हुम्लामा भेटियो हराएको ११ नम्बर सीमास्तम्भ

हुम्ला । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले लामो समयदेखि हराएको भनिएका नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ पत्ता लगाएका छन् ।

लामो समयदेखि हराएको भनिएको ११ नम्बर सीमास्तम्भ गिरीको नेतृत्वमा गएको टोलीले बुधबार नाम्खा गाउँपालिका–६ को टाकुलेमा भेट्टाएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएका छन् । ‘यो स्तम्भ भेटिएपछि अब रेखांकन गर्न सहज हुने भएको छ,’ उनले भने, ‘यसले अहिले चीनले संरचना बनाएको लोलुङजोङ क्षेत्र कतातिर पर्छ भन्ने पनि स्पष्ट पार्नेछ ।’

स्तम्भमा चीनपट्टि १९६२ र नेपालपट्टि २०१९ साल १९६२ लेखिएको छ । पहिलोपटक २०७२ सालमा हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सीमा बैठकमा उक्त स्तम्भबारे एजेण्डा राखेका थिए ।यसअघि नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली लाप्चाबाटै फर्किएको थियो ।

हिजो मात्रै सरकारले हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नपरेको बताएको छ । पछिल्लो समय चीनले नेपाली भूमिमा भवनहरु बनाएको खबर आएका बेला सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन ।

ज्ञवालीका अनुसार यस्तै खबर २०७३ मा पनि आएको थियो । त्यसबेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभागलगायतको संलग्नतामा टोली बनाएको र त्यसले स्थलगत गरेको भन्दै उनले भने, ‘बनेका घरहरु नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमा बनेको पाइएको रहेछ ।’ अहिले त्यही ठाउँमा थप भवन बनेको हो ।

त्यस्तै चीनले पनि नेपालसँग कुनै सीमा विवाद नरहेको जनाएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सियाओलोंगले विज्ञप्ती जारी गर्दै चीनले नेपालसँगको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिरहेको दाबी गरेका छन्।

नेपालका सञ्चारमाध्यमहरुमा हुम्लाको लाप्चास्थित नेपाली भूमिमा ९ वटा भवन चीनले निर्माण गरेको खबर आएसँगै यस्तो प्रतिक्रिया आएको हो।‘चीन र नेपाल मैत्री छिमेकी हुन्। चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको छ’, दूतावासले भनेको छ, ‘सञ्‍चारमाध्यमले उल्लेख गरेका भवनहरू चीन-नेपाल सीमानाको चिनियाँ भूभागतर्फ रहेको प्रमाणित गरिएको छ।’चीनले ती भवन निर्माणको स्थानबारे प्रमाणित गर्न पनि नेपाली पक्षलाई आग्रह गरेको छ। ‘नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्दछ।

चीनले हुम्लाको नाम्खा गाउँपालिकास्थित लाप्चामा ९ वटा भवन निर्माण गरेको खबरपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलि उक्त स्थानमा पुगेको थियो । उक्त टोलिमा सामेल हुम्लाको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु बहादुर तामाङका अनुसार चीनले नाम्खा गाउँपालिका स्थित लाप्चामा ९ वटा भवन निर्माण गरेको छ ।

त्यहा पुगेको नेपाली टोलीलाई चिनियाँ सेनाले माइकिङ गर्दै हट्न दबाब पनि दिएको थियो। हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीलाई चिनियाँ सेनाले उक्त भूभाग आफ्नो नक्सामा कायम रहेको र यहाँबाट नेपाली भूमि एक किलोमिटर पर रहेको जवाफ दिएको बताएको छ।

चीनले पनि सिमा अतिक्रमण गरेको खबर बाहिरेसंगै काठमाडौं स्थित चीनिया राजदुतावास अगाडि नेपाली युवनहरुले स्वतन्त्र रुपमा प्रदर्शन गरेका थिए । गो ब्याक चाईना लेखिएका प्लेकार्ड बोकेर बिरोधमा उत्रेका उनीहरूलाई प्रहरीले तितरबितर पारेको थियो ।