लघुकथा : कोरोना भाईरस
जयदेश श्रेष्ठ
हामीलाई बिर्सिसक्यो भन्ठानेको त, चार पाच बर्षपछि शहरबाट आएको छोराको परिवार, घरमा नबसिकन किन यो हाम्रो बारीको पाटामा बस्न थालेको ?
सकिनसकी ८० बर्षको मेरो बुबा, हाम्रो नजिक आउन खोज्नु भयो तर गाउँको वडा अध्यक्षज्यूले बुबालाई रोक्दै भन्नु भयो, “होस् बुबा, यिनीहरुको नजिक नजानू होला । “बुबाले दाहिने हात कानमा गोलो बनाउदै सोध्नु भयो,” किन हँ ? ”
अघिपछि बडादशैमा पनि गाउघर नआउने तपाईका छोरा , अहिले चैते दशैमा सपरिवार आएका छन् । यिनीहरुलाई छुट्टै चौध दिन चैते दशै मनाउन दिनु पर्छ । शहरमा कोरोना भाईरस आएको छ क्या !
बुबाले खुसी हुदै भन्नु भयो , “आहा ! क्या गजबको कोरोना भाईरस आएछ । दशैमा नआएको मेरो छोरा नातीको परिवार अहिले गाउँमा आए । त्यो नाथे कोरोना सधै शहरमा बसी राखोस् ।