पितृ श्रद्धा : त्रिलोचन ढकाल

लघुकथा : पितृ श्रद्धा

त्रिलोचन ढकाल

“हेलो ! गुरुजी !! आज श्राद्ध गर्ने दिन हो । आई दिनु हुन अनुरोध गर्दछु ।”

“यो कोरोना रजाइँका बेलामा कहाँ आउन मिल्छ र ?”

“सामाजिक दुरी कायम गरेर गरौँला नि गुरु । नहुने भए भर्चुवल नै गरौं ।”

“तपाइँ अरबौं पति हो कि अरबपति हो यजमान ?

“दक्षिणाको निम्ति सोध्नु भयो गुरुजी ?

“होइन । मैले त पेसा बदलि सकेँ । पोल्ट्री फार्म खोलेर पचास हजार कुखुरा पालेको छु । अब पुरानो तरिकाले श्रद्धा गर्ने होइन । जमाना फेरिएको छ । हामी पनि फेरिनु पर्छ ।”

“श्राद्ध त गर्न पर्ने होला नि गुरुजी ?”

“गर्नुपर्छ । तर अरबौँपति छोरा छोरीले एक मुठि चामलको पिण्ड दिएर होइन । सम्पत्तिको कम्ति पनि दश प्रतिशत दान गर्नु पर्छ ।”

“कुरो बुझिएन गुरुजी ।”

“लौ सुन्नुहोस् यजमान । श्रद्धा गर्ने बैज्ञानिक तरिका छन् । तपाइँ अरबौँ पति हो भने पितृको नाममा सेवामुलक अस्पताल निर्माण गरी विपन्न र अशक्तहरूको समेत औषधि उपचार गर्ने व्यवस्था गर्नुहोस् । करोडौं पति हो भने पित्रिका नाममा गरिब अनाथ हरु समेत लाई पढ्ने समाजको स्वामित्वमा रहने गरी विद्यालय खोली दिनुहोस् । करोड पति हो भने उसको भवन वा कोठा निर्माण गरि दिनु वा विद्यार्थी शिक्षक डाक्टर साहित्यकार विद्वानहरुलाई वार्षिक रूपमा सम्मान र पुरस्कृत गर्ने अक्षयकोष स्थापना गरि दिनु । एक पटक स्थापना गरिदिए पछि गया गएर “पिण्डदान” गरे सरह हुन्छ। दशौं हजारको मात्र मालिक हो भने तिथिको दिन दाजुभाइ जम्मा भएर पित्रिको गुणगान गर्नु, उनको योगदानको प्रशंसा गर्नु र श्रद्धान्जली दिनु । होइन हजार पति मात्र हो भने अम्बा केरा सुन्तला घरमा जे फलफूल छ वा छैन भने चकलेट किनेर भए पनि भेटेको मान्छेलाई दान दिनु । श्रद्धा त गच्छे अनुसारको गर्न पर्छ क्या यजमान ।”

“यसरी श्राद्ध गरे पितृले पाउँछन् त गुरुजी ?”

“पाउँछन् । सेवा, सम्मान र पुरस्कारद्वाारा सुशोभित सबैले तपाइँका पित्रिका योगदानको सम्झना गर्छन् र गुणगान गर्छन् । पाउने भनेको यही त हो ।”

“यस्तै गरौँ गुरुजी !”

आनन्दआश्रम फापरथुम
स्याङ्जा
०७७.५.१९