आमाको माया : बिजय ‘बिरानु’ अधिकारी

everest kitchen
.

लघुकथा : आमाको माया

बिजय ‘बिरानु’ अधिकारी

एउटा घना जंगलको छेउमा एउटा मन्दिर थियो। हरेक साँझ त्यस मन्दिरमा भजन-किर्तन हुन्थ्यो। भजन बजेको सुन्नासाथ त्यो जंगल भित्रबाट एउटा सानो मृगको पाठो पनि मन्दिर नजिकै आएर टोलाएर बस्थ्यो।

दिनहुँ त्यसै गरेको देखेर एकदिन त्यो पाठोका साथीहरुले सोधे, “हैन,तँ सँधै आफ्नो ज्यानको माया मारेर त्यहाँ भजन सुन्न जान्छस् । तैंले ती मान्छेहरुले गाएको भजन के बुझ्छस् र, जान्छस् ? हामी त केही बुझ्दैनौँ र जाँन्नौं। ज्यानको खतरा पनि छ। शिकारीले भेट्यो भने? ”

आफ्नो साथीको प्रश्नमा त्यो पाठोले भावुक हुँदै भन्यो ,”साथी, म पनि तिमीहरुले जस्तै मान्छेहरुको भजन केही बुझ्दिँन तर म तिनीहरुले बजाएको त्यो खैंजडी बाजाबाट आएको धुन सुन्न त्यहाँ जान्छु।”

“हैन के भन्छ यो! झन् त्यो धोत्रो खैंजडीको आवाजमा के नै मजा छ र सुन्नलाई ?” ” त्यो खैंजडीको आवाजमा मेरो अामाको माया पाउँछु , म ! “अाश्चर्य मानेर उनीहरूले सोधे,” खैँजडी अनि तेरी अामा, के सम्बन्ध छ र ?” त्यो खैंजडी बनाउन प्रयोग भएको छाला मेरी मृत आमाको हो। ५/६ महिना अघि वहाँले मलाई बचाउन आफूलाई नै शिकारीको हवाला गर्दिनु भएको थियो” ।