नरेन्द्र बोहरा
आदरणीय जनप्रतिनिधि ज्यू तथा सबै राजनीतिक दलका प्रतिनिधिगण । बित्थडचिर गाँउपालिका बझाङ्ग। यहाँहरू सबैमा सादर नमस्कार! ….मानिस जतिसुकै अलग, एकलकाटे, बेवारिसे बनौ भन्दा पनि आफ्नो ठाँउको माया सबैलाई लाग्दो रहेछ। हजुरहरू सँगै बसि गफ बहस गर्न मन थियो तर परिस्थितीले जुर्दैन। फोन गर्छु, हजुरहरूसँग हामीसॅग बोल्ने फुर्सद कहाॅबाट हुनु।
सार्वजनिक मामिलामा चासो राख्ने मन नहुदा नहुदै पनि बाध्य भएर यो खुला पत्र लेख्दैछु । तेस्रो योजना तर्जुमाको पुर्व सन्ध्यामा छौ। हुन त लेख्न हुने हो या होइन थाहा छैन।यसलाई यहाॅहरू सबैले सकारात्मक रूपमा लिईदिनुहोला । यदि गल्ति हुन गएमा क्षमा चाहान्छु। कृपया हजुरहरू सबैबाट सकारात्मक सुझाब र सल्लाहको अपेक्षा गर्दछु।
परिवेश:
आज भन्दा ठिक दुई वर्ष अघि यहि समय थियो, लोकगायक बद्री पंगेनीको एउटा गित नगुञ्जीएको ठाॅउ थिएन, नसुन्ने मन थिएन, नगुनगुनाउने ओठ थिएन । एउटा प्रगतिशिल आस्थावानको हिसाबले म पनि सबैलाई बकालत गर्थे “हामीले सबै हेर्यौ, यसपालीको भोट चाहि सुर्यमा” । लोकतान्त्रिक मुल्य मान्यता, सिद्दान्त र बि. पि. विचार असल भएता पनि काङ्ग्रेस पार्टी भित्रका केहि खराब, असत, सङ्किर्ण र भ्रष्ट पात्रहरूको हैरानीका कारण कम्युनिष्टलाई भोट हाल्न अपिल गरेको दुई बर्ष पुरा हुदैछ ।आज ठिक यहि समयमा जताततै सुन्दै छु फेरी त्यस्तै अर्को गित रमेशराज भट्टराईको “यो नेपाल हो, यहा भ्रष्टाचारको बिरूद्वमा बोल्नै हुदैन”, पशुपति शर्माको “यमराजको शासन , लुट कान्छा लुट” जस्ता शब्दहरू। म टोलाएर मुल्य खोज्दै छु हिजोको त्यो नागरीकसॅग मागेको मतको, ईज्जत खोज्दै छु त्यो अमुल्य भोटको ।
सुन्छु “कम्युनिष्ठ भनेर चुनेका सबै कमाउनिष्ठ परे, जवाफदेही होलान् भन्दा रबाफदेही भए, कामरेड सोचेको दामरेट रहेछन, दल जति सबै दलाल परेछन, कहिले जाला यो तीन बर्ष? कहिले आउला अर्को चुनाव” ? यि शब्द मेरा होईनन् , तिनै भोटरका हुन। यि वाक्यांशले आफैलाई प्रहार गरेको पिडा हुन्छ । सोच्छु, मनन गर्छु, आत्मसमिक्षा गर्छु।
पाॅच बर्षे कार्यकालको सुरूवात मै किन नागरिकमा यति निराशा? किन यति धेरैअसन्तुष्टी? किन यति हैरानी? के यो संघियता जनतालाई घाडो भएकै हो त? के जनप्रतिनिधि नागरीक प्रति बफादार नबनेकै हुन त? आखिर नागरिकले चाहेका के हुन त? हिजोको इमान्दारी भन्ने ओठले किन आज त्यही ब्यक्तिलाई अत्याचारी भन्दैछ हॅ ? सर्बहारा सरकारको वकालत गर्ने छाती किन आज नैराश्यता बाॅड्दैछ? अखबारका पानामा किन प्रत्येक दिन स्थानिय सरकारका कमजोरी छापिदै छन्? संबैधानिक अगं महालेखा परिक्षकको प्रतिवेदनले किन स्थानिय तहको बित्तिय अनुशासन हिन देखाउछ?
स्थानिय तहको चुनाव पछि कम हुने अनुमान गरेको भ्रष्टाचार ट्रान्सपेरेन्सीको रिपोर्टले किन बढेको देखाउछ? किन समाज रूपान्तरण गर्छु भनि लागि परेका जनप्रतिनिधि नै स्वयं जनताको आधारभुत अधिकारको रूपमा रहेको शिक्षा र स्वास्थ्य प्रति नजरअन्दाज गर्दै ब्यापारीकरण गरिरहेका छन? के नेपालमा राजनीति सेवा भन्दा बढी पेशाको रूपमा विकास भएकै हो त? किन जनप्रतिनिधी ज्यू नै स्वयं, भाईभारदार, कार्यकर्ता, बन्धुबान्धव, ज्यूहजुरीया सञ्जाल खडा गरी बिकासको नाममा पर्यावरणीय प्रभावको हेक्का नराखि आफ्नै डोजर टिप्पर आतंक मच्चाई विकास बजेट कुम्ल्याई नवधनाढ्य बनेका खबर मात्र मिडियामा सुनिन्छन ?? उफ्!!
वास्तबिक अवस्था चाहि के??
जनप्रतिनिधि ज्यू,
जागरूक युवा टिम हाम्रो गा.पा.मा छ, यसमा गर्ब छ।यो टिमले यो परिवेशको गरिमा उच्च राख्नु पर्छ। निश्चित रुपमा समस्या छन, चुनौति छन। आफु बदलिन नसक्ने हामी नेपालीको लागि समाज रूपान्तरण गर्न त्यती सहज भने छैन । नागरीकमा बिकास र परिवर्तनको तिर्खा तिव्र छ तर समाज अबुझ, अशिक्षित र पाखण्डी छ, अन्धबिश्वासमा लिप्त छ, गरिबी,अभाव,बेरोजगारी छ,चेतनाको कमी छ, परिवर्तन नरूचाउने यथास्थितिबादी सोच छ। बिभिन्न संघ संस्था र सञ्जालले अधिकार सबैलाई सिकाएका छन तर कर्तब्य र दायित्व सिकाउन बिर्सिएका छन।
समाजबाट इमान, धर्म, सहयोग, सद्भाव, बचन हराएको छ। जनताको बिकासको भोक पुरा गर्न प्रयाप्त पुजी, प्रविधि, स्रोतसाधन छैन, कुनै काम गर्न नि हामीमा ज्ञान, सीप, दक्षता, सक्षमता र तालिम छैन।प्रयाप्त अनुभब छैन, बिकासको लागि पुर्वाधार छैनन, यन्त्र उपकरण छैनन, निकायमा कर्मचारी छैनन । सामुदायको साथ,सहयोग, समन्वय,सहकार्य छैन ।हामी आफु जान्दैनौ, अरूले भनेको मान्दैनौ, अध्ययन अनुसन्धान अन्बेषण गर्दैनौ। थुप्रै कानुनी बाधा र प्रक्रियागत समस्या छन हामीलाई थाहा छ । काम गर्न सोचे जति भने सहज अवश्य छैन।
हामीले के बिरायौ?
अहिले हामी संघियता कार्यान्वयन गर्दै नवनिर्माणको चरणमा छौ। संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ती, सुशासन, बिकास र समृद्धि प्राप्तीको अभियानमा छौ । हामी सबैको मुख र जिब्रोमा यतिबेला झुण्डीएका चार शब्द हुन: लोकतन्त्र, सुशासन, विकास र समृद्धि ।
हरेक ब्यानर, नारा, भाषण र बोली सॅगै यि शब्दहरू जोडिएर आउछन तर निसंकोच भन्नुपर्छ यो सुगा रटाई मात्र हो, केहि जनप्रतिनिधि ज्यूहरुले यि शब्दको अर्थ सम्म पनि बुझ्नु भएको छ जस्तो मलाई लाग्दैन । नजान्नु कुनै कमजोरी होइन तर सिक्न नखोज्नु कमजोरी हो । यि चार वटा शब्द के कति लागु गर्नु भएकोछ यस बारेमा थोरै प्रकाश पार्न चाहन्छु ।
१. लोकतन्त्र:
लोकतन्त्र समाजका हरेक कार्यमा नागरीकको हिस्सेदारी भएको शासन हो । यो जनताले चुनेका प्रतिनिधिले जनता कै बहुत्तर हित, कल्याण र भलाईका लागि काम गर्ने प्रणाली हो। नागरीक संप्रभु हुन भने नेता सेवक हुन । बिना पारिश्रमिक नागरीकको सेवा जनप्रतिनिधीको काम हो । नागरीकले जे खोज्छ त्यो सुन्नु पर्छ, बढि भन्दा बढी सुनुवाई गर्नुपर्छ, समस्याको समाधान खोज्नु पर्छ। नागरीकले सेवाको खोजी गर्दै आउने होईन, जनप्रतिनिधिले सेवा गर्न जाने हो । जनप्रतिनिधी त्यो ठाॅउका जनताको संरक्षक हो। तर हामी भन्दैछौ सबैका कुरा सुनेर साध्य हुदैन। जनताको कुरो सुन्न झर्को मान्छौ, फोन उठाउन समेत हैरानी ठान्छौ।
२. सुशासन:
सुशासन लोकतन्त्रको मुटु हो जसका लागि यि चार वटा अंग अनिवार्य चाहिन्छ। अन्यथा सुशासन भएको मान्न सकिन्न।
क) जनसहभागिता र जबाफदेहिता:
हरेक निर्णय, काम,कारबाहीमा जनताको सार्थक सहभागिताअनिवार्य हुनु पर्छ । हरेक काम जनताद्वारा जनता कै हितमा हुनु पर्छ। जनप्रतिनिधिले भोटर प्रति जवाफदेही हुनु पर्छ।
ख) पारदर्शिता:
जनप्रतिनिधीले भए गरेका काम छ्याङ्ङै नागरीकलाई थाहा गराउनु पारदर्शिता हो। भनिन्छ ” अध्यारोमा अपराध हुन्छ, किटाणु बस्छ”। खुला उज्यालोमा भएका काम बिस्वसनिय हुन्छन । जसरी पारदर्शी सिसाको भाडोमा राखेको अचार मिठो हुन्छ, अपारदर्शी भाॅडोमा कुहिन्छ किरा पर्छ। त्यसरी नै जनप्रतिनिधिले गरेका सबै कामको स्पस्ट थाहा जानकारी सबै नागरीकलाई हुनु असल हुन्छ। तर हाम्रो स्थानिय तहमा भए गरेका निर्णयको जानकारी नागरीकलाई त परै जाओस्, गाॅउ सभामा रहेका वडाअध्यक्ष समेतलाई हुदैन। अनि कसरी सुशासन हुन्छ?
ग) भ्रष्टाचारबिहिनता:
भ्रष्टाचार सबै खाले प्रगतिको धमिरा हो। बिश्वब्यापी रोग हो। सहि चिजको सहि तरीकाले सहि ठाॅउमा सदुपयोग हुनु पर्छ। यसको मुल्याङ्कन हजुरहरू आफैले छातीमा हात राखेर धर्ती मातालाई सम्झेर गर्नु होला।
घ) बिधिको शासन:
नियम कानुन भन्दा माथी कोही नहुने, सबैले समान रूपमा विधि, रिती, थिती, नीति, नियम कानुन पालना गर्नु पर्छ।न्याय निसाब पाउनु पर्छ। तर हाम्रो सबै भन्दा कमजोरी यसैमा छ।
जब सम्म यि चार वटै पक्ष हुदैन तब सम्म सुशासन हुनै सक्दैन।
३. विकास:
हामीअण्डा बेचेर चाउचाउ किन्छौ। सागको मुठा बेचेर बिडीको मुठा किन्छौ। दुध घिउ बेचेर coca, fanta, बियर, रक्सी किन्छौ । बारीको फुल प्रयोग गर्दैनौ,विदेशी काम नलाग्ने प्लास्टिकबाट बनेका खादा र मालामा लाखौ खर्च गरेर चाडपर्व मान्छौ,धुमधाम अतिथी स्वागत सत्कार गर्छौ, माला खादा ओढ्छौ, ओढाउछौ । पैसा अर्को देश पठाउछौ र आफुलाई सभ्य र बिकसित ठान्छौ । के यहि हो त बिकास ? यहि हो त परिवर्तन? अवश्य होईन ।
जनप्रतिनिधी ज्यू, हामीले बुझेको बिकास भनेको बाटो, कुलो, नहर, सडक, ठुला विद्यालय भवन, घर घडेरी र मनग्य आम्दानी जस्ता आर्थिक भौतिक पक्ष मात्र हो। तर वर्तमान समयमा बिकासले संस्कार, बिधि, पद्दति, तौरतरीका, खुसी सन्तुष्टी र बिस्वास लगायत सर्बाङ्गिण पक्षलाई समेट्छ। जुन बढ्नुको सट्टा घटिरहेको छ। आशाको ठाॅउमा निराशा बढ्दै छ।
गाॅउको कृषि उत्पादन शहर ल्याउन कृषि सडक बनायौ, तर बिडम्बना बजारको बन्दा, आलु,प्याज, टमाटर, दाल, बियर, रक्सी, फन्टा, कोक, चाउचाउ , चाउमिनले गाँउ भरिएका छन, यिनैले हाम्रा भान्सा चलेका छन। अर्को हाम्रो शिक्षा प्रणालीको कुरा, हजुरहरूले नि शिक्षा संकाय नै पढ्नु भएको छ। तर तपाई हामीले पढेको सिकेको सिकाई सिद्धान्त, शिक्षण बिधी, शैक्षणिक योजना, दैनिक/बार्षिक पाठ योजना, मुल्याङ्कन पद्दती, पृष्ठपोषण, बालमैत्री व्यवहार, शोध खोज र परियोजना कार्यमा आधारीत सिकाई कुन विद्यालयमा कति कार्यान्वयनमा छन? भन्न सक्नुहुन्छ?
सिकेको कुरा ज्ञान मै सिमित छन्, तालिम तालिम मै सिमित छ, कार्यान्वयन शुन्य छ । दैनिक पाठ योजना बनाएर सिकाउने शिक्षण संस्था गाँउपालिका भित्र कति छन? सुकिला भवन र चिटिक्क कक्षाकोठा हुनु मात्र विकास होईन। त्यसको बुद्दिमतापूर्ण प्रयोग र त्यसबाट आर्जन गरिने प्रतिफल विकास हो ।
अर्को कानुन बनाउने जनप्रतिनिधी ज्यूले दिमागको बिर्को खोलेर बुझ्नु पर्ने महत्वपूर्ण कुरा बिद्यार्थीलाई सम्मान र संस्कार गर्न सिकाउनु पर्छ दुई मत छैन तर राष्ट्रियता सिकाउनु पर्ने बेलामा आफै सहभागि भएर राजनीतिक प्रयोजनको लागि नारा जुलुसमा बालबालिका सहभागी गराउने कार्य बालबालिका बिरूद्दको कसुर हो। एक पटक संबिधान र बालबालिका सम्बन्धी ऐन अध्ययन गर्न अनुरोध गर्दछु । के हाम्रो बिकासको दुरदृष्टि यहि हो त??
४.समृद्धि र सुखी:
अहिले सबैको जिब्रोमा झुण्डिएका शब्द हुन समृद्धि र सुखी । तर यसको अर्थ के त ? जनप्रतिनिधि ज्यू, हाम्रो समाज पूर्ण परनिर्भर छ।खेतिपातीले ६ महिना खान पुग्दैन। सु.प.प्रदेश कै सबै भन्दा बढी खाध्यान्न मात्र नभई मदिरा समेत आयात गर्ने जिल्ला हो बझाङ्ग । प्रकृतिले नै ठगेको छ। भु-धरातल बिषम छ। उत्पादन र उत्पादकत्व कम छ । पहाडको पाखोमा कुनै नागरीकको रु ५०० को उत्पादन हुदैन। खान गाॅस र बस्न बासको चुनौती छ तर स्थानीय सरकारले अवैज्ञानिक रुपमा करको दायरा बढाएर नागरीकको अनुहारमा झन निराशा छाएको छ।
म यहि ठाॅउमा बसेकोछु भन्ने पि.क्षे.को सिफारिस गरेको रू२०० भन्दा बढी लाग्छ जसको म्याद केवल तीन महिना हुन्छ। व्यक्तिगत घटना दर्ता गर्न नै कतिपय नागरिकको सामर्थ्य छैन।अनावश्यक करले मारमा परेको गुनासो जनताबाट सुनिन्छ । यसको अर्थ कर तिर्नु पर्दैन भन्ने होइन। राज्यको आम्दानीको प्रमुख स्रोत नै कर हो। हरेक असल नागरिकले वेलैमा कर तिरी राज्यलाई सहयोग गर्नु पर्छ । तर स्थानिय निकायले यो कर तोक्दा संबिधानले परिकल्पना गरेको प्रगतिशिल र वैज्ञानिक आधार हुनु पर्छ। नागरिकको हितलाई ध्यान राखि आधारभुत सेवा निशुल्क र बाँकी सेवामा न्यायोचित कर लगाउनु पर्दछ ।
कतिपयको वारी बाँझै छ तर एक थरी युवा हलो समात्न लाज मान्छन । कपाल हल्लाउदै रक पहिरनमा शरीर नझुकाई बरालीरहन्छन । दिनचर्या क्याराम, तास र चुरोटमा बिताउछन। खाध्यान्न, तरकारी, कपडा,श्रृङ्गार, मोबायल आयातित छन। भिआर पल्सर चढ्छन्, रक्सीको गन्ध र चुरोटको धुवासँग गफ उडाउछन। काम आउदैन, श्रम आउदैन, बहस आउछ।
अर्को थरी युवा रगत, पसिना र श्रम जो गधाले भन्दा बढिनै गरि खाडीमा जोखिम र अप्ठ्यारो काममा श्रम बेचिरहेका छन। तेस्रो थरी युवा जो खेतबारी बेचेर, पारिवारिक माया मोह त्यागेर, ज्यानको प्रवाह नगरी आँखाको पानी सुकाएर एक भन्दा बढी बिधामा बिशिष्ट शिक्षा आर्जन गर्छन, आफ्नै गाँउठाँउमा सिकेको कुरा बाड्छु, सेवा गर्छु भनि गाॅउ फर्कन्छन। जसका अमुल्य सर्टिफिकेट बलत्कृत हुन्छन् ! निशब्द निरिह हुदै गाॅउ छोडि उत्कृष्ट प्रतिभा पलायन हुन बाध्य हुन्छन । जसको जल्दोबल्दो इतिहास सुनकुडा, देउलेख हुदै बित्थडसम्म जिबित छ।
जनप्रतिनिधी ज्यू, राजनीतिज्ञ ज्यू, नीति निर्माता ज्यू, सभ्य समृद्द समाजका डिजाईनर ज्यू, समाज रूपान्तरणकर्ता ज्यू,…. एक छिन ठण्डा दिमागले सोचौ त ! “धतुरोको खेती गरेर तुलसीको अपेक्षा गर्ने ? भोगटेको खेती गरेर सुन्तला फलेन भन्ने हामी कति बुद्धिमानी छौ?? युवा शक्ति, बल र प्रतिभाको संरक्षण नगरी कहि समृद्दि आउदैन । मागेर कोही धनि हुदैन? अर्काको भर परेर कोहि समृद्द हुन सक्दैन, सुखी हुदैन। युवाको श्रम, सीप,शक्ति र प्रतिभाको सहि सदुपयोग नगरी विकास हुदैन । अनि कसरी भईन्छ समृद्द र सुखी?? यस बारे सोच्नु पर्छ।
अब गर्नु पर्ने के?
अझै कार्यकाल तीन बर्ष बाँकी छ। हजुरहरू कुनै पार्टीको प्रतिनिधि भन्दा बढी अहिले जनताको प्रतिनिधी हो । फेरी जनता भनेका झण्डा बोक्ने भन्दा बढि अरू स्वतन्त्र नागरीक हुन। ठिक २ बर्ष अधि नागरीकले दिएको मत सम्झौ, त्यो शुभकामना सम्झौ र अबको ३बर्ष पछि असल कामको लागि हामीले दिन बाॅकी बधाई मनन गरौ । आशा छ यो बर्षका योजना उत्पादनमुखी बनाउने छौ।
बित्थड देखि धारी सम्म ८६.१५ बर्ग किमी भु-भागको सन्तुलित विकास गरौ। झण्डै १८,००० जनसंख्याको समावेशी परिचालन गरौ। कार्यालयहरू विकेन्द्रित रुपमा सबै ठाॅउमा मिलाएर राखौ, एकै ठाउमा ल्याउन नखोजौ । संघियतामा सबै अफिस एकै ठाॅउमा केन्द्रित गर्नु संघियताको मर्म विपरित हुन्छ। दुई छाक खान पुगेकालाई मिठो थप्नु भन्दा भोका नाङ्गालाई दुई छाक खान सक्ने रणनीति तय गरौ किनकी सबै नागरीकको संरक्षक भनेको जनप्रतिनिधि नै हो।
आफ्नो घर बनाउनु पूर्व नागरीकको घर बनाऔ, घडेरी जोड्नु पूर्व जनताको चुहिने छानो जोडौ, आफ्नो घरको तला थप्नु भन्दा पहिले जनताको भरोसा र बिस्वास थपौ । बरू प्रशासनिक खर्चमा मितब्ययिता अपनाऔ, भ्रमण, गाडी, सञ्चार, खादा,माला र खाजामा हुने खर्च घटाऔ तर सिफारीस, जन्मदर्ता , मृत्युदर्ता जस्ता आधारभुत सेवा निशुल्क र कम शुल्कमा दिऔ ।
उत्पादनमुलक क्षेत्रमा बजेट छुट्याउ। कृषिलाई आधुनिकिकरण र बिबिधिकरण गरौ ! सिर्जनशिल र रचनात्मक कार्य बढाऔ । आय आर्जनमा जोड दिउ । श्रम गरी खाने संस्कार बसालौ अनि आउछ समृद्दि।
बालबालिकाको लागी उचित शिक्षाको प्रबन्ध गरौ, युवा सामर्थ्यलाई उत्पादनमा लगाऔ, जेष्ठ नागरीक प्रति सम्मान गरौ। समय अनुसार बदलिउ र बदलौ। प्रतिपक्षमा रहेका सबै दलहरूले पनि रचनात्मक सहयोग गरौ, भोली पालो फेरिन सक्छ, हातेमालो गर्दै विकासमा केन्द्रित होऔ। तीन बर्ष पछिको बाटो सोचौ। नागरीक प्रति जवाफदेहि बनौ। स्थानीय सरकारको मुख्य काम नागरीक मैत्री शासन, बिकास र सेवा प्रबाह हो। यसैलाई शिरोपर गरी अधि बढौ। जनताको मुहारमा खुसि ल्याउने काम गरौ। जनताको खुसि नै जनप्रतिनिधीको सफलता हो ।
मदन भण्डारीले परिकल्पना गरेको आफ्नो गाॅउठाॅउ आफै बनाऔ, माओले भने जस्तो सार्बजनिक सम्पतिमा मोलाहिजा नराखौ। बि.पि.ले भने जस्तो देश र समाजको बारेमा अन्यौल पर्दा त्यो ठाॅउको माटो हातमा लिऊ, भत्केको झुपडी हेरौ, आमाको टालेको फरीया र बुवाको फाटेको कुर्कुचा सम्झौ, सोचौ, जे उत्तर आउछ त्यही गरौ।
नोटः कृपया यस सन्देशलाई सकारात्मक सुझावको रुपमा लिईदिनु होला। सभ्य र सुसंस्कृत समाज बनाउनु हामी सबैको नागरीकको उत्तिकै जिम्मेबारी हो । रचनात्मक सल्लाह सुझाब सहित यो सन्देश सबै सॅग पुगोस ।