रवि, कवि र अनुभवी : चोपनारायण बन्जाडे

चोपनारायण बन्जाडे

लघुकथा : रवि, कवि र अनुभवी

चोपनारायण बन्जाडे

मास्टर्स डिग्री पहिलो बर्षको रुटिन निस्कियो । कान्ति छात्रबासका रुममेट गणेश र राजेन्द्र अब खुब तयारीमा जुट्ने निर्णयमा पुगे । पकाएर खाने समय पनि पढाइमा लगाउने सोचले जाँच नसिद्धिँदासम्म होटलमा खाने । किर्तिपुर नयाँ बजारका होटलमा खाना खान थाले । तर तेस्रोदिनमै राजेन्द्रलाई पेट दुख्ने , रुघा लाग्ने भइहाल्यो । एकदुई दिन पानीको वाफ लिने , भिक्स दल्ने गरेर सन्चो भइहाल्छ कि भन्ने सोचे। तर भएन । अत्यन्तै टाउको दुख्न थाल्यो । किर्तिपुरकै मेडिकलमा औषधि किनेर खाए दुईतीन दिन तर केही सुधार भएन ।

पाँचौं दिन बिर हस्पिटल गएर जचाँऔषधि खान थाले । पेट दुख्ने त ठिक भयो तर टाउको झनै फुट्ला झै दुख्न थाल्यो । बाफलिँदा , भिक्स दल्दा सम्म ठिक भए झैं हुने पछी दुख्न थाल्ने । गल्यो साथी । अब त कमजोरीले रिंगटा पनि लाग्न थाल्यो । सरकारी हस्पिटलको के बिश्वास ? नाम चलेका डाक्टरहरूका प्राइभेट क्लिनिकहरूमा धाउन थाले । डाइटिशियन , कार्डियोलोजिष्ट यहाँसम्म कि साइकियाटिष्टकोमा सम्म पनि गए ।

क्लिनिकल टेस्टमा केही पनि बाँकी राखेनन् । जसरी हुन्छ , चाडैं निको गराउनु थियो। सिटी स्क्यान त के काठमाडौमा भर्खरै प्रवेश भएको एम.आर.आइ. सम्म पनि गराए । खासै कुनै रोग देखिएन । तर साथी झन्झन् कम्जोर हुँदै गयो । ट्वाइलेट जाँदासम्म पनि साथ दिनुपर्ने भयो । एकोहोरो देखिन थाले राजेन्द्र । परीक्षाको तयारी त के सम्हालिनसम्म पनि गार्‍हो भयो । रातदिन झोक्राईरहन्थे उनी ।

“ल हिड एकछिन बाहिर चिया खाएर आउने”, गणेशले भने । दुबैजना गेट बाहिरको चिया पसलमा गए। एकजना टि. यु. कै सहायक स्तरको कर्मचारीको श्रीमतीले आफ्नै क्वाटरबाट चलाएकी थिइन् त्यो पसल । राम्री थिइन् । होस्टेलका केटाहरू उनलाई हेर्न र उनको हातको चिया खान मन पराउँथे । सबैले भाउजू भन्थे । चिया खाईसकेपछि फर्कने क्रममा नजिकैको हेल्थ क्लिनिकमा आँखा पर्यो गणेशको ।

“ल हिँड तिमीलाई जचाँउने” गणेशले भने ।
टि.यु. कम्पाउण्ड रहेको उक्त क्लिनिकमा एच.ए. स्तरको स्वास्थ्यकर्मीले हेर्थे । “तिमी पनि जोक गर्छौ , कहाँकहाँ जचाएर भएन यस्ताले के गर्लान् ?” राजेन्द्रले भने ।
“नि:शुल्क हो , के फरक पर्यो त , कस्तो रहेछ , यहाँ पसिएको पनि छैन “, राजेन्द्रलाई सहमत गराए गणेशले ।
उनलाई जाँचियो। त्यहाँबाट दिइने औषधि दिइयो र केही बाहिरबाट किन्नुपर्ने भनियो ।

पत्यार नलाग्दानलाग्दै पनि उठाए र यसो टहलिँदै पोस्टरहरू हेर्न थाले । त्यतिकैमा प्रवेशद्वार नेर बसेर क्रुस चलाईरहेकी पचासपचपन्न बर्ष उमेरकी नर्सले एक्कासी सोधिन्- “तपाईंले भिक्स राखेको तातोपानीको बाफ अत्ती बढी लिनुहुन्छ हो ? त्यो लिन छोड्नुस् , आफै ठिक हुन्छ ।” “ताल न तुलकी भ्याउती बुढी त्यसै बोल्छे , त्यसैले त अल्लि आराम भएको छ,” मनमनै सोचे , केही बोलेनन् । कोठामा आएपछि कतै त्यहीँ त होइन ? एकदुई दिन परिक्षण गरौं न त भन्ने सोचे र गरे पनि ।

अचम्म नै भयो दुईदिन मै पुरै ठीक भएको महसुस गरे राजेन्द्रले । याद आयो बनारसमा संस्कृत पढेका नेपाली पढाउने गुरुले हिन्दीमा वाचन गरेर नेपालीमा उल्था गरेको कथन- “जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि , जहाँ पुग्दैनन् कवि त्यहाँ पुग्छन् अनुभवी ।”

— सन्धिखर्क-०१, अर्घाखाँची ।