अन्तिम इच्छा : खगेन्द्र बस्याल

खगेन्द्र बस्याल

लघकथा : अन्तिम इच्छा

खगेन्द्र बस्याल

तल्लाघरे माइला बालाई बाहिरबाट हेर्दा कुनै कमी थिएन ।सबै छोराछोरीहरुको राम्रो कमाई थियोे ।सबैले आआफ्ना परिवारलाई सुखसंग पालेकै थिए , तैपनि छोराछोरीबाट निराशै देखिन्थे ।
समय क्रममा उनी थला परे।जहाँ लगे पनि सञ्चो भएन।डाक्टरले उनलाई अब घरमै लगेर उहाँको चाहना अनुसार सेवा गर्न सल्लाह दिए। एम्बुलेन्सबाट घर पुर्याइएपछि त्यहाँ छिमेकीहरुको पनि बाक्लो उपस्थिति रह्यो । देहान्त हुनु अगाडि अन्तिम दर्शनका लागि भनी अाफन्तहरू आइरहेका थिए। आफ्ना बा केही घण्टाभित्र अस्ताउने निश्चित देखेपछि छोराछोरीहरुले सोधे , “बाबा , हजुरको अन्तिम इच्छा के छ ? हामीलाई भन्नू न !
उनले एकपटक सबै छोराछोरीहरुको अनुहारलाई पालैपालो हेरे र ठूलो स्वरमा भने-“बाबुनानीहरु हो ,आफ्नो र आफ्नो परिवारका लागि जो पनि बाँचेकै हुन्छ ।त्यसरी बाँच्नुको कुनै अर्थ रहँदैन ।यसर्थ तिमीहरू पनि समाजका लागि बाँच्ने प्रण देखाअो।यो नैं मेरो अन्तिम इच्छा हो”।
यो सुनिसकेपछि सबै छोराछोरीहरुले हात उठाइ मुठ्ठी कसेर बाबुको इच्छामा साझा सङ्कल्प जाहेर गरेर भने- “अवश्य बाबा, हामीहरु सोही अनुसार बाँच्नेछौँ ।
त्यो सुनिसकेपछि उनलेे फेरि भने-“तिमीहरूको यो सङ्कल्प व्यबहारमा उतारेको देख्न पाए, म अझै पनि केही बर्ष बाँच्ने थिएँ”।
छोराछोरीहरु जवाफ दिन मुख खोल्दै थिए तर सुन्नु अगावै उनले जिब्रो टोके ।