अलविदा प्रेम सेर्मा माङ्जाबुङे दाइ !

everest kitchen

देवेन्द्र सुर्केली

फेसबुकमा एउटा च्याटग्रुप छ, प्रादेशिक कलाकार मञ्च, प्रदेश नं. १ । यस ग्रुपका एडमिन किशोर सुब्बाले मलाई पनि उक्त ग्रुपमा सामेल गराएका छन्, म कलाकार नभए पनि ।

केहिदिन अगाडिदेखि उक्त ग्रुपमा निर्देशक प्रेम सेर्मा माङ्जाबुङ्गेको तस्वीरहरू पोष्टिइन थालेका थिए । सिकिस्त विरामी रहेको तस्वीरहरूले मलाई चिमोट्थ्यो । केही वर्षअगाडि उहाँकै निवास उर्लाबारीमा गएर भेटेको थिएँ, लामो भलाकुसरी गरेको थिएँ र उक्त भलाकुसरीलाई जीवनी लेखमा उतारेर द गोर्खाज साप्ताहिकमा प्रकाशन गरेको थिएँ ।

आज बिहान उही च्याटग्रुपमा सेर्माको निधन भएको खबर आयो । मन वेचैन भयो । केही बिसञ्चो भए पनि एउटा काम सक्नै पर्ने भएकोले अफिस गएको थिएँ, बोल्न मन नलाग्ने, थकितजस्तो भइरहने शरीर थियो मेरो तर साथीहरूको अगाडि सकेसम्म थाम्दै काम गरिरहेँ । गायक/कलाकार कुशल थलङजीसँग सेर्माका कुरा उक्किए ।

हामीले धेरै साथी बनाएका छौं । अब आफै पनि चालिसे ज्यान बनाउन लागेकोले अबको दुई अडाई दशकपछि थलिँदो ज्यानको सोधखोज गर्दै बस्नुपर्ने अवस्था आउन सक्छ तसर्थ धैर्य गर्नुपर्छ भन्ने कुशलजीसँगको वार्तावुँदा नै केही सन्तोषजनक थिए ।

फेसबुकमा श्रद्धाञ्जलीका चाङहरू आउँदै थिए, म भने विस्मृत हुन लागेको कुराहरू सम्झन व्यस्त थिएँ ।

……

विसं. २०५५ सालमा धरानमा याक्थुङ कलाकार संघको गठन भयो । जसमा सुनसरी जिल्लाको तल्लो क्षेत्रको प्रतिनिधिको रूपमा म सदस्य भएँ । उक्त संस्थाले धरानमा केही महत्वपूर्ण काम पनि गरेको थियो जस्तै; येले तङ्बेसम्बन्धि बहस, तङ्सिङ पत्रिकाको प्रकाशन विशेष काम थिए ।

विसं २०५७ सालमा याक्थुङ कलाकार संघको केन्द्रीय वैठक धरानमा बस्यो । वैठकपश्चात वैठकमा आएका पदाधिकारी तथा सदस्यहरूलाई धरानमा रहनेहरूले भाग लगाए । जसमा रमेश सिंगक र गंगा तुम्बाहाम्फेको भागमा प्रेम सेर्मा र कलाकार सानुबाबा सुब्बा परेका थिए । रमेश–गंगाको कोठा नजिक मेरो बसाई भएकोले म पनि रमेश–गंगाकै पाहुना भएँ ।

मेरो गृहगाउँ प्रकाशपुरमा चलचित्र ‘देउमाईको किनारमा’ भव्य रूपमा प्रदर्शन भएको थियो । मनोरञ्जनको साधन चलचित्रमात्रै भएको जमानामा चलचित्रको मसिना कुराहरू पनि याद राखिन्थ्यो । त्यसैगरी त्यसबेलाको भनाईमा ‘अपार सफलता’को ट्याग भिराइन्थ्यो चलेको चलचित्रलाई । चलचित्र ‘सीमारेखा’ एकदमै चर्चित थियो । जसका नायक सानुबाबा सुब्बाले कलिउड नवनायकको अवार्ड पनि थापेका थिए । उसबेला म फुच्चेलाई उहाँहरू भेट्न पाउनु धेरै ठूलो कुरा थियो ।

…..

प्रकाशपुरमा इन्द्रराज गुरुङ, नगेन्द्र राई र म मिलेर केही सिर्जनशील काम गर्न खोज्थ्यौं । स्कुलमा भित्तेपत्रिकाको सम्पादन/प्रकाशन, त्यसैगरी प्रकाशपुर बजारमा बिहानी भित्ते पत्रिकाको सम्पादन प्रकाशन गरेका थियौं ।

हाम्रो तीनजनाको सल्लाहमा प्रकाशपुरमा क्लवस्तरीय नृत्य कार्यक्रम गर्ने योजना बनेको थियो । उसै समयमा मैले प्रेम सेर्मा र सानुबाबा सुब्बालाई प्रकाशपुर आउनको लागि निम्ता दिएँ । उहाँहरूले स्वीकार्नु भयो ।

प्रकाशपुरमा कार्यक्रमको तयारी भइरहेको थियो । साथीहरूलाई मैले कलाकार पाहुना ल्याउने कुरा राख्दा खुशी नै भए । कार्यक्रमको अघिल्लो दिन मेरो धरानमा काम परेकोले धरानको काम सक्दै उर्लाबारी गई उहाँहरूलाई ल्याउने तय भएको थियो । त्यसबेलाको सम्पर्क सुत्र भएको कसै कसैको राखेको टेलिफोन र गाउँमा पिसिओ मात्र थियो । धरानको काममा अलि समय लाग्यो । समय घर्किएकोले म अलि ढिलो उर्लाबारी पुगेँ । उर्लाबारी पुगेर फोन गरेँ, प्रेम सेर्मालाई सम्पर्क गराउने फोन लागेन, सानुबाबाको सम्पर्क फोनमा कल गर्दा ‘दिलसेर दाई’ भनेर निकै चोटी बोलाउँदा उताबाट जवाफ नआएकोले छैन रहेछ । भन्ने खबर आयो । सानुबाबाको घरको नाम दिलसेर रहेछ । कलाकारको नजिकको कुरा थाहा पाउन अहिलेजस्तै पहिले पनि निकै चियोचर्चो हुन्थ्यो ।

रात परिसकेको थियो, म विलखबन्दमा परेँ । एउटा होटलको कमनवेडमा पैसा तिरेर सुतेँ ।

भोलिपल्ट बिहानै प्रेम सेर्माको घर सोध्दैँ गए । एकजना महिलाले चिनेको बताइन् र घर देखाइन् । म उहाँको घर पुग्नु, उहाँ चिटिक्क परेर कतै निस्कनु एकै भएको थियो । मैले हिजो लिन आइपुगेको र फोन सम्पर्क नभएपछि होटलमा बास बस्नुपरेको बेलिविस्तार लगाएँ ।

‘हामी हिजो तयार परेर बसेका थियौं, आउनु भएन । तै म सानुलाई सोध्छु है’ भने सेर्माले । हामी रिक्सा चढेर आइतबारे पुग्यौं । सानुबाबा मलाई देखेर रिसाए, मैले आफ्नो दुर्दशा राखेँ । त्यसपछि सानुबाबा तयार भएर निस्के । हामी इटहरीको बस पक्रेर बढ्यौं ।

इटहरी पुगेपछि नास्ता खायौं । होटल बस्नुपरेकोले गर्दा मेरो गोजीमा पैसा रित्तिसकेछ । तीनजना प्रकाशपुर पुग्न मुस्किल हुने अवस्था आयो । मलाई के गरौं कसो गरौं हुन थाल्यो । अनि इटहरीदेखि झुम्कासम्म जाने, झुम्कामा चिनजानका सिंगक तुम्बालाई माग्ने योजना बनाएँ । अनि झुम्का आउने टेम्पो चढाएँ ।

मेरो अनुहार पढेछन् सेर्माले । अनि कुनामा लगेर भनेँ –तपाईलाई पैसा समस्या पर्यो हो ? मैले नढाँटी हो भने ।
म बुझ्छु यस्तो कुरा, अहिले चलाइराख्नुस् भनेर रूपैया ५०० दिए । मेरो मुहार उज्यालिएर आयो । ट्याम्पुमा बसिसकेको सानुबाबालाई झर्न भनियो, ट्याम्पूड्राइभर कम्ता रिसाएन ।

हामी बसमा चढेर इनरुवा पुग्यौं । इनरुवादेखि १ घण्टाको फरकमा प्रकाशपुर जाने भएकोले पर्खिनुपर्ने भयो । मैले पाहुनाहरूलाई खाना खुवाएँ, किनभने अब मसँग पैसा थियो ।

कार्यक्रम १२ बजेदेखि थियो । कार्यक्रम शुरु हुन अगावै प्रकाशपुर पुग्यौं । तत्कालिन प्रकाशपुर गाविस अध्यक्ष पोषराज भट्टराई हाम्रो कार्यक्रमको प्रमुख अतिथि, सानुबाबा सुब्बालाई प्रमुख निर्णायक, प्रेम सेर्मा र गायक शम्भू गुरुङलाई निर्णायक राखेर कार्यक्रम शुरु ग¥यौं । स्वागत मन्तव्यमा मैले उर्लाबारीमा भोग्नुपरेको कुरा पनि राखिदिएँ ।

प्रकाशपुरभरीका क्लवहरूको वेजोड नृत्य तथा आम प्रकाशपुरबासीको उल्लासमय उपस्थितिमा कार्यक्रम भयो । प्रत्येक क्लवले तीन नृत्य तयार गर्नुपर्ने, पहिलो राउण्डबाट दोश्रो राउण्डमा प्रवेश गर्नेहरू एकै नृत्य देखाएर चित्त बुझाउनपर्ने थियो । तेश्रो चरणमा पुगेका ५ प्रतियोगिबाट विजेताको नामवली घोषणा गर्दा वडा नं. ६ का क्लव उफ्रिदा झण्डै सातै लग्यो । उनीहरूको प्रथम हुने आशा रहेछ । आयोजक हामी सरदर ५० केजी नपुग्ने लुइरेहरू थियौं । को हो आयोजक भन्दा म हो भनेर उभिएँ, लुइरे ज्यानमाथि आइलाग्न सकेनन् । इन्द्रराज गुरुङले त प्रथम पुरस्कार नै लु लानुहोस् भनेर दिन खोजे । गाविस अध्यक्षसमेत वडा नं. ६ कै भएकाले क्लवका युवाहरू औंला ताकेपछि एकशब्द पनि बोलेनन् । तर त्यहाँकै केही बुद्धिजीविहरूले सम्झाएपछि उनीहर मत्थर भए र दोश्रो पुरस्कार थापेर लगे ।

पाहुनाहरूको जिम्मा मलाई नै थियो र मैले मेरो घरमा लिएर गएँ । मेरो टोलभन्दा माथिल्लो टोलको लालुपाते क्लवले तेश्रो पुरस्कार जितेको थियो । पाहुनाहरू मेरो घरमा रहेको थाहा पाएपछि बेलुकी आउने निम्ता गरे । हामी गयौं, क्लवका युवतीहरूले ‘छिटको गुन्यु तिमीले लगाउँदा…’ भनेर सानुबाबालाई च्यालेन्ज गरिहाले, सानुबाबा पनि के कम ? च्यालेन्ज स्वीकारे । झण्डै रातको दुईबजेसम्म नाचगान चल्यो ।

भोलिपल्ट उहाँहरूलाई विदा गरेपछि लामो समयसम्म भेटघाट र सम्पर्क भएन ।

…..

काठमाडौं बसाई हुन थालेपछि फेरि सक्रिय हुन थालियो । तेह्रथुमे याक्थुङ निछाम्सा सजुम (तेह्रथुमे लिम्बू विद्यार्थी मञ्च) हाम्रो सक्रियता देखाउने मञ्च बन्यो । कार्यक्रमको शुरुवातको दिन सभापति बनेको मलाई पछि त संस्थाकै अध्यक्ष बनाइहाले । उक्त संस्थाले पाःलाम पत्रिकाको प्रकाशन र अन्य कार्यक्रम पनि गरिरहन थाल्यो ।

चलचित्र निर्देशक किशोर सुब्बा हामीसँग सम्पर्कमा आए । डीबी आङ्बुङ र मलाई याक्थुङ कलाकार संघले प्रकाशन गर्ने पक्कन्दी पत्रिकाको सम्पादनको जिम्मेवारी दिए । सँगसँगै जोडिए प्रेम सेर्मा पनि । सेर्मा पनि काठमाडौं बस्न थालेका रहेछन् । प्रेम सेर्माले पनि पहिले उर्लाबारीमा प्रकाशन गरिरहेको ‘माङ्गेना’ पत्रिका काठमाडौंबाट निकाल्न शुरु गरेको जसको प्रमुख सहयोगी म बनेँ ।

प्रेम सेर्माले जोडिदिए मलाई दाई खडोस सुनुवारसँग । बानेश्वरमा डिजाइन हाउस खोलेका खडोस दाईबाट मैले कम्प्यूटर डिजाइनमा धेरै नै ज्ञान लिएँ । त्यहीको जागिरे पनि बनेँ, पक्कन्दी, पाःलाम, माङ्गेना मात्र नभएर सुनसरीको तङ्सिङ् पनि त्यहीबाटै डिजाइन गरियो ।

प्रेम सेर्माले देउमाईको किनारमा जस्तो ऐतिहासिक चलचित्र निर्देशन गरेको कारण फेरि पनि त्यस्तै चलचित्र बनाउन चाहन्थे । तर भनेजस्तो भएको थिएन । याक्खा संस्कृतिमा आधारित चलचित्र छालुम्मा निर्देशनको लागि संखुवासभा गएका थिए । चलचित्र छायांकन गरेर फर्किए । तर प्राविधिक कारणले उक्त चलचित्र प्रशोधनमै जान सकेन । फेरि सेर्मा दाई मोरङ फर्केछन् । म पनि मलेसिया पुगिसकेको थिएँ ।

लामो समयसम्म मलेसिया रहँदा प्रेम सेर्मासँग उतिधेरै घुलमिल हुन सकिएन । पछि फेसबुक आएपछि निर्देशक दुर्गा नेम्बाङ जोडिए । दुर्गाबाटै प्रेम सेर्माले अरुणपूर्व लिम्बुवान र लिम्बुवान नामक चलचित्र निर्देशन गरेको खबर दिए । प्रविधिसँग नजिक भइहाल्न नसकेको सेर्माले फेसबुक त खोलेका थिए, तर साथी हुन सकेनौं । मेरो फ्रेण्ड रिक्वेष्ट भने पेन्डिङमै रहिरह्यो ।

प्रेम सेर्मालाई रोगले चाप्न थालिसकेको थियो । बिचमा काठमाडौं उपचारको लागि ल्याइएको थियो । किशोर सुब्बालगायतको टोली सेर्माको उपचारको लागि डटिरहेका थिए । दुर्गा नेम्बाङसँग म पनि केहीखेप पाटन अस्पतालमा भेट्न पुगेको थिएँ ।…..

पूर्व गएको बेला सेर्मालाई घरमै भेट्न पुगेँ ।
चलचित्र देउमाईको किनारमा उनले सानो अध्ययनमा बनाएका होइनन् भन्ने सेर्मासँग रहेको ठेलीबाट थाहा भयो ।

तत्कालिन रत्नकुमार वान्तवाका साथी हुन् हालका समाजवादी पार्टीकी नेतृ सुशिला श्रेष्ठ । उनको वास्तविक कथाको शिलशिला प्रमुख भूमिका रहने भएकोले उनलाई त्यसबेलाको अवस्था पत्रमार्फत सोधिएछ । सुशिलाले प्रेम सेर्मालाई त्यसबेलाको आफ्नो अवस्थाबारे पत्र लेखेको पनि सुरक्षित राखेको राखेका छन् । साथै सञ्जय थापा (प्रदिप नेपाल)द्वारा लिखित देउमाईको किनारमा सिर्जित पात्र प्रभासँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्टिकरण पनि दिएकी छिन् । र, घट्ना भएको समय, त्यसबेला लगाएको कपडा र साथीबारे पनि जनाएकी छन् ।

प्रेम सेर्मालाई सुशिला श्रेष्ठको पत्र
प्रेम सेर्मालाई सुशिला श्रेष्ठको पत्र
त्यसैगरी एक साप्ताहिकमा सुशिला श्रेष्ठले अंशियार स्तम्भमार्फत रत्नकुमार वान्तवाबारे लेखेको, छलफल साप्ताहिकको लेख, २०३६ साल वैशाख १७ गते तत्कालिन नेकपा (माले)ले बान्तवासम्बन्धि ४ पेजको ‘हत्याको बद्ला लिउँ’ भन्ने पर्चाहरू निरन्तर अध्ययन गरेर बनाइएको रहेछ ।

बान्तवा धरानमा पढ्दा साहित्यकार तथा धरानका पूर्व प्रधानपञ्च बम देवानसँगको सम्बन्ध देखाइएको छ । देवानसँग मैले भेट्दा देउमाईको किनार चलचित्रले आफूलाई बेग्लै कथा बनाएर प्रस्तुत गरेर दुःखमनाउ पनि गरेका थिए ।

खैर ! यो कुरा छोडिदिउँ ।

२०१८ साल फागुन ११ गते माङ्जाबुङ १, पाँचथरमा बुबा स्व. फौदराज सेर्मा, आमा मनलक्ष्मी लिंखा (याक्खा)बाट ३ भाई, एक दिदीमा कान्छो छोराको रूपमा जन्मिएका हुन् प्रेम सेर्मा माङ्जाबुङे ।

स्कुलमा सेर्मालाई शेर्पा भनिएकैले स्कुल जान छोड्थे तर शिक्षाको महत्व बुझेका बुबाले अर्को स्कुल पठाएर भएपनि अध्ययनमा जोड दिन्थे । त्यसरी धेरै स्कुल चहार्दै धरानको सदन स्कुलबाट माध्यमिक शिक्षा पूरा गरेका थिए । सेर्मालाई शेर्पा भनेपछि आफ्नो नामको पछाडि ‘माङ्जाबुङे’ फुर्को जोडे । र, यही नामबाट परिचित पनि भए । उनको पुख्र्यौंली थलो पाँचथरको माङ्जाबुङ थियो ।

धरानमा अध्ययन गर्दागर्दै वामपन्थी राजनीतितर्फ उनको झुकाव भइसकेको थियो । संस्कृतिकर्मी मञ्जुलबाट उनी प्रभावित भए । उनका तत्कालिन साथीहरू दिलिप राई र भवानी बराल सांस्कृतिक फाँटबाटै उदाएका हुन् । भवानी बराल राम्रो गितारवादक रहेको पनि सेर्माबाटै जानकारी भयो मलाई ।

तत्कालिन नेता डीपी शर्माबाट पार्टीको सदस्यता लिए । त्यसबेला पार्टीमा छद्म नाम राख्नुपर्ने भएकोले अरुण राखे । छद्म नाम भएकोले ककसले सदस्यता लिए भन्ने कुरा थाहै नहुने, गितार बोक्नु बन्दुक बोक्नु बराबर थियो । विसं २०३७ सालमा काठमाडौं पुगेर साल्ट ट्रेडिङको जागिर पनि खाएका रहेछन् सेर्माले । तर सांस्कृतिककर्मी भइसकेकोले गर्दा उक्त जागिर लामो गएन ।

 

उनी साहित्यप्रेमी थिए । जुनसुकै संस्थामा आवद्ध हुनसाथ त्यसको प्रकाशनमा जोड दिन्थे । विसं २०४७ सालमा राष्ट्रिय जनसांस्कृतिक मञ्च मोरङको सहसचिव भएका सेर्माले संस्कृति मञ्च नामक मुखपत्रको सम्पादन गरे । त्यसैगरी प्रवाह त्रैमासिक पनि सम्पादन गरे । ‘खेलाँची’, प्रवाह, मुन्धुम, फिलिङ्गो, माङगेन्ना, एकलव्य, धारणा, जमर्को, पक्कन्दी, खोजपृष्ठ, नामनोमा, सेर्मा इङघङ आदिको सम्पादन गरे । यतिमात्र नभएर आफ्नो छोरा लोचन सेर्मालाई पनि साहित्य तथा पत्रकारितामा लाग्न प्रेरित गरे । लोचन नवकोपिलाको प्रधानसम्पादक बनेका छन् ।

त्यसैगरी डा. हर्षबहादुर बुढामगरले मगर – रोमन – नेपाली – लिम्बू – अङ्ग्रेजी शब्दकोष सम्पादन गरेका छन् । जसमा लिम्बू भाषाको सहसम्पादनको रुपमा प्रेम सेर्मा रच्चु नेम्बाङ छन् ।

उनले किरात याक्थुङ चुम्लुङको मोरङ जिल्ला सचिव तथा पार्षद, प्रगतिशील लेखक संघको मोरङ जिल्ला सदस्य, राष्ट्रिय जनसांस्कृति मञ्चको जिल्ला सचिव तथा केन्द्रीय सदस्य, याक्थुङ कलाकार संघको केन्द्रीय सदस्य, पूर्वाञ्चल कलाकार संघको सदस्य, नेपाल आदिवासी जनजाति चलचित्र कलाकर्मी समाजको केन्द्रीय सदस्य, लिम्बू पत्रकार संघ मोरङको सल्लाहकार रहेर काम गरिसकेका छन् ।

कला तथा संस्कृतिमा अथक संघर्ष गरेवापत उनले स्व. शान्ति मास्के स्मृति प्रतिष्ठान, ललितपुरबाट सम्मानित तथा किरात याक्थुङ पापोहाङ सेर्मा चन्द्रकुमार लिम्बू प्रतिष्ठानबाट अभिनन्दित भइसकेका छन् ।

वि.सं. २०३८ सालमा इन्द्रकुमारी कुरुम्भङ लिम्बूसँग विवाह गरेका सेर्माको २ छोरा र २ छोरी भएका थिए । एक छोरा खसेको र अर्को छोरा अमेरिकामा । छोरीहरू साइमा र सेम्फुङ सेर्मा उर्लावारीस्थीत घरमै रहेका छन् ।

मगर – रोमन – नेपाली – लिम्बू – अङ्ग्रेजी शब्दकोष
……

सम्झने क्रम लामै भएछ । विशेषतः म काठमाडौंको विजुलीबजार बस्दा सेर्मा पनि नजिक बस्थे । तसर्थ हाम्रो सम्बन्ध पारिवारिक पनि बनेको थियो । र, माङ्जाबुङे दाईको निधनको खबर म यतिसम्म नोष्टाल्जिक बनेको हुँ ।

उनै दाइको पछिल्ला दिनमा दुवै मृगौला काम नलाग्ने भएका थिए । मैले उहाँसँग कुराकानी गरिरहँदा अप्रेशन गर्नुपर्ने, अप्रेशनको लागि चाहिने खर्च र मृगौलादाताको खोजीमा रहेको बताएका थिए । मृगौलारोगी बन्नुभन्दा पहिलो जण्डिसको विरामले थलिएको बेला नेपाल चलचित्र विकास वोर्डले सहयोग गरेर उपचार सम्पन्न भएको थियो । उक्त सहयोगको लागि निर्देशक दुर्गा नेम्बाङको प्रयास स्मरणीय रहेको पनि बताएका थिए । उनको उपचारको लागि नेम्बाङलगायत किशोर सुब्बा, प्रेम पन्दाकहरू लागिपरेका थिए । प्रेम पन्दाक आफै पनि गम्भिर विरामी नै छन् ।

समकालिन मित्रहरु किशोर सुब्बा, सुरज सुब्बा नाल्बोसँग प्रेम सेर्मा
आजदेखि त प्रेम दाइले रोगसँग जुध्न परेन, उपचारको लागि सहयोग खोज्नु परेन । ति सबै कुरालाई माया मारेर अनन्तप्रस्थानमा लागेका छन् । यतिबेला उनको शवलाई मंगलबारे नजिकैको जङ्गलमा राखिँदै होला । काठमाडौंबाट सम्झनाबाहेक केही पठाउन सकिनँ । त्यसैगरी हाल अमेरिकामा रहेका किशोर सुब्बा पनि उसैगरी सम्झिरहेका छन् । अन्य देशविदेशमा रहेका साथी तथा शुभचिन्तकहरू पनि उसैगरी सम्झदै गरेको फेसबुकका भित्ताहरूमा देखिँदैछ ।

अलविदा प्रेम सेर्मा माङ्जाबुङे दाइ ।  (नयाँ अनलाइन /देवेन्द्र सुर्केली)