एक गजल : कल्पना गैरे

everest kitchen
कल्पना गैरे

राजा रामकाे त्यो राज्यमा कत्ति छल भएन
हरामहरूकाे राज्य कहिल्यै निश्चल भएन
निकास नपाएर फाेहाेरबाट दुर्गन्ध आयाे
जहाँ नेर फाेहाेर थियाे त्यहीँ नेर ढल भएन

कृषिकाे अनुदानले मल व्यापारी माैलायाे
कृषककाे अावाज पु-याउने दलबल भएन
न्यायलयमा सविनय निवेदन चढाएकी थिएँ
मेराे निवेदन उपर त्यँहा कुनै छलफल भएन

जन, धन नाेक्सानकाे हिसाब किताब रहेन
नीति फेरियाे तर नियतमा फेर बदल भएन
जस्ले जे जे बुझ्याे उही उत्तम ठानेर ग-यो
ढुङ्गालाई दूध चढायाे तिर्खाउँदा जल भएन

यसपालि त खेतमा धान पनि पसाउन सकेन
सत्तासिनहरूबाट मलका लागि पहल भएन
वर्तमानले यसरी अलमल बनाएकाे बेला
आउने भविष्यकाे त कुनै अडकल भएन

कल्पना गैरे
शुक्लागण्डकी