रुकुम पश्चिम ‘त्रिवेणी गाउँपालिका’ एक सामान्य चिनारी

 

advertise
फोटोमा झुल्नेटा बजार र दहबाङ  धुमडाँडा

विपेन उलङगे

कर्णाली प्रदेश, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका उच्च पहाडी क्षेत्रमा अवस्थित रहेको छ । समुन्द्र सतहबाट ११२५ मि. देखि २६८२ मि. सम्मकाे उचाईमा रहेकाे यस गाउँपालिका साविकका गाविसहरु रूघा, खारा, मुरू, पेउघा र नुवाकोटका केहि भुभाग समेटर पुर्नता: दिएको छ । यस गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्ती “अभियान” हुन भने उपाध्यक्ष निर्मला बिष्ट “खड्का” हुन ।

गाउँपालिका भित्र दश वडाहरु स्थापना गरिएको छ । गाउँपालिको केन्द्र गाउँपालिकाको ६ नम्बर वडा र ३ स्थित राखिएको छ । साविक गाविस रूघा, खारा, मुरूबाट बग्ने खाेलाहरू सिम्रुतु भन्ने स्थानमा पुगेर मिसिने र साे स्थानलाई त्रिवेणी भन्ने गरीइएकाे कारणले यस गाउँपालिकाकाे पनि नाम त्रिवेणी राखिएकाे बताएको छ । गाउँपालिकाको कुल क्षेत्रफल ८५.४९ वर्ग किलाेमिटर र गाउँपालिकाकाे जनसङ्ख्या १९५०४ रहेकाे गाउँपालिकाले उल्लेख गरेको छ ।

त्रिवेणीको भौगोलिक अवस्था

समथर फाँट देखि उच्च पहाडी भुभागको समिश्रण यहाँ देखिन्छ । समुन्द्र सतहबाट ११२५ मि. देखि २६८२ मि. सम्मकाे उचाईमा रहेकाे यस गाउँपालिकाे पुर्वमा राेल्पा जिल्ला ,दक्षिणमा सल्यान र राेल्पा जिल्ला, पश्चिममा रुकुम कै चाैरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका र उत्तरमा रुकुमकै मुसीकाेट नगरपालिका संग सिमाना जोडिएको छ ।

भौगोलिक रुपमा यहाँ धेरै बिबिधता पाइन्छ । त्रिवेणीका केहि थोरै स्थानमा स्थान पेदिखेत, मान्टुरा, मुरुखोला, खारा खोला लगायतमा ससाना फाँटहरु रहेका छन् । त्यस्तै पुर्व र दक्षिण तिर अग्ला विशाल पहाडहरु रहेका छन । गाउँपालिको केन्द्र पनि मध्यम पहाडको बीचमा रहेकाले यहाँबाट रुकुम पश्चिमका अधिकांस भूभाग अवलोकन गर्न सकिन्छ ।

त्रिवेणीको सांस्कृतिक अवस्था

त्रिवेणी बहुसांस्कृतिक परिवेशले भरिपुर्ण छ । यहाँ क्षेत्री, मगर, ठकुरी, दलित, बह्रामणको समुदायहरु मिश्रित रुपमा बसोबास गरिरहेका छन् । समुदाय अनुसार संस्कार, संस्कृतिमा केहि फरक भएपनि यहाँ मिश्रित संस्कार, संस्कृतिको चलन रहेको छ ।

चाडपर्वको रुपमा यहाँ प्राय सबैले दशै, तिहार, माघेसङक्रान्ति, तिज, चैतेदशै विषेश रुपले मनाइन्छ भने पछिल्लोपटक जाति समुदाय र धर्म विशेष पनि मनाउन थालिएको एकाध पाइन्छ । त्रिवेणीमा हिन्दु बहुलता रहेको छ । त्यस्तै यहाँ बौद्ध र ईसाई पनि थोरैमात्रमा रहेको बुझिन्छ ।

यहाँ क्षेत्री , बाहुन, ठकुरीको मृत्यु तथा विवाह बर्तबन्ध, मृत्यु संस्कार एउटै प्रकारको रहेको छ । उनीहरू १३ दिनको मृत्यु संस्कार र विवाह तथा पुजामा बाहुन राखेर संस्कार पुरा गर्छन् भने मगर समुदायमा बाहुनले पुजा पाठ गर्दैनन् भने मृत्यु संस्कार ३ दिनको हुन्छ । त्यस्तै दलित समुदायले पनि मगरको जस्तै संस्कार गर्छन् । यहाँ सम्पूर्ण समुदायले गाउँमा कसैको मृत्यु भयो भने बिना बोलावट मलामी गर्ने चलन छ । मृतकको शव यात्रामा सबै समुदायले दमाह बजाउछन भने आर्थिक अवस्था अनुसार शव यात्राको क्रममा आगाडी पट्टी हिडालिने कपडा (बात) को धेरै थोरै प्रयोग गरिन्छ । त्यही कपडा र केहि नगद रकम दमाह बजाउने दमाईलाई दिने चलन छ । उक्त पकडालाई स्वर्गको बाटोको रुपमा हालिने हुदा सामान्यतय १ सय मिटर देखि ५ सय मिटरसम्म किनेर अगाडि लगाउने चलन रहेको छ । यो अलि खर्चिलो रहेको छ ।

त्रिवेणीको पर्यटन अवस्था

त्रिवेणी गाउँपालिका प्राकृतिक पर्यटकीय सम्भावना रहेको गाउँपालिका हो । त्रिवेणी गाउँपालिका केन्द्र रहेको स्थान आफैमा रमणीय छ । त्यहाँबाट रुकुमका विभिन्न भागहरु अवलोकन गर्न सकिन्छ । त्यस्तै यहाँ जनयुद्धको क्रममा अतिनै चर्चामा रहेको खारा व्यारेक, जनयुद्धकालका संरचनाहरु, विभिन्न धार्मिक तथा सार्वजनिक स्थानहरु : दहबाङ, सुकिदह, राजकोट, नुवाकोट, टोड्को बर्नेटी, कालापोखरा लेक, रोल्पा रुकुमको बीचमा रहेको जिल्लाधुरी लेक आदिलाई लिन सकिन्छ ।

यधपी यहाँ गुरिल्ला ट्रेकिङको सम्भावना भएको र ट्रेकिङ रुटको योजना तय भएपनि काम सुचारु भने भएको छैन । पछिल्लो समय दहबाङ लगायतका स्थानहरुमा मानव निर्मित पार्कहरु स्थापना गरि पर्यटन प्रबर्द्धन गर्नेतर्फ पनि गाउँपालिका लागेको बुझिन्छ । यहाँ दहबाङ , सुकिदह लगायतमा केहि वर्ष पहिले दह भएपनि संरक्षणको अभावमा लोप भएको र यसलाई पुनःस्थापन गर्न सके पर्यटनको राम्रो समभावना को महत्त्व बढ्ने देखिन्छ ।

आर्थिक स्रोत तथा पेसा

यहाँको प्रमुख पेसा भनेको कृषिमा आधारित छ । यहाँ करिब ९० प्रतिशत घरपरिवार कृषि पेसामा संलग्न रहेको मान्न सकिन्छ । पेसा नै कृषि भएपछि आय स्रोतको प्रमुख आधार कृषि नै हो । यधपी यहाँ नगदे बालीको रुपमा अदुवा बाहेक अन्य बाली थोरै छ । त्यस्तै टिमुर, अलैंची, र अन्य जडिबुटी युक्त उत्पादनहरु पनि विकल्पको रुपमा रहेका छन् ।

यहाँ मकै, गहुँ र जौं प्रमुख बालीको रुपमा लगाईन्छ । त्यस्तै सिमी,बोडी, भटमास, कोदो, तोरी पनि प्रमुख बाली कै रुपमा लगाईन्छ । त्रिवेणीका अधिकांस भूभागमा सुन्तला, कागती, मोसम, नास्पति लगायतका मौसमी फलफूल पनि उत्पादन हुने गरेको छ । पछिल्लो समय थप नयाँ फलफूल किवी र रोजमरी मसला लगायतका नयाँ कृषिको सुरुवात पनि गरिएको छ ।

कृषि संगै त्रिवेणीमा वैदेशिक रोजगारमा जानेहरूको पनि उल्लेख्य सङ्ख्या रहेको छ । वैदेशिक रोजगारीको लागि भारत तथा तेस्रो मुलुकमा जानेहरु रहेका छन् । त्यस्तै यहाँ निजी क्षेत्रमा सम्बन्धित र सरकारि क्षेत्रमा सम्बन्धित जागिरेहरु पनि रहेका छन् । पछिल्लो एक दशकको समयमा यहाँ सरकारि जागिर गर्नेहरु बढेका छन् । सरकारि जागिरे जीवनलाई प्रतिस्ठाको रुपमा लिने गरेको पाईन्छ । जागिरको तुलनामा यहाँ व्यवसाय र व्यवसायीक उत्पादनमा लाग्ने युवाहरूमा आकर्षण कम देखिन्छ ।

त्रिवेणीको स्वास्थ, शिक्षा

त्रिवेणीमा पछिल्लो समय स्वास्थ्य तथा शिक्षा क्षेत्रमा केहि विकास भएको छ । स्वास्थको हिसाबले प्रत्येक वडाहरु स्वास्थ्यचौकी पहुँचमा रहेका छन् । त्यस्तै स्थानीय स्तरमा खुलेका केहि क्लिनिकहरु र स्थापनाको चरणमा रहेका ग्रामिण अस्पतालहरु पनि रहेका छन् ।

यस्तै शिक्षण संस्थाको रुपमा केहि प्राविधिक शिक्षण संस्था र बिएड सम्मको अध्यापन हुने एक क्याम्पस तथा शिक्षा तर्फका १० वडा उच्चमाध्यमिक बिद्यालयहरुको प्रत्येक वडामा सहज पहुँच पुगेको पाईन्छ । त्यस्तै शिशुकक्षा देखि प्राथमिक विद्यालयहरु पनि सहज पहुँचमा रहेका छन् ।

राजनीतिक अवस्था

त्रिवेणीको राजनीतिक अवस्था पनि अन्य स्थानमा जस्तै छ । यहाँ कम्युनिस्ट धारणामा विश्वास राख्नेहरु सबैभन्दा धेरै रहेका छन् भने त्यसमध्ये केहि प्रतिशत प्रजातान्त्रिक धारणा राख्नेहरु पनि रहेका छन् । जस्तैः यहाँ नेपाल कम्युनिस्ट पार्टी नेकपा, काङ्ग्रेस, जनता समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी लगायतका अन्य राजनीतिक दलहरूले आफ्नो उपस्थिति बनाएको देखिन्छ ।

गाउँपालिका केन्द्र

त्रिवेणी गाउँपालिका जिल्लाको दक्षिण भेगमा अवस्थित रहेको छ । यस गाउँपालिकाको केन्द्र सल्यान र रोल्पा जिल्लाको सिमाना नजिकै रहेको छ। त्रिवेणी गाउँपालिकाको ६ नम्बर वडा र ३ नम्बर वडाको सीमामा अवस्थित गाउँपालिकाको केन्द्र खारानेटा स्थित बराहटाकुरा आसपासमा रहेको छ ।

गाउँपालिका केन्द्रको लागि स्थानीयले करिब ४५ रोपनी जग्गा दान गरेका छन् । गाउँपालिका केन्द्र फराकिलो डाँडामा रहेकोले यहाँबाट रुकुम पश्चिमका अधिकांस भूभागहरु अवलोकन गर्न सकिन्छ ।

खारा व्यारेक र सिस्ने हिमाल । फोटो : कुलदिप न्यौपाने