“मोनिका “

दाजु गुरुङ 

” आर यू नेप्लिज ?

” अफ्कोर्स ।

‘ तर तपाईंको टोन नेपाली जस्तो लाग्दैन । ‘

” कसरी लाग्दैन ?

 

लामो हाँसो हाँसेर अलिक सजिलोसँग बस्दै मलाई पनि बस्ने सङ्केत गरिन् । अनि आफू नेपाली नभएर फिलिपिनो भएको स्किार्छिन । यति भनिरहँदा उनको अनुहारको छालहरूमा धेरै उतारचढाव आएको देखें । नजिकैको सागरमा हावाका झोक्काहरूले नयाँनयाँ लहरहरू तरङ्गित भइरहे जसरी । तत्कालै उनको संवादमा प्रतिक्रिया जगाउन मन लागेन । बरु नजिकबाट हेरिरहैं । समयले डामेका धेरै डोबहरू उनको अनुहारभरि छरिएका रहेछन् । निक्कै मेहनत गरेर समय हिँडेका ती डोबहरूलाई लपेट्ने प्रयास प्रस्ट देखिन्छ अनुहारको भूगोलमा । प्रयास राम्रो लाग्छ किन किन ।

 

ठिकठाक अनुहार । सिल्की हेयर स्टाइल | शारीरिक नक्सामा समयले चार दशक नापेर उकाली चढिसकेको छ । सामान्य पहिरन भए पनि मिलाएर लगाएकोले निक्कै आकर्षक देखिन्छ । मुख्य आकर्षण नाकको फुली ।

जो निक्कै मिलाएर लाएकी छिन् । अनुहार निकै खुलेको छ जो नाकफुलीले ।  केवल नेपाली महिलाहरूले मात्र लगाउने गर्छन् यो गहना । हिजोआज  यसको प्रचलन पनि बिस्तारै हराउँदै गइरहेछ ।

 

यो ठाउँमा नेपाली गरगहना लगाएर हिंड्दा टिपिकल नै लाग्छ । के तपाई नेपाली हो भनेर सोध्नुको कारण यही थियो । यसरी नाकमा प्वाल बनाएर गहना लगाउने चलन अन्य समुदायको महिलाहरूमा खासै रुचि भएको देखिदैन । कतैकतै दायाँपट्टि नाकमा टप लगाएको भेटेको छु केवल फेसनको रूपमा । निक्कै ठम्याएर हेरै कतै फेसनको रूपमा लगाएको नक्कली त होइन ? तर प्वाल नै बनाएर साँच्चिकै लगाएकी रहिछिन् । सर्वसाधारण नेपाली महिलाहरूले लगाउने तरिकाले लगाएकी छिन् अन्य गहनाहरू पनि । जोकोही देख्नेले नेपाली नै हो भनेर अड्कल काट्न सक्छन् ।

 

निक्कै रुचि लिएकोमा हेराइको आशय बुझ्न गाहो परेन क्यार । फेरि लामो हाँसो थपिन् । मेरो नाकको फुली देखेर तपाईं झुक्किनुभाको होला ? तपाईं मात्र होइन धेरै जना झुक्किसकेका छन् । कतिपयलाई म नेपाली हुँ भनेर परिचय दिएकी छु । यसरी मैले आफ्नो परिचय दिदै आएको दुई दशक बढी भइसक्यो । अब त केही जस्तो लाग्दैन डिअर जिन्दगी ।

 

थप कौतूहल बढाइदिन्छन् उनका कुराले । चुपचाप सुनिरहन्छु म । बोल्दाबोल्दै रोकिएर लामो श्वास फेरिन् । केही खोजिरहे , पर्खिरहेजस्तो छटपटी नजर डुलाउँदै दुवैतिरबाट च्यापेर साँगुरो बनाइएको सागरको पारिसम्म हेर्न भ्याइन् । समुद्रको साँगुरो गल्छीमाथि सानाठूला पानीजहाजहरू ओहोरदोहोर गरिरहेछन् । हतारमा दौडिरहेका ठूला जहाजहरूले सागरको पानामा कोरेका कृत्रिम पानी धर्साहरू कोरिदैमेटिंदै गरिरहेछन् तर उनको अनुहारमा समयको जहाजले कोरेका धर्साहरू मेटिएका छैनन् बरु थपिंदा छन् ।

 

क्षणिक मौनतालाई सागरको चिसो हावाको झापडले तोडिदिन्छ । सम्झनाको तरेलीबाट ब्यूँझिए जस्तै गरी प्रसङ्ग जोडिन् । खोइ . ! समयले धेरै नेटो काटिसकेछ । यति भनिरहँदा उनको चिसो आवाजमा पराजयको पीडा बल्झिरहेको देख्छु । भित्रभित्रै समयसँग असन्तुष्ट छिन् , जसरी पर समुद्रमाथि जहाजले फाल हान्दै हिँड्दा तरङ्गित छालहरू रिसाउँदै किनारमा आक्रोश पोख्न दौडिरहेछन् । डराउँछु कतै म माथि पनि पोखिने त होइन मोनिकाको रिस यसरी नै ।

 

एउटा साहै नराम्रो बानी छ मेरो । यो बानीले बेलाबेलामा आफै हैरान हुन्छु । कसैसँग बोल्नु पर्यो भने एकोहोरो अनुहारमा हेरिरहने बानी । कोही मान्छे यसरी हेरेको मन नपराउँदा रहेछन् । असजिलो मान्छन् । असभ्य ठान्छन् । तर यसरी आँखामा आँखा दाँजेर कुरा गर्न रमाइलो लाग्छ मलाई । सायद यो बानीले असहजता पुयाएको ठान्छु । तुरुन्त  नजर मोडें दौडिरहेका सामुद्रिक जहाजहरूतिर । मौका छोपेर ब्यागबाट टिस्यू पेपर निकालेर हल्का अनुहार पुछिन् । तर अनुहारमा पसिनाको कुनै नामनिसान देखिनँ । न त वातावरण गर्मी नै छ ।

 

अलिक सहज बन्दै कुराको सिलसिला जोडिन् । विकेनमा यतातिर डुल्न आउनु मात्रै पर्छ एउटा न एउटाले मेरो नाकको फुली देखेर सोधिहाल्छन् । यहाँका मानिसहरूका लागि यस्तो गहना नौलो लाग्दो रहेछ । थाहा छ ब्रदर , यो टप मैले उस बेला काम – तिन भिलेजको नेपाली सुनपसलमा किनेकी हुँ । खोइ अहिले त्यतातिर पाइन्छ पाइँदैन थाहा छैन । बाटामा भेटिनेले नाकको टपलाई राम्ररी हेरेर जान्छन् । कोही नेसनालिटी सोध्छन् । सोध्नेको हिसाब छैन तपाईं नेपाली हो भनेर ।

 

भरखरै मात्र परिचित बनेका हामी तर पुरानो चिनाजान भएझै लगातार जीवन कथा सुनाइरहिछिन् । नयाँनयाँ शब्दावलीले थप कौतूहल बढाइदिन्छ मलाई । नेपाली सुन पसल र काम – तिन शब्दले विगततिर तान्छ । जहाँ अहिले पनि धेरै नेपाली समुदायहरू बसोबास गरिरहेका छन् । अहिले नेपाली सुनपसलको चर्चा सुनिदैन ग्रामीण एरिया भएकोले होला तर औपनिवेशिक कालमा ब्रिटिस आर्मी क्याम्पवरिपरि नेपाली सुनपसलहरू थिए भन्ने सुनेको छु । त्यो ताका पुगेकी रहिछिन् काम – तिन भिलेजमा । नाकफुलीको मात्र चर्चा गरिनन् धेरै नेपाली गरगहना , फरिया , साडीचोलो साथै विभिन्न समुदायका पोसाकहरूबारे बताउन थालिन् ।

 

सारी लगाउने पछ्यौरा कसरी ओढ्ने यावत् कुराहरू सुनाउँदै दसैंतिहार , देउसीभैलोको कथासमेत हालिन् । नेपाली पर्वमा तिहार निक्कै राम्रो लाग्छ । हरेक साल सधैं मनाउने गर्छिन् रे । यो नाकफुलीबारे कतै पीडा कतै खुसी दिएको प्रसङ्ग जोडिरहिन् । एउटी विदेशी महिलाले टुटेफुटेको नेपाली मिसाएर बोलिरहँदा एक प्रकारको मिठो कौतूहल र आनन्द मनभरि जगाइदिन्छ ।

 

कसरी सिकिन् नेपाली भाषा ? कतै नेपाली साथी पो छन् कि ? या विवाह पो गरेकी छिन् ? यस्तैयस्तै प्रश्नहरू मनभरि तेर्सिरहे । मान्छेको भिड बिस्तारै बढ्दै गइरहेछ स्टार – फेरी किनारमा । हामी गफिएको वरिपरि अन्य आगन्तुकहरू थपिँदा छन् । भिड बढ्दै जाँदा असहज लाग्छ गफिन । म्याक डोनान्ड क्याफेमा चिया खाने प्रस्ताव राखें मैले । सुस्मा गाहो मानिन् तर मेरो जिद्दीको अगाडि केही जोर चलेन उनको ।

 

जहिले भिडभाडमा मस्त हुने म्याक डोनान्ड क्याफे सण्डेमा नहुने कुरै भएन । बिहान एक कप सादा लेमन टी खाएर निस्केको म क्याफेमा खाजाको बास्नाले झनै भोक बढाइदिन्छ । छिटोछिटो चिया खाजा जम्मा गरेर कुरो सुन्ने हतारमा छु । लामो क्यू र भिडमा बल्लतल्ल एउटा नामा खाली टेबुल पाउँदा ठूलै रण जितेझै लाग्छ । राहतको श्वास लिन्छु ।

 

त्यो बेला हङकङ नौलो थियो मेरो लागि । भन्दै गइन् । पहिलो कन्ट्राक्टमा काम सुरु गरेको त्यस्तै तिनचार महिना भएको थियो । तिनचार महिनाभन्दा लामो लाग्छ होला तर मेरो लागि थोरै समय हो । कन्ट्रयाक्टमा काम गर्न आउने हेल्परले चौबिसै घण्टा घरभित्र बिताउनु पर्छ , बाहिरी दुनियाँसँग बेखबर जिन्दगी । हप्ताभरि घाम र खुल्ला आकाश देख्न पाइँदैन । बल्लतल्ल एउटा सण्डे आउँछ त्यो पनि तोकिएको समयमा इन आउट ‘ हुनु पर्छ । महिनामा चारपाँच पल्ट मुस्किलले बाहिर निस्कन पाइन्छ ।

 

त्यति फुर्सदमा यहाँको भूगोल कसरी थाहा हुन्छ र ? फेरि पहिलो विदेशमा काम थालनी यात्रा थियो मेरो । स्थानीय भाषाको पटक्कै ज्ञान थिएन । ठाउँ नौलो मान्छे नौलो सम्पूर्ण बस्ती नै नौलो थियो । चिनाजानका साथीहरू खासै थिएनन् । एक्लै घण्टी पार्कमा बसेर बिताउनुपर्थ्यो । कहिलेकाहीँ अन्य घरेलु कामदारहरूसँग भेट भएमा सँगै दिन बिताइन्थ्यो नत्र एक्लै हुन्थें । सुरुको इम्प्लोएर विदेशी नै भएकोले स्थानीय भाषा सिक्ने मौका भएन । घरभित्रको काम भन्नु मात्रै साहै गाहो थियो । निकै ठूला परिवारको घरधन्दादेखि दुईदुई वटा कुकुरहरूसमेत हेर्नु पर्ने । बिहान पाँच बजेदेखि राति बाह्र बजेसम्म खटिरहन्थे । कहिलेकाहीं थाकेर नखाई निदाउँथे । लामो श्वास फेर्दै भनिन् , ‘ ब्रदर , यी आँखाहरूबाट दुःखका गङ्गाहरू कति बगेबगे सीमा छैन । हातगोडाहरूमा चोट लागेका पोलेका डामहरू देखाउँदै भनिन् , ‘ हङकङ डलरले डामेका डोबहरू अर्थात् नमेटिएका चिनोहरू …।

 

‘ यस्तै फेब्रुअरी महिनाको पहिलो हप्ता अर्थात् सण्डेको दिन थियो । सदाम हतारहतार बिहान बाहिर निस्किएँ । बल्लबल्ल बाहिर जान पाइने विकेनमा कत्ति खुसी थिएँ भनेर साध्य छैन । घरको गेट नाघेर आउँदा एउटा ठुलै संसार जितेको खुसीको अनुभव हुन्थ्यो । हप्तामा एक दिन आफ्नो मालिक आफै हुन पाउने केही घण्टाको लागि । पाइलाहरू बाटामा कति हल्का हुन्थे । कतै आकाशमा उडिरहेछु । आँखाबाट अनायास खुसीका आँसुहरू बग्थे । आफै सुक्थे । बिरानो हावासँगै । थाहा छैन यी आँसुहरू खुसीमा झर्छन् या दुःखमा ।

 

हिउँदको पातलो घाम | बिहानी पखमा समुद्रको चिसो हावा चलिरहेको थियो । त्यो सण्डे अरू दिनभन्दा अलिक चाँडै बाहिर आएकी थिएँ कामधन्दा सकेर । बधुवा गाई डोरी छिनालेर दौडिएझै दौडिने गर्थे तर बाहिर आएपछि चिन्ता लाग्थ्यो । कहाँ जाने ? कसलाई भेटिने हो ? खासै चिनेका साथीहरू थिएनन् । भेटिएकाहरूसँग चिनाजान गरेर दिन बिताउनु पर्ने बाध्यता । आज कसलाई भेटिने हो भन्ने एक प्रकारको चिन्ताले पछ्याइरहन्थ्यो ।

 

बाटामा मान्छेको खासै भिड थिएन । सण्डेको दिन मानिसहरू अबेरसम्म रेस्ट गर्ने भएर होला भिड नभएको | घरअगाडिको जेब्राक्रस काटेर सेन्ट्रल फेरीतिर लागें । खासै टाढा नभएकोले पैदलै जाने निधो गरें । ट्रामलाई बाई बाई । बाटो हङकङ सहरको मुख्य रात्रि क्लबहरूको एरिया पर्दथ्यो । रातभरि अनिँदो बसेर होला रात्रिक्लबहरू सुतिरहेका देखिन्थे सुनसान । सेभेन एलाबेन र ओके सर्कल सोपहरूका वरिपरि सानासाना मान्छेका झुण्डहरू देखिन्थे । बाटातिर बियरका बोतल र क्यानहरू रातभरिको रणभूमिमा वीरगति पाएर अलपत्र थिए , निर्मोही हातको फेला परेर । कुल्दैि अगाडि बढ़े छिटोछिटो । केही पर रातभरि बार र डिस्को हल तताएर निद्रा र नशाले लट्ठ परेका मान्छेहरू सडकको वल्लोपल्लो किनार नापिरहेका थिए । नशा उत्रिएपछि अर्को सपना देख्छन् । वास्ता गरिनँ । त्यो मताहा बस्ती छिटो नाघ्न चाहन्थें पाइतालाले ।

 

अगाडिको सानो पार्क क्रस गरिरहँदा मसिनो आवाजले झस्कायो । कुनै लोग्नेमान्छेको अस्वस्थ स्वर सुनेर रोकिएँ । पीडादायी आवाज सुन्छु । यताउता हेरें , देखिनँ । भ्रम ठानेर हिँड्न लाग्दा फेरि आवाज दोहोरियो । फर्केर नियालेर हेरें । केही पर एउटा सानो बुट्यानमुनि लोग्नेमान्छे थरथर काप्दै बेहोसमा बर्बराइरहेको देखें । नजिक गएर हेरें बमिट गरेको रहेछ । लुगा भिजेको थियो । असारमा बाउसे गरेर आएझै जुत्ता हिलाम्मे थिए । आँखा बन्द थिए । केहीबेर रोकिएर हेरें । के गरौंगरौं भयो । यहाँको नियम कानुन थाहा छैन । अहिले जस्तो भए तुरुन्तै पुलिसलाई खबर गरेर एम्बुलेन्स बोलाउँथें । अनभिज्ञ थिएँ त्यो बेला । दया जागेर आयो बिरानो मान्छेप्रति । मन थाम्न सकिनँ । नियम कानुन थाहा नभएर के भो र ? अशक्त बिरामीलाई सहयोग गर्दा कसले रोक्ला र ? एक्लै बिरानी छंदाको पीडा भरखरै भोगिसकेकी थिएँ मैले । मानवताको नाता गाँसें । बोलाउँदै उठाउन खोजें ।

 

त्यस्तो मोटो मान्छेलाई कहाँ उचाल्न सक्नु ? नाडी छामेको हनहनी ज्वरो छ । पानी मागेको सम्झं । भाषा बुझिनँ बोलेको । अड्कल गरेर पानी खुवाइदिएँ । दिनमा खान भनेर व्यागमा बोकेकी थिएँ । अलिअलि आँखा खोलेर एक घुट्को पानी खायो धेरै जिउमा पोखियो । प्यारासिटामोल औषधी थियो मसँग । त्यो पनि बल गरेर खुवाइदिएँ । सजिलो हुने गरी भित्तामा अडेस लगाएर बसाएँ । कहाँ हिँडेकी कहाँ पुग्ने सुर , जानीजानी बिचमा फसे बडो दयावान् बनेर । आँखा चिम्लिएर बर्बराइरहेथ्यो बुझिनँ मैले । यस्तो भाषा पहिले कहिले सुनेकी थिइनँ । धेरै चोटि कहिले मेरा आफ्नै भाषामा , कहिले इङ्गलिसमा बोलाइरहँ । निक्कै बेरमा बल्ल बिस्तारै थोरै आँखा खोलेर सानो स्वरमा बोल्यो निक्कै आत्तिएर । तपाईं को हो ? तपाई को हो ? सोधिरह्यो मलाई नियालेर । अहिले भएको देखेको सबै हाल बताइरहँ ।

 

अलिक सहज भएछ  क्यार आफ्नो बारेमा बताउन थाल्यो । हिजो राति साथीहरूसँग रमाइलो गर्न डिस्को हाउस छिरेको रहेछ । नाच्ने पिउने रमाइलो गर्दागर्दै निक्कै पिएछ । नशा चढ्दै गयो कता हिंड्यो कहाँ पुग्यो थाहै भएन । नशाले झ्याप्प छोपेको बेला डिस्को हलमा चुरोटको धुवाँ र होहल्ला सहन नसकेर बाहिर निस्किएँ । खुल्ला हावामा थोरै राहत मिल्यो । तर नशाले लट्ठ पारिसकेको थियो । खुट्टा ठाउँमा थिएन । बेसुरमा हिँडिरहैं । साथीहरू छुटे छोडेर गए होलान् । बाहिर निस्किएपछि पार्कसम्म आएको अलिअलि थाहा छ । त्यसपछि के भयो होसै रहेन ।

 

साथी बोलाइदेऊ भन्दै धेरैको नाम लियो । सुनिरहँ । बड्बडाइरह्यो ऊ । नशाले घाँटी सुकेर होला पानी खाने मन गर्यो । दिएँ । आँखा नखोली सानो बोतलको पानी रित्त्यायो । बल गरेर खुवाएको पानी र प्यारासिटामोलले काम गर्न थालेको देखें । सजिलो भएछ क्यार बिस्तारै रातिको घटना सम्झीसम्झी भनिरह्यो । ठुलो कुरो पर्स हराएछ । आइडी कार्ड , ड्राइभिङ लाइसेन्स , बैङ्क कार्ड पैसा सबै पर्समा थियो । हरायो । कसरी जाने होला । अफसोस मानिरह्यो घरी घरी ।

‘ बिरामी हुनुहुन्छ तपाईं । ज्वरो आइरहेछ । कहाँ जाने हो ? होम एड्रेस बताउनुस् ? भन्नुहोस् । हेल्प गर्न सक्छु म ?

 

ढिपी गरें । सुरुमा बताउन मान्दै मानेनन् । न्यू टेरिटोरीमा बस्छु । काम – तिन भिलेज । बल्ल भन्यो । खोइ किन गाह्रो लागेको थियो । पर्स हरायो के गर्ने होला ? घडी छैन । खोइ कहाँ खसाएँ कि हराएँ । रिङ थियो त्यो पनि छैन । कसरी जाने ? साथी पर्खन्छु भन्यो । कसले खबर दिने र । काम् – तिन् भिलेजको नाम पहिलोपल्ट सुनेकी थिएँ । कता पर्छ कुनै आइडिया थिएन । न्यू टेराटोरी यो हङकङ आइल्यान्डदेखि केही टाढा भएको अनुमान   गरें । पर्स हरायो पैसा छैन भनिरह्यो तर पैसाको कुरो गर्न गाहो मानिरह्यो मसँग । हिंड्न सक्ने अवस्था थिएन उसको । छोडेर जान पनि सकिनँ । ऊ बारम्बार साथीहरूले छोडेर गए भन्दै आफ्नै भाषामा गाली गरिरहेको जस्तो लाग्यो । अघि नै भनें नि त्यो मान्छेप्रति किनकिन मलाई दया जागेर आयो । आजको दिन यसैलाई स्याहार गर्न जुरेको रहेछ भन्ने सोचें । क्रमशः ..(बाँकी भाग भोलि बिहिवार )

(टाँकीका फुलहरु कथा संग्रहबाट )

बाँकी पढ्न यहाँ किलिक्क गर्नुहोस्