“मोनिका” : दाजु गुरुङ

दाजु गुरुङ

….अघि खुवाएको औषधीको केही राम्रो रिजल्ट दियो । ऊ धेरै फ्रेस भयो । नमान्दानमान्दै तानेर ट्याक्सीमा हालें । त्यो बेला निक्कै बलियो थिएँ । त्यत्रो ज्याङ्गो मान्छेलाई उचालेर ट्याक्सीमा राख्दा ड्राइभर पनि छक्क पर्यो । वाह वाह . भन्दै करायो । ट्याक्सीमा राखेर काम – तिनतिर हुइँकियौं । बाटामा जाँदाजाँदै धेरै हलुका भएको कुरो बतायो । नाडी छामैं | ज्वरो पनि केही कम भएछ । तर ट्याक्सीभित्र हिजोको बाँकी सबै ओकल्यो । ड्राइभरले तथानाम गाली गरिरह्यो नपुगुन्जेलसम्म । तिउले..त सयाँ चोटि भन्यो होला । पानी पनि थिएन । ट्याक्सी चालकले दियो । थ्याङ्क यू भनँ । धेरै चोटि माफी मागें उसको तर्फबाट । गाली सही रहँ । ड्राइभरलाई के थाहा हामीबिचको सम्बन्ध ? टिस्यूले पुछपाछ गरेर झ्याल खोलिदिएँ । अन्जान मान्छेको सेवाले आपत् पारिरह्यो , एउटा तितो बाध्यता ।

काम – तिन भिलेज निक्कै टाढा रहेछ । योबिचमा परिचय बतायो उसले । अघिसम्म भन्न गाहो मानिरहेको थियो । नेसनालिटी नेपाली । ब्रिटिस आर्मीको जागिरे । सुरेश गुरुङ नाम र घर पोखरा नेपाल | हिजो डिउटी सकेर साथीहरूसँग डिस्को हिँडेको रहेछ । त्यो बेला भनेका कुराहरू अझै मलाई याद छ । सिटमा लागेको बमिटिङको फोहोर स्कार्फले फुछिदिएँ । रक्सी बमिटिङको अमिलो ह्वासह्वासती गनाउने गन्धले असह्य बनाउँछ । बमिट हुन्थ्यो होला अझै ढिलो भएको भए । काम – तिन भिलेज पुगेर निक्कै खुसी भयो । थ्याङ्कस बोलिरह्यो ।

ट्याक्सी बाहिर खुल्ला हावामा आउँदा राहत पाएसरह भयो । अलिक ढिलो भए बमिट गर्ने लिस्टमा थिएँ म । परिनँ । ‘ थ्याङक्स् गड पुकारें । एउटा सानो रेस्टुरेन्टमा पस्यौं । हतारहतार पानी किनेर उसलाई मुख कुल्ला गर्न दिएँ । आफैंलाई सफा गर । निकै भोकाएको पनि रहेछ । खानेकुरा अर्डर गरेर सँगै खायौं । सहयोगमा बारम्बार थ्याङ्क यू भनिरह्यो । जे जति खर्च भयो आउँदो हप्ता दिनेछु । प्रोमिस गयो । केहीबेर कुराकानीपछि आर्मी क्याम्पभित्र छिन्यो । एक्लै फर्किएँ रित्तो मन बोकेर । हिँड्ने बेलामा सम्पर्क नम्बर दियो मैले दिन सकिनँ । मसँग मेरो इम्प्लाएरको ल्यान्ड लाइनबाहेक अरू नम्बर थिएन । अनि मोबाइल नेट सुविधा थिएन त्यो बेला ।

पछिका दिनहरूले जिन्दगीमा ठूलो हलचल ल्याइदियो । के सोचेकी थिएँ के भयो । सोचेको जस्तो कहाँ हुँदो रहेछ र जिन्दगी ! एक हप्तापछि मलाई खोज्दै भेट्न आयो सुरेश | लामालामा कुराकानी गयौँ । सँगै लन्च खायौँ । दिनभरि घुमेर आफ्नो आफ्नो बाटो लाग्यौँ । त्यो बेला हङकङमा एक्ली थिएँ । मेरो लागि साथी मात्रै होइन साहारा बनेर आएको सम्झन थालें । हरेक हप्ता भेट्न थाल्यौँ हामी । भेट्दाभेट्दै भावनाहरू साटासाट भइसकेको पत्तै भएन । अविवाहित थिएँ , जवान थिएँ म । ऊ पनि जवान थियो , अविवाहित बताउँथ्यो । हरेक हप्ता नयाँनयाँ ठाउँहरू घुम्न जान्थ्यौँ । मौकामा फोनवार्ता हुन्थ्यो । “ आहा ! ती दिनहरू कति रमाइलो अनि सुन्दर थिए । अझै आँखाका डिलहरूमा बसिरहेछन् । ” बोल्दाबोल्दै बिचबिचमा आँखा चिम्लिएर हराउँथिन कहाँकहाँ । चुपचाप सुनिदिन्छु म बिनाप्रतिवाद ।

यसरी लगातार भेट भइरहँदा धेरै नजिक भइसकेको कुरो अघि पनि भनें । एक दिन यही स्टार फेरीमा विवाहको प्रस्ताव राख्यो उसले । प्रेममा परिसकेकी थिएँ म । नाइँ भन्ने प्रश्नै थिएन । खुसीखुसी हुन्छ भनें । त्यो रात खुसीले निदाउन सकिनँ । हजारौं सपनाहरू इन्द्रेणीमैं आँखामा खेलिरहे । हप्ता दिन बिताउन वर्ष बिताएको सम्झे । अर्को हप्ता कोलोन चर्चमा विवाह गयौँ । विवाहपछि चिम – सा – चुईको हिन्दु टेम्पल र सातिनको थाउसेन्ड बुद्ध टेम्पल पनि घुमायो । जिन्दगीको अर्को परिच्छेद सुरु भयो यहाँदेखि । यो मोनिका त्यो दिनदेखि श्रीमती मोनिका गुरुङ अर्थात नेपाली भई । ई हेर त ब्रदर ! त्यो बेला सुरेशले लगाइदिएको औंठी अझै जस्ताको तस्तै छ | सण्डेको दिन लगाइदिएको थियो आज पनि सण्डे हो । किन किन यहाँदेखि सण्डे विशेष लाग्छ । थाहा छ यो औंठी केवल सण्डेको दिनमा मात्र लगाउने गरेकी छु । विर्सन नसकेको रहमा ।

एउटा पुरानो मोडलको चम्किलो औंठी उनको हातका औंलाहरूको माझमा केवल औंठी मात्र चम्किरहेछ । समयले डामेका डोबहरू झन् फराकिलो देखें । राम्रो लाग्यो । तर यसो भनिरहँदा उनको अनुहारमा चमकता देखिनँ । देखें औंठीको चमकतामा । छिनछिनमा अनुहारका रङ्गहरू बदलिरहन्छन् ।फमन चसक्क हुन्छ मेरो । एउटा मिठो सपना समयको धारले रेटेर फुटाउँदो रहेछ मतलबमा मतलबी मान्छेहरू सिसाको ग्लास जसरी ।

विवाह भएको केही महिनापछि एक दिन सुरेशले छिट्टै नेपाल गएर नेपाली परम्परा र संस्कारअनुरूप फेरि विवाह गर्नुपर्छ भनेको थियो । त्यो कुराले कति खुसी र उत्तेजित भएकी थिएँ म । सीमा थिएन खुसीको । सुरेशप्रति मेरो आस्था विश्वास समुद्रभन्दा चौडा र गहिरो भयो । त्यो नौलो ठाउँ कहाँ होला ! कस्तो होला ! फेरि रहनसहन रीतिथिति संस्कार कस्तो होला ! कहिले जाने होला ? आदि इत्यादि सोचेर पागल हुन्थें । त्यो बेलासम्म मलाई नेपाल कहाँ पर्छ भन्ने थाहा थिएन । एक दिन उसले सेन्ट्रल लाइब्रेरी लगेर विश्वको मानचित्र पल्टाएर नेपालको भूगोल देखायो । इन्डिया र चीनबिच अवस्थित हिमाली भूपरिवेष्टित राष्ट्र रहेछ नेपाल । त्यही बेलादेखि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने थाहा पाएँ । अनि थाहा भयो हामीलाई पढाइएको पाठ्यक्रम त गलत रहेछ ।

छिट्टै नेपाल लैजाने कुराले यति धेरै खुसी थिएँ कसरी भनौँ शब्द नै छैन । विवाहपछिको सम्बन्धले विस्तारित रूप लिन थालिसकेको थियो । छिट्टै कन्ट्राक्टको जिन्दगीबाट उन्मुक्त भएर सँगै बस्ने चाहाना बढ्दै थियो मभित्र | अलगअलग बस्थ्यौँ त्यो बेलासम्म हामी । ऊ काम – तिन भिलेजको आर्मी ब्यारेकमा म हङकङ आइल्यान्डमा इम्पोइलरकहाँ । आमा बन्ने भइसकेकी थिएँ म । एउटी विवाहित नारीलाई आमा बन्ने सौभाग्यले कति खुसी दिन्छ त्यो तपाईंहरू जस्तो पुरुषलाई के थाहा ? म दिनदिनै खुसीले काम गर्दा बाटामा हिँड्दा नाच्दै , गाउँदै , हाँस्दै हिँड्थें पगली जस्तो । नौला ठाउँ , गाउँ , भाषा , संस्कारमा एक्लै रमाउँदै हाँस्दै हिँड्थें । कसले के भन्ला भन्ने वास्ता राखिनँ ।

भविष्यका लामालामा सपनाहरूका तान लगाउँथें । आउने सपना जो मेरो कोखमा दिनप्रतिदिन बढ्दै थियो उसको नाम र भविष्य सोचिरहन्थें । यी हातहरू थाहै नपाई सुमसुम्याउन पुग्थे । एउटी नारीले कति बेला धेरै खुसी पाउँछे भने त्यही बेला थाहा भयो । कल्पना र सपनामा हराइरहँदा इम्प्लोयरको गाली कति खाएँ खाएँ । दिनदिनै बढ्दै गएको नयाँ पाहुनाको बारेमा सोच्ने बेला आइसकेको थियो । त्यो खुसी सधैं सभ बसेर सियर गर्न चाहन्थें । अहिलेको जस्तो हातहातमा मोबाइल थिएन । हेल्परमा काम गर्ने केटी मान्छे खुलेर बोल्ने हिँड्ने मौका थिएन । बोल्न समय . पर्खनु पर्थ्यो । हिँड्न अनुमति लिनु पर्थ्यो । इम्प्लोयरलाई छलेर गोरिल्ला स्टायलबाट कुराकानी गर्नु पर्ने बाध्यता । यही क्रममा एक दिन राति सुरेशले फोन गरेर आमा सिकिस्त बिरामी हुनुहुन्छ भन्ने खबर गयो ।

अचानक घरबिदामा जाँदैछु , छिट्टै फर्कन्छु भन्यो । अनि फर्केपछि छिट्टै नेपाल लैजाने प्रमिस गयो । प्रमिस -टेक कियर डार्लिङ भन्दै छोटो फोनवार्ता टुङ्ग्यायो । दोहोरो कुराकानी गर्ने मौका पाइनँ मैले । थाहा भएन आधा सपना त्यहाँ पोखिएको । चियाको दुई चुस्कीले थोरै सहजता ल्याएँ तर आँखा रसाउन छाडेनन् । टिस्यू पेपरले बिस्तारै पुछिन् । बोल्दाबोल्दै आवाजमा स्वाइको अँगालो थपिन्छ । रोकिन सङ्केट गर्छ । भन्दै गइन् , त्यो रात नसुती बिताएँ । अचानक यस्तो खबरले मनमा शकैशङ्काले प्रशस्त खेल्ने मौका पायो । बिहान उठ्दा टाउको दुखेको थियो । अनिद्राले होला चक्कर चल्यो । जुन बेला मलाई सख्त जरूरत थियो त्यही बेला एक कल फोन गरेर हिँड्दा कतिसम्म पीडा भयो । खोइ के भनौं ? पर्खाइमा रुदै दिँन महिनाहरू बिते । खबर आएन । कहीँकतैबाट खबर आएन । मेरो पाहुना दिनदिनै भित्रभित्र लात हान्ने भइसकेको थियो । यता इम्प्लोयरले मेरो व्यवहारमा आएको परिवर्तनमा शङ्का गर्न थालिसकेका थिए ।

सधैंको जस्तो जाँगर चलाएर काम गर्न मन लाग्दैनथ्यो । मन थाम्न नसकेर एक दिन काम – तिन भिलेज पुगें । आर्मी क्याम्पको चक्कर लगाएँ । बल्लबल्ल सुरेशलाई चिन्ने मान्छे फेला पर्यो । उसको पल्टन ट्रान्सफर भएर यूके गइसकेको बताए । केको आमा बिरामी भएर घर जानु ? सबै बहाना रहेछ । छाँगाबाट खसे । यति चाँडै यति ठूलो धोका कल्पनासम्म पनि गरेकी थिइनँ । लोग्नेमान्छे यति धेरै निर्दयी हुन्छ भन्ने बल्ल भोग । कसरी कति बेला काम – तिन भिलेजबाट घर आएँ थाहा भएन । कताकता बाँच्न गाहो हुन थाल्यो तर बारम्बार पेटमा लात्ती हान्नेको मायाले अनौठो निर्णय गर्न सकिनँ । भोलिपल्ट बोससँग कुरा राखेर कन्ट्र्याक ब्रेक गरी हप्ता नबित्दै फिलिपिन्स फर्के ।
यदि एक्लै त्यही एक्लै त्यही तनावमा झोक्राएर बसिरहेको भए सायद यो बेला यहाँ हुने थिएँ कि थिइनँ । तत्काल हङकङ छोड्नु त्यो बेलाको उचित निर्णय थियो मेरो ।

केहीबेर सुकसुकाइन् मोनिका । असहज लागेछ बोलिनँ । बोल्ने सम्झाउने शब्द थिएन । यति गहिराइमा पुग्ने सोचेको थिइनँ । अनुहारमा चिटचिट पसिना आइरहेको देख्छु । आँखा थोरै राता देखिन्छन् । टिस्यू पेपर बढाउँदा सरी ब्रदर ! इट इज ओके भनेर वासरूम पुगेर आइन् । उनको सुक्कसुँक्क स्वाइको हेक्काले वरिपरि बसेर खाजा खाइरहेकालाई पनि चकित बनाउँछ । असहजता झन् बढ्छ ममा । आँसुका मोटामोटा दानाहरू झरिरहे निर्दोष आँखाबाट | झर्नु ठिकै हो । आँसु झरे मन हलुका हुने विश्वास छ । बेलाबेलामा एक्लै रुने गर्छ म पनि मन हल्का बनाउन । तर रहरमा हुँदैन रहेछ । एक छिन कटक्क दुख्यो मेरो मन ।

” ब्रदर ! सरी ल ! म भावावेशमा आएर केके भनें , रोएँ पनि । यस्तै रहेछ मान्छेको जिन्दगी । बाँचेपछि केके भोग्नु पर्ने , देख्नु पर्ने | नाटक लाग्छ । अभिनय गर्नुपर्ने घाँडो जिन्दगी ।

” अनुहार रातो पारेर लामो श्वास फेरिन् । कुनै प्रश्न गरेर अझै उनको दुखेको घाउ दुखाउन मन लागेन । कुरो बढाउँदै लगिन् । सहमतिमा टाउको हल्लाइदिन्छु । यो नाकको फुली देखेर तपाईंलाई अचम्म लागेको होला । विवाहअगाडि सुरेशले चङकिङ मेन्सन लागेर नेपाली छ्यामासँग मेरो नाक छेड्न लगाएको थियो । त्यहाँदेखि मैले फुली लाउन थालेकी हुँ । सुरुमा कस्तो असजिलो लाग्थ्यो बिस्तारै बानी बस्यो । सजिलो लाग्छ अहिले जिन्दगीसरह । गहिरो चिनारी भएर बसेको छ नाकको फुली मेरो जिन्दगीमा । अनि एउटा अमीट नेपाली नाता भएर ।

‘ मोनिका , आमाबुबाको सामना गर्न सक्नु साहस नै थियो ? ‘ अलिक खुलेको अवस्था महसुस गरेर प्रश्न गरें । फेरि प्रश्नहरूले असजिलो नहोस् चाहन्थें । सहज रूपमा लिइन् । अनुहारमा बिस्तारै चमक भरिन थालेको देख्छु । बगेका आँसुसँगै झरेछन् अघिल्ला संवेगहरू । हाँस्न थालिन् मोनिका पूर्ववत् मोडमा ।

” गर्नु पर्यो नि ? हिम्मत गरेर सामना गर्दा आमाबुबाको न्यानो साथ पाएँ । नयाँ जीवन दिनुभयो मेरो प्यारेन्टस्ले । अनि थाहा पाएँ के हुन् आमाबाबा भन्ने ? टेक्ने धरती र शिर ढाक्ने आकाश | राम्ररी नचिनिएका मानिससँग भावावेशमा गरिएका निर्णयहरू गलत हुन्छन् भनेर सम्झाउनुभयो । छोरी भएर बाँच्न सिकाउनुभयो । दुनियाँसँग लडेर बाँच्ने हौसला दिनुभयो मलाई । शरणमा ईश्वरले क्षमा गर्छन् , आमाबुबा ईश्वर हुन् । मेरो जीवित गड । तर , मैले कुन पाप गरेकी थिएँ र ! पापी जो अरु नै थिए के होइन र !

‘ तपाईंको बच्चा अहिले कहाँ छ ? ‘ ” बच्चा होइन ब्रदर ! छोरो भन्नुस् छोरो । ठूलो भइसक्यो । अहिले मलिना युनिभर्सिटीमा एमबिबिएस् पढ्दै छ । अबको दुई वर्षमा मेरो छोरो डक्टर हुन्छ । छोरालाई डक्टर बनाउने सपना बोकेर आमा हङकङमा जुठो भाँडो माझिरहेछु ।

‘ यति भनिरहँदा बल्ल पुरा हाँसिन् । अनुहारमाथि बादल हट्दै गइरहेछ । पूरा खुल्न सकिरहेको छैन । समय लाग्छ । अझै मनभित्रको पीडा र एउटा चोखो माया अनि कुमारी विश्वासमाथि गरिएको निर्मम घातले जन्माएको घृणाको आँधी थामिन गाहो भइरहेको सम्झन्छु । आँखा भिजिरहेकै छ । पुरा खुल्न सकिरहेको छैन । असहजतालाई चिर्ने प्रयास गरिरहेछु म । कहिले नाकको फुली , कहिले इङ्गेजमेन्टको औंठीको प्रसङ्ग निकाल्दै सुरेशको माया लाग्दैन भनेर सोध्दा झन्डै चिथोरिन् बघेनीले । माया होइन घृणा छ घृणा । जुन नाम मेरो जिन्दगीमा पीडा भएर पछ्याइरहेछ । सुरेश मात्र होइन पुरुष जातिसँग घृणा जन्मिएको छ । भन्छन् मान्छेहरू चोखो माया , –चोखो मायाको नाटक सुन्न पनि सक्तिनँ म । लोग्नेमान्छे देख्दा मात्र भद्र हो मौका नमिलेसम्म । मौका मिल्यो भने बिजुलीको खम्बा देख्नु हुँदैन खुटा उचालेर तुर्याइहाल्छ । आइमाई मान्छे धरती हुन् । जे जे पोखियोस् सहने हिम्मत हुन्छ । जेजे रोपियोस् उम्रन दिने शक्ति हुन्छ ।

मेरा हरेक प्रश्नहरूमा भोटे ताल्चा लगाइरहिन् । प्रश्नमाथि प्रश्न गरेर उनकोफभावनामा ठेस पुयाउने अरू हिम्मत गरिनँ । चुपचाप सुनिरहें । त्यसपछिका समयमा यो विवाह भन्ने शब्द सुन्न सक्दिनँ । अर्को विवाह गरेर जिन्दगीमा फेरि आँधी थप्नु छैन । यसमा बहस नगरौं । मोबाइलमा केही फोटाहरू देखाइन् । सुरेशसँगको विवाहको फोटो । चिनाइन् यै हो त्यो सुरेश | नेपाली भएकोले कतै चिनेको वा देखेको पो हो कि भनेर ठम्म्याइहेरें , चिन्न सकिनँ । दुवै जनाले परम्परागत नेपाली पोसाक लगाएर विवाह गरेका रहेछन् । पक्का गुरुङसेनी देखिन्थिन् फोटामा मोनिका । ‘

नरिसाउनुस् है , म पनि गुरुङ हुँ ! ” दिल खोलेर गललल हाँसिन् । सँगै हाँसिदिन्छु म पनि । कुराकानी निक्कै लामो भइसकेको छ । दुई पल्ट चिया थपिन्छ । वरिपरि कति मान्छे फेरिए थाहा भएन । के मुड चलेर हो फेरि मोबाइलमा फोटो देखाउँदै भनिन् ।

” गुरुङजी , यै हो मेरो छोरो । ” सेतो एप्रोन घाँटीमा स्टेथोस्कोप झुड्याएकी भरखरकी सुन्दर युवतीमा नजर पुग्छ मेरो । तपाईं छोरालाई मात्र छोरा भन्नुहुन्छ । तर यो मेरो छोरो हो छोरो । अरूको छोरोभन्दा के कम छ ? कुनै उत्तर भेटिनँ । बिस्तारै भनें , हो मोनिका तपाईंको छोरो हो । यस्तो छोराको आमालाई मेरो सलाम | फेरि रसाए आँखाहरू । मेरा पनि ।

बसाइ छोट्याउन जस्त्री हुन्छ , समय धेरै चिप्लिसकेको छ । साथी भेट्नु छ ब्रदर , फेरि भेटौंला । बिदा मागेर हतारिदै बाटो लागिन् । तिमी लोग्नेमान्छेहरू सबै उस्तै हुन्छन् । बिजुलीको खम्बा देख्नु हुँदैन , खुट्टा उचालेर तुर्याइहाल्छन् । कानमा गुञ्जिरहेछ अझै पनि । समस्तिकाले हप्ताभरिको सोपिङ लिस्ट बिहान थमाएकी थिइन् । हरायो कि छ गोजी छामे । रहेछ । अल्छी मान्दै कोलोन पार्कको बाटो समात्छु स्टार फेरीदेखि । समाप्त

(टाँकीका फुलहरु कथा संग्रहबाट )