नारी : सुशीला सुवेदी पाठक

सुशीला सुवेदी पाठक

लघुकथा : नारी

सुशीला सुवेदी पाठक

“रमा, मेरो फोनको चार्जर खोइ?” यसो लुडो खेलेर टाइमपास गरौ भनेको चार्ज नै सकियो ।” “रमा मेरो दारी काट्ने मेसिन खोइ?” “मेरो कपडा कता छ?खोइ नुहाउनु पर्यो भनेको तौलिया कता छ? मेरो अन्डरवेयर कता राखेकी छौ?” “अामा, होमवर्क सिकाइदिनु न !”

“मेरो टाइ का छ? खोइ , मोजा पनि छैन त स्कुल जान ढिलो भइसक्यो ” मेरो कपाल कोरि दिनु न ढिलो हुन आट्यो”। “रमा मेरो कपडामा आइरन गरिनौ?”छिटो गर। “हन , अहिलेसम्म भात पाकेको छैन ? के गरि बस्छौ हौ बिहान भरि ? छिटो गर।” “ल हेर दालमा नुन नै छैन। हैन , तिम्रो ध्यान कता गयो ? “रमा मेरो रुमाल कता छ? ” “ए रमा, मेरो हेल्मेट ल्याइदेऊ , ल्याइदेऊ । लौ चस्मा पनि छुटेछ, ल्याइदेऊ है।”

रमा हतार हतार राम्रोसँग खाना पनि नखाई जुठो भाडा त्यसै छोडेर अफिस गइन् । सधै जस्तै हाकिम कुर्लिए ,”के हो रमाजी, काम गर्न मन छैन ?सधैं ढिलो ? भोलिदेखि म सहन्न है।ल त्यो रिपोर्ट तयार भयो? देखाउनुहोस् ?”
“सरि सर, मैले हिजो पुरा गर्न सकिँन , घरमा टाइम नै मिलेन । “ल हेर केही कुरामा जिम्मेवारी छैन ।जानुस् , तुरुन्तै तयार गर्नुस् । ”

रमा आफ्नो क्याबिनमा गइन् । रिपोर्ट हाकिमलाई बुझाइन् । अरू काममा भिँडिन् । केही बाँकी काम घरमा गर्छु भनेर फाइल बोकेर साँझ निस्किइन् । बजार हुँदै सब्जि किनेर लखतरान भएर घर पुगिन् । लोग्ने कडकिए, “हैन तिम्रो अफिस भर्खर छुट्टि भयो?बेलामा घर आउनु पर्छ नि।छिटो खाजा बनाऊ । भोक लगेको छ। आज दिउँसो खाजा मीठो भएन। “अामा , भोक लाग्यो खाजा दिनुस् न् ! मेरो ड्रेस पनि धुइ दिनुस् है।”

रमालाइ बल्ल याद आयो, उनले त खाजा खानै बिर्सेकी थिइन् । उनले हतार गर्दै खाजा बनाइन् । सबैले खाए । फेरि हतार गर्दै खाना बनाएर खाइ काम सकेर सुत्न जादा झन्डै १० बजेको थियो ।राति सारा काम सकेर जब काम गर्न बसिन् , श्रीमान् कड्के,”के हो रमा घरलाई अफिस बनाउनु पर्छ?अफिसको काम घरमा नगर भनेको होइन? बत्ती निभाऊ , मलाई निन्द्रा लाग्यो । ´´

काम थन्क्याएर मोबाइल हातमा लिइन् । श्रीमानले रिसाउदै भने,”कति मोबाइल चलाउनु परेको।२४ सै घन्टा मोबाइलमा झुन्डिएर बसेर हुन्छ?”