“श्रमिकको पीडा”

नारायण प्रसाद उपाध्याय

लघुकथा : श्रमिकको पीडा

नारायण प्रसाद उपाध्याय

स्थानीय हवाई कम्पनीमा पियनकाे रुपमा काम गर्ने प्रेमनाथ सांझसम्म काममा व्यस्त रह्यो । काेठामा आएपछि बल्ल थाहा पायाे, भाेलिदेखि लकडाउन रहेछ । २ हप्ता मात्र त हाे , त्यसपछि काम शुरु भैहाल्छ भन्दै बस्याे । तर लकडाउन निरन्तर रहिरह्यो ।

एउटै कम्पनीमा काम गर्ने सिनियर सरहरु जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर गाडी रिजर्भ गरि घरतिर लागे । तर उसले निम्नस्तरकाे जागिर र पहुँच नभएकोले न त पासै बनाउन सक्यो , न त लामाे यात्राका लागि महंगोमा गाडी रिजर्भ गरी बालबच्चा र श्रीमती लगेर घर जान नै सक्यो ।
कम्पनीबाट प्राप्त मासिक तलबबाट घरखर्च धान्ने उसले १ महिना त जसाेतसाे काम चलायाे । तर लकडाउन पश्चात कम्पनीले तलब उसको खातामा तलब पठाएन । स्थानीय स्तरमा फाट्टफुट्ट खुल्ने किराना पसलले उधारो दिन छाेड्याे । केहीदिन डेरा वरिपरिका छिमेकी संग सरसापट गरि परिवारकाे भाेक मेटायाे ।

“वडामा राहत बितरण भैरहेको छ । ” छिमेकी दाईबाट थाहा पायो । नागरिकता बाेकि राहत स्थलमा गएर लाईन लाग्यो । उसको पालामा थरीथरीका कुरा गर्ने व्यक्तिहरु अगाडि आए । वडा सचिबले भन्यो, “नाेकरी भएको व्यक्तिले राहत पाउनुहुन्न ” । वडा अध्यक्षले वडामा उसकाे पारिबारिक रिकर्ड नभएको बताए ।

“उ पनि यसै देशकाे नागरिक भएकाले उसकाे चुलाे बल्न पनि राहत पाउनुपर्छ ।” जनस्तरबाट आवाज आयो । उनीहरु राहत दिन तयार भए । राहतकाे नाममा पाईने १ कट्टा चामल , १ पाेका तेल, १ पाेका नुन र ३ के जि दाल, ३ जनाले भाग लगाएर लिनु पर्ने थियो । तर त्यति सामान लिन पनि १० जना संग उभिएर फाेटाे खिच्न ५/७ जना क्यामरा र माेबाइल लिएर उभिएका थिए ।

ऊ राहत हाे कि आहत अनविज्ञ जस्तै बन्यो ।
“५ दिनपछि परिवारलाई के खुवाउने? ” भन्ने अर्को चिन्ता शुरु भैसकेको थियोे । ( धनगढी – १३, कैलाली ।)