मुटुको आवाज : भरतकुमार भट्टराई

भरतकुमार भट्टराई

लघुकथा : मुटुको आवाज

भरतकुमार भट्टराई

मोना लन्डनमा बसेर सामाजिक सेवामा समर्पित भएको निकै वर्ष भयो। हरेक आपत्तिमा स्वयं उपस्थित भएर सक्दो सहयोग गर्ने बानी उनको थियो। उनलाई भेट्दा कस्ताकस्ता दु:खकष्ट सहिरहेकाहरू पनि तुरुन्तै फुर्तिला र आराम अनुभव गरेका जस्ता देखिन्थे।

“तपाईंलाई कस्तो छ?” उनी सोध्थिन् पीडितलाई।
“निकै आराम छ हजुर।” पीडितको शान्त स्वर प्रत्युत्तरमा आउँथ्यो। यसबाट उनलाई अपार सुखानुभूति हुन्थ्यो।

यस्तै प्रकारका कल्याणकारी सरसहयोगमा क्रियाशील हुँदाहुँदै मोनालाई एक्कासि रुघाखोकी र श्वासप्रश्वासमा कठिनाइ हुने रोगले च्याप्यो। उनले ९९९ मा टेलिफोन गरिन्। डाक्टरले जाँचेर भन्यो- “तपाईंलाई कोभिड-१९ पोजिटिभ छ। अस्पताल बसेर उपचार गर्नुपर्छ।”

मोनालाई असाध्य गाह्रो भयो सहन। उनी पीडाले चिच्च्याइन्, छटपटाइन्। यस आतुरीमा उनलाई नेपालका बुबाआमाको सम्झना भयो। आमाको एउटा वाक्य स्मृतिमा आयो- “विपत्तिमा धैर्य र साहसले काम गर्नुपर्छ।”
बुबाको उत्साहपूर्ण भनाइ झलझलती भयो- “हेर् छोरी ! हामी वीर बलभद्र कुँवरका सन्तान हौँ। जङ्गबहादुरका बहादुर उत्तराधिकारी हौँ। जस्तै विपत्ति र सकसमा पनि आफूलाई सम्हालेर असल र आँटी नेपाली सन्तान साबित गर्न हर्दम तयार रहनू है !”

उनलाई अब आफूले ढाडस दिएर आपत्तिबाट जोगाउन प्रयास गर्दा तुरुन्तै सकारात्मक परिणाम देखाउने ती सबै पीडितहरूको उत्साहजनक दृश्य आँखासामु नाच्न थालेको अनुभूति भयो।

उनले झन्डै १५ दिनसम्म महाघातक व्याधि कोरोनासँग तीव्र आत्मबलका साथ युद्ध गरिरहिन्। १६ औँ दिनका दिन घर फर्केर सबै आफ्ना साथीहरूलाई एक भिडियोमार्फत् नयाँ सन्देश प्रवाह गर्न तयार भइन्- “साथीहरू ! नआत्तिनोस्। मेरो कुरा ध्यान दिएर सुन्नुस् र आफूलाई बँचाउनुस् …………..”

एकान्तवासकाल
हात्तीबन, ललितपुर, नेपाल