विश्वकै अग्लो टावरमा नेपाली झण्डा झलमलाउने

everest kitchen

काठमाडौं । आज संविधान दिवस सो अवसरमा देश तथा विदेशमा सामान्य कार्यक्रम गरि दिवस मनाउने सरकारको निर्णय रहेको छ । आज असोज ३ गते संविधान दिवसको अवसरमा दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको झण्डा झलमलाउने भएको छ।

युएईका लागि आबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै बुर्ज खलिफामा झण्डा झलमलाउने जानकारी दिएको हो । दुतावासका अनुसार आफूहरुको पहलमा युएई सरकारले शनिबार साँझ ८ बजे संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको जनाएको छ।

गत वर्ष संविधान दिवसको अवसरमा पनि सो भवनमा पहिलाे पटक नेपालको राष्ट्रिय झण्डा झलमलाएको थियो ।बुर्ज खलिफा विश्वकै अग्लो भवन हो । यसअघि अमेरिकाको पेन्टागन टावर र मलेसिया स्थित केएलसीसी पेट्रोनास टावर विश्वकै अग्लो टावर कहलिएका थिए ।

दुवई स्थित यस भवनमा एकछिन मात्रै कुनै पनि विषय वस्तु प्रदर्शन गर्दा लाखौं डलर खर्च गर्नुपर्ने बताएको छ । यधपी दुतावासको पहलमा नि:शुल्क नेपालको राष्ट्रिय झण्डा झलमलाउन लागिएको होकी वा शुल्क तिरेर हो भन्ने बारे खुलाएको छैन ।

उक्त भवनको उचाई ८२९.८ मिटर छ । दुवई शहरको पश्चिमी भागको अरब सागर तटमा निर्मित यो भवन सन् २०१० जनवरी ४ देखि सर्वसाधारणका लागि खुला गरिएको हो। याे भवन १६३ तलाकाे छ । भवन भित्र विभिन्न व्यापारिक गतिविधि देखि मनोरञ्जनात्मक क्रियाकलापहरु समावेश रहेका छन् ।