म बुद्ध हारेको देख्छु

everest kitchen
पुरस्कार  सापकोटा 

कविता : म बुद्ध हारेको देख्छु

पुरस्कार सापकोटा

तपाई धर्म देख्नुस वा बदला !
म त मानवता हराएको देख्छु !!

तपाई पुलिश कुटिएको देख्नुस !
म अनुशासन हराएको देख्छु !!

तपाई आन्दोलनकारी मरेको देख्नुस !
म एउटा आमाले सन्तान गुमाएको देख्छु,
एउटा सन्तानले अभिभाबक गुमाएको देख्छु !!

तपाई अर्को जात देख्नुस,
अर्को धर्म देख्नुस !
म आफु जस्तै जीवन देख्छु !!

तपाई अर्को रंग देख्नुस,
अर्को देश देख्नुस !
म सिंगो पृथ्वी, एक फूलबारी देख्छु !!

तपाई मन्दिर देख्नुस,
मस्जिद देख्नुस,
चर्च देख्नुस !
म मात्र आस्था देख्छु, बिश्वास देख्छु !!

आज भने मुटुको ढुकढुकी, अलि छिटो छिटो चल्दै छ,
ऐना हेर्न लाज लागे जस्तो भै रहेछ,
आफै लाई निराश देख्छु!!

अहमताले जितेको छ आज,
खोइ मानब भित्रको बुद्धत्त्व?
तपाई जितेको देख्नुस !
म बुद्ध हारेको देख्छु,
म बुद्ध हारेको देख्छु !!

हाल : लण्डन, युके