आज मन्त्रीपरिषद बैठक बस्दै, बैठकले घिसिङको निरन्तरता र गौतम बारे निर्णय गर्ने

everest kitchen

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्तिको लागि प्रस्ताव लैजाने तयारी गरेको स्रोतले बताएको छ ।

सोमबारको मन्त्रीपरिषद ब‌ैठकमा घिसिङ संगै बामदेव गौतमको बारेमा पनि निर्णय हुने बताएको छ । यसअघि नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । सोही अनुरुप गौतमलाई सरकारले राष्ट्रियसभामा सिफारिस गर्ने बताएको छ ।

त्यस्तै स्रोतका अनुसार कुलमानलाई पुनः नियुक्ति गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइसकेको छ। प्रचण्ड कुलमानलाई दोहोर्‍याउने पक्षमा रहेको भए पनि प्रधानमन्त्री ओलीले रुची नदेखाएको स्रोतको दाबी छ।
ओलीले सरकारले जस नपाउने र कुलमान एउटा कर्मचारीले मात्रै जस पाउने कसरी हुन्छ भनेर कुलमानको निरन्तरताको लागि अनईच्छुक देखिएको स्रोत बताउँछ ।

नेपाल विद्युत प्राधिकरणका वर्तमान निर्देशक कुलमान घिसिङको कार्यकाल यहि भदौ २८ गते आइतबारबाट सकिएको छ । घिसिङको निरन्तरताको लागि देशबिदेशबाट दबाब अभियान चलिरहेको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न फेसबुक समुहहरु बनाएर तथा व्यक्तिगत रुपमा सरकासंग घिसिङको निरन्तरताको लागि माग गरेका छन् ।

विभिन्न सामाजिक सञ्जालहरुमा घिसिङलाई प्राधिकरणको निरन्तरता दिन माग गर्दै आएका छन् । सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरु देखि कलाकारसम्मले घिसिङको निरन्तरताको माग गरेका छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरको सिफारिसमा घिसिङलाई चारवर्ष अघि नियुक्ति भएका थिए ।

घिसिङ नियुक्ति भएपछि १८ घण्टासम्म लोडसेडिङ हुने अवस्थालाई सुधार गरेर लोडसेडिङको अन्त गरेका थिए । पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहोर्‍याउन जनस्तरबाट सरकारमाथि दबाव रहेको छ ।