नेपालले खरिद गरेका दुई रेल जनकपुर आइपुगे

everest kitchen
.

सुरेन्द्र महतो /हिमाल टाईम्स

जनकपुर । भारतबाट नेपाल सरकारले खरिद गरेको दुईसेट रेल शुक्रबार दिउँसो जनकपुरमा आइपुगेको छ । रेललाई शुक्रबार जनकपुरधाममै राखिएको छ । रातभर दुबै रेलको परीक्षण गर्ने र शनिबार भारतको जयनगर पठाउने तयारी रेल्वे कम्पनीको तयारी छ ।

दुबै रेललाई सञ्चालनमा नल्याउँदासम्म जयनगरको नेपाल प्लेटर्फममा पार्किङ्ग गरी राखिने छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईका अनुसार १६०० एचपी डेमु रेल २ वटा नेपाल आइपुगेका हुन् । रेलको अगाडि र पछाडि दुईवटा इन्जिन छन् । एउटा रेलमा ५ वटा डिब्बा छन् । एउटा ड्राइभिङ्ग पावर कार, एउटा ड्राइभिङ्ग ट्रेलर कार, २ वटा जेनरल ट्रेलर कार र एउटा एसी ट्रेलर कार छ ।

यो रेल भारतको जयनगरदेखि नेपालको जनकपुर, सीतापुर भंगहा हुँदै बर्दिबाससम्म सञ्चालन गर्न किनिएको हो । तर, हाल जनकपुरदेखि जयनगरसम्म मात्र लिक निर्माण भएको छ । अन्य भागको काम भइरहेको छ । त्यसैले पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालन हुनेछ । पूर्ण गतिमा चलाउने हो भने यो १९ मिनेटको दूरी हो ।

पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ । दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्था देखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालो गिट्टी राख्ने तथा भौतिक संरचाना निर्माणको काम युद्धस्तरमा भइरहेको छ। रेल सेवा सञ्चालनका लागि कर्मचारी भर्ना लिन विभागले आवेदन आह्वान गरिसकेको छ।

रेल तयार भएपनि यसको सञ्चालन बारे भने अझै टुंगो छैन । कम्पनीका अनुसार अबको एक महिना भित्र सञ्चालनमा ल्याउने बताएको छ ।

भारतको जयनगर–जनकपुर तथा जनकपुरदेखि महोत्तरीको बिजुलपुरा हुँदै बर्दिवाससम्म ६९ किलोमिटर पर्छ। जसमध्ये जयनगरदेखि नेपाली सीमा इनरुवासम्म ३ किलोमिटर भारतीय भूमि रहेको छ।लवि.स. १९९४ सालमा जनकपुर–जयनगर रेल सेवा सुरु भएको थियो। अंग्रेजहरुले नेपालबाट काठ ढुवानी गर्न भारतको जयनगरदेखि बिजलपुरासम्म रेल चलाएका थिए।

पछि जनकपुरदेखि जयनगरसम्म मात्र रेल्वे सेवा सीमित भयो। पूर्वी क्षेत्रमा जनताका लागि एक मात्र यातायातको साधनको रुपमा रहेको जनकपुर जयनगर रेल्वे सेवा झण्डै ७ वर्षअघि बन्द भएको थियो। ब्रोडगेज रेल सेवा २०७५ को मंसिरदेखि नै सञ्चालन गर्ने तयारी गरेपनि विभिन्न कारणले अहिलेसम्म सञ्चालन हुन सकेको छैन।