“फास्सफुस्स”


लघुकथा : फास्सफुस्स

बैद्यनाथ ठाकुर

एकहप्ता देखि पण्डित राजेश तिवारी आइसियुमा मृत्युसँग जुझी रहेको छन् । गाउँ भरिका मानिसहरु पण्डित तिवारीक‍ो सु-स्वास्थ्यको लागि प्रार्थना गर्दैछन् ।

मंगलु पासवानले भने – हे भगवान , लिनु नै छ भने मेरो प्राण लिनु तर तिवारी बाबालाई स-कुशल पठाइ दिनु । मंगलुको कुरामा सही थप्दै तेतरी तेलिनले भनिन् –
“तिवारी बाबा कति राम्रो मान्छे”। वास्तवमा भन्ने हो भने वहाँ देउता नै हो । गाउँभरिका मानिसहरुलाई विवाह , पासनी , मुण्डण , श्राद्ध , पुजा मात्रै गराउने होइन बरु कसैको केही हराए वा चोरी भएमा कुन दिशामा चोरले लगेछ भने समेत बताउने गर्थे ।

तेतरीको कुरा बीचमै काट्दै मुकेशले भने
“तिवारी बाबाले भनेको आजसम्म कुनै कुरा गलत भएको छैन तर मलाई आश्चर्य लागेको छ यसपाली कसरी तिवारी बाबाको कुरा गलत हुन गयो ? वहाँले सबैलाई भन्नू हुन्थ्यो –
“यो कोरोना फोरोना केहीपनि होइन । यो सबै झुठको हल्ला मात्रै हो । जसलाई मर्न लेखेको छ उसलाई कसैले बचाउन सक्दैन । भगवान भन्दा ठूलो कोही छैन ।”

तर आज तिवारी बाबालाई नै कोरोना लाग्यो । डाक्टरले भनेछ मास्क नलगाएको र साबुन पानीले हात नधोएको तथा बिना काम पुजा गर्न मान्छेहरुको घरमा गएकोले तिवारी बाबालाई कोरोना लागेछ । सबैको कुरा सुनी रहेकी मास्क लगाएकी गीताले दुइमिटर परबाटै भनी – हाम्रो क्याम्पसमा सरले भन्नू हुन्थ्यो “यो संसारमा भगवान छैन । यो त केवल मान्छेको कल्पना मात्रै हो ´ । अहिले वहाँको कुरा एकदमै सही लागि रहेछ मलाई ।”

६ महिना देखि सबै धार्मिक स्थल बन्दछन् । कुनै पण्डित , मौलवी, पादरीले कोरोना खत्तम गर्ने उपाय बताउन सकेका छैनन् बरु वैज्ञानिकहरुलेनै अब चार पाँच महिनामा भ्याक्सिन ल्याउदै छ । त्यसैले तिवारी बाबाले भने जस्तो कोरोना झुठको कुरा होइन । यो भाइरस साँच्चिकै हो । यसले दुनियाँभरमा नौ लाख मानिस मरेका छन् । अझै कोरोना छैन भन्नू महा मुर्खता तथा अन्धविश्वासको पराकाष्ठा हो । हामी सबैले मास्क , सेनिटाइजर तथा सामाजिक दुरी कायम गर्नै पर्छ ।

यतिकैमा तिबारी बाबाको घरबाट जोर जोरले रोएको आवाज आउन थाल्यो । थाहा भयो वहाँ अब रहनु भएन । भगवानको कृपाले वहाँलाई निगाह भएको हो कि कोरोनाको भाइरसले – गाउँलेहरु अझै अलमल मै थिए ।

प्रगति नगर -३,वीरगन्ज
२०७७/०५/२९/०२