उद्धार : श्रीओम श्रेष्ठ ‘रोदन’

श्रीओम श्रेष्ठ ‘रोदन’

लघुकथा : उद्धार

श्रीओम श्रेष्ठ ‘रोदन’

भविष्यको उज्यालो सपना देखेर बैकबाट ऋण लिएँ । विदेशमा कमाउने सपना बोकेर मरुभूमि देश पुगेँ । घरमा पठाएको पैसाले बैकबाट लालपूर्जा फिर्ता गर्न सकेको थिइनँ । चीनको कोरोना ससांरभरि फैलियो । काम गर्ने कम्पनी बन्द भयो । बेरोजगार भएँ । दुःखसुखले पेट भर्ने कामसम्म भयो दुई महिना ।

काम नभएपछि कमाइ भएन । कमाइ नभएपछि भोकै बसिरहने कुरा भएन । देश फर्किन खोजेँ । दुतावासमा सम्पर्क गरेँ । बल्ल बल्ल फर्किन पाउने भएँ । त्यो पनि आउँदाभन्दा तीन गुना बढीको टिकट किन्नु पर्ने भयो । ऋणमाथि ऋण नथपे फर्किन नपाउने भएँ । वाध्यताको विकल्प हुँदैन,व्यापार जसले गरेको भए पनि ।

विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको खुशी हुँदै थिएँ । क्वारेन्टाइनको नाममा महङ्गो होटलमा बस्नैपर्ने भयो । होटलबाट निस्केपछि तोकिएकै बसबाट घर जानुपर्ने भयो । महङ्गो प्लेन,होटल र वस चढेर घर पुगेँ । भोलिपल्ट बिहान कोरोनाको स्थिति बुझ्न मन लाग्यो ।

समाचार आउन लागेकोले टेलिभिजन खोलेँ ।
वैदेशिक रोजगार व्यवस्था मन्त्री कोटको बाहुला मिलाउँदै गर्वले भनिरहेका थिए – वैदेशिक रोजगारीमा गएका युवाहरुले देशको अर्थतनत्रमा निकै टेवा पु¥याएको थियो । त्यसैले कोरोनाले सङ्कटमा परेका हजारौँ युवालाई हामीले उद्धार गरेर देशमा फर्काइसकेका छौँ । मन्त्रीले चस्मा मिलाउँदै अझ जोड दिँदै भने – जनताको सरकार भनेको यस्तै बेला चाहिने त हो नि ।
मैले टेलिभिजन फुटाल्न त सकिँन तर बन्द गरिदिएँ ।

७६भदौ २२