी तेश्रोपटक अर्थात सन् १९९० मा भर्ती भए । यसरी ऐसेलुखर्कबाट वि.सं. १९९० मा विरक्तिएका प्रतापसिंह राईको सन्तान ५७ वर्षपछि अङ्ग्रेजी सम्वत १९९० मै हङ्कङ पुग्यो ।

…………..

लाहुरेले के गर्नुपर्छ ? कसो गर्छन् ? त्यो सामान्य मानिसले आंकलन र अनुमान गर्दछन् । तर लाहुरेले अतिरिक्त के गर्दैछ ? भन्ने कुराको चाही चासो र चर्चा हुने गर्दछ ।

मुकेश पनि अतिरिक्त क्रियाकलाप गर्नेमा परे । जुन पल्टनघरले मनपराउँदैन थियो । मुकेशले लेखेका कविता र गीतिकथाहरू विएफविएस गोर्खा रेडियो हङकङबााट प्रशारण हुन्थ्यो । साथै गोर्खाली सैनिक म्यागजिन ‘पर्वते’ मा पनि छापिन्थ्यो । बढिभन्दा बढि सक्रियता देखाउन पनि नमिल्ने, साथै लेखिएजति सबै प्रकाशन र प्रशारण पनि नहुने भएकाले धेरै रचनाहरू डायरीमा समेटिन्थे ।

छोरा र श्रीमतीका साथ मुकेश राई
छोरा र श्रीमतीका साथ मुकेश राई

पहिलो छुट्टी र विवाह
लाहुरेको पहिलो छुट्टी विशेष उत्सवजस्तो हुन्छ गाउँघरमा । साथीभाई भेट्न आउने, साथीभाईसँग गाउँघर घुम्दा सँधै केन्द्रमा भइरहने, नाता गाँस्नको लागि कुराकानी हुने आदि हुने गर्दछ ।

मुकेशले त्यो क्षण सम्झिरहन्छन् । धेरै समयपछि आमापापा, दाजुभाई, इष्टमित्रसँगको भेटको वर्णन नै गर्न सक्दैनन् । आफू इमान्दार हुनु, सबैसँग समझदारी कायम राख्नु नै ठूलो कुरा रहेछ भन्ने कुरा त्यसबेला थाहा भयो कि सबै शुभेच्छुकहरू भेट्न आए । छाँद हाले ।

उनलाई विभिन्न ठाउँबाट विवाहको लागि कुरा आएका थिए । विवाह भन्ने कुरो ख्यालठट्टा होइन भन्ने लाग्छ उनलाई । त्यसैले धेरै विचार गरेरै विवाह गर्नुपर्छ जोड परिवारले पनि गरेको थियो ।

उनको पहिले छुट्टी मै इलाम, समालबुङ निवासी सुशिला लिम्बुसँग हुन पुग्यो । उनीहरूका २४ वर्षका एक छोरा मनिष राई छन् । मनिष आफ्नो पढाई सिध्याएर सिभिल सेक्टरमा फुलटाईम काम गरिरहेका छन् ।

लाहुरे र लडाइँ
‘लाहुर र लडाइँ’ पर्यायवाची नै हुन् । फरक त्यति हो, पहिले लाहुरेहरूले आमने सामने भइ लड्ने थिए । अहिले प्रविधिमार्फत लडाइँ हुन्छ । लाहुरेले सँधै बन्दुक, गोलीगट्ठाका साथ सुसज्जित भई हिड्नुपर्छ, जुन कुनैबेला केही आइपर्न सक्छ र लड्नुपर्छ भन्ने कुराको संकेत नै हो ।

मुकेशको १७ वर्षे पल्टने जीवनमा ५ पटक बोस्निया हर्जगोभिनामा शान्तिसेनाको रूपमा गए । एकपटक कोसोभो पनि पुगेँ । सन् २००३ मा इराकमा ‘डिप्लोय’ हुनुपर्यो । जहाँ उनले पल्टनसँगै ७ महिना मरुभूमिमा बिताए । तर त्यस समयमा उनको प्लाटुनले कुनै क्षति बेहोर्नु परेन । मुकेशले आफ्नो आर्मी जीवनमा हङकङ, ब्रुनाइ, युके, इराक, कुवेत, साईप्रस, जर्मनी, क्रोसिया, बोस्निया हर्जगोभिना, इटाली र स्लोभानिया भ्रमण गर्ने मौका पाए ।

सन् २००७ मा त मुकेश रिटायर्ड भए । र, बन्दुकसँगको नातालाई त्यही बिसाए । रिटायर्डपश्चात उनको बसाई बेलायत हुनपुग्यो । भाई किशोर पशुपतिनगरमै छन् भने कान्छाभाई अध्ययनको शिलशिलामा बेलायत आए । र, बेलायतमै घरजम गरेर बसेका छन् । बुबा केहीपल्ट थातथलो पुगे भने नातीपुस्ता आफ्नो पुर्खाको बस्ती पुग्नै सकेका छैनन् । मुकेशलाई कहिलेकाँही वोध हुने गर्छ रे –‘बाजेले थातथलो छोडेर टाढा गए, म अझै त्यो भन्दा टाढा पुगेको छु । सन्तान फेरि कहाँ पुग्लान ?’

साहित्यकेन्द्रीत ‘रिटायर्ड लाइफ’
रिटायर्डपश्चात मुकेशको दिनचर्या साहित्यलेखनमै केन्द्रीत छ ।

किन लेख्नुहुुन्छ ? भन्ने प्रश्नमा मुकेश भन्छन् –‘लेखन भनेको नै आत्मसन्तुष्टिमा केन्द्रित हुनु नै हो । जब कुनै कुराहरू यथार्थ र काल्पनिक भावनाको तहबाट शब्दको रूपमा लेखिसक्छु त्यही नै मेरो सबै भन्दा आनन्दमय क्षण हो, पछिल्लो समयमा आएपछि अलिकति गीति लेखन चै करले पनि लेखिरहेको छु कि भन्ने महसुस हुन्छ, धेरै गीत संगीतप्रति समर्पित भाई बहिनीहरूले गीत लेखिदिने अनुरोध गर्छन्, यसले उहाँहरूको अनुरोधलाई नकार्न सक्दिन यसैले कहिले काही मुड नै नचल्दा पनि बचन पुरा गर्न लेख्न बस्छु त्यो बेला अलिकति कर नै परेको हो कि जस्तो लाग्छ तर पनि ति कुरोले नै एउटा अर्को सिर्जना जन्माउने सुयोग पनि त मिल्छ ।’

मुकेश राईले साहित्यले मनोरन्जनबाहेक पनि दिनुपर्ने कुराहरू धेरै छन्, जसले जीवनको हरेक आयामहरूलाई समेटेको छ त्यसैले बोल्नुपर्छ जीवन र जगतलाई, सुख, दुःख, प्रेम, वियोग, कुसंस्कार, कुरितीहरू समाजका विकृतिहरू, राजनैतिक् विषमता र विसङ्गति र कमिकमजोरीहरू हरेक कुरोहरूलाई समेटेर चेतना र जागृतिको सन्देश दिनुपर्छ भन्ने मान्यता राख्छन् ।

विदेशमा रहेर नेपाली साहित्य कोर्नु डायास्पोरिक साहित्य भनेर बहस भइरहेका छन् । कतिले परदेशमात्र गएकोले परदेशी साहित्य या अरपे साहित्य हो पनि भनिरहेका छन् । त्यसैगरी लाहुरेहरूले युद्ध साहित्य नाम दिएर अर्को बहस शुरु गरेका छन् । मुकेश राई भने साहित्य लेखन भनेको मुलतः भोगाई, देखाई कुराहरूलाई अभिव्यक्त गरिनु हो । जुन निजि हुन्छ । त्यसमा डायास्पोरिक भाव खोज्ने, र लाहुरे भएकोले युद्ध साहित्य खोज्ने समिक्षकहरूको काम हो भन्ने विचार राख्छन् ।

जीवनभर लेखि नै रहने उनको लक्ष्य छ । तसर्थ धेरै विषयहरू लेख्नको लागि योजना पनि बनाएका छन् । यो ‘लकडाउन’ले एउटा उपन्यास लेखिसक्ने अवसर प्रदान गरेको सुखद समाचार पनि बाँडेका छन् । महामारीको आफ्ना बुबाअगाडिका सन्तानको ऐशेलुखर्कमै निधन हुनु, माई नामक महामारीले फूपु, काकालाई लानु अहिलेको आएको कोरोना महामारी लकडाउन बस्नु लेखनविम्ब बनेका छन् मुकेशका लागि । साथै उनको १७ बर्षे पल्टनिया जीवनको संस्मरण पनि शुरु गरेका छन् ।

आफ्नो साहित्यलगाव र बुबाको साहित्य प्रेम रहेकैले अझै पनि कोही भेटे पुस्तक नै कोशेलीका रूपमा पठाउने गरेको सुखद क्षण पनि बाँड्न चाहन्छन् ।

मुकेश राईका कृतिहरू
मुकेश राईका कृतिहरू

नजिकबाट मुकेश राई
इलाम जिल्लाको पशुपतिनगर ४ (हालः सुर्योदय नगरपालिका)मा बुबा जसबहादुर राई र आमा रत्नकला राईको कोखबाट जेठो छोराको रूपमा जन्मिएका हुन् साहित्यकार मुकेश राई । उनका अनुभूतिका रङहरू (कविता सङग्रह, २०६८ असार, जुन २०११), मनोकांक्षा (गीती एल्बम, २०७० बैशाख, अप्रिल २०१३), रङ जिन्दगीको (गीती सङग्रह, सन २०१५), मनोकांक्षा भाग २ (गीति एल्बम सन् २०१८) बजारमा आएका छन् । इलाम समाज बेलायत स्मारिका सम्पादन गरेका छन् भने एक उपन्यास प्रकाशोन्मुख छ । नेपाली चलचित्र, वृतचित्र “इलाम हाम्रो पहिचान” लगायत विभिन्न गीतिएल्बमको निम्ति गीत लेखिसकेका उनको विभिन्न पत्र पत्रीकाहरूमा रचनाहरू प्रकाशित छन् । स्कुले जीवनदेखि नै फुटकर कविता लेखनमा सक्रिय उनले सुप्रमा (स्व. सुन्दर प्रशाद मानन्धर) स्मृति पुरस्कार बेलायत, २०१४ (कविता सङ्ग्रह अनुभूतिका रङहरूलाई) प्राप्त गरेका छन् ।

उनी अन्तराष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरको आजीवन सदस्य, गीतकार संघ नेपालको आजीवन सदस्य, इलाम समाज बेलायतको आजीवन सदस्य र किरात राई कलाकार संघ, बेलायतको आजीवन सदस्य छन् भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बेलायत च्याप्टरको सदस्य रहेका छन् ।

उनका मन पराइएको गीत मिलन नेवारको स्वरमा रहेको बि बि अनुरागीको संगीतको ‘म खेलेको आगँनको फूल’ अनि गायक कुबेर राईको स्वर, चोक गुरुङको संगीत रहेको ‘सुसायो होला सल्लेरी फेरि’ हो । अरु पनि धेरै गीतहरू रेकर्डेड छन् । रेडियोहरूमा बजिरहन्छन् । नयाँ अनलाइन