राजनीतिज्ञ, साहित्यकार त्रिलोचन ढकालको लघुकथा लेखनमा आकर्षण

everest kitchen
त्रिलोचन ढकाल

स्याङ्जा जिल्ला फापरथुम निवासी त्रिलोचन ढकाल नेपाली राजनीतिमा कुनै नौलो नाम होइन । लामो समय नेपाली राजनीतिमा सक्रिय हुँदै २०५१ सालमा संसद सदस्य र २०५५मा एक वर्ष कृषि मन्त्री समेत रहिसक्नु भएका उहाँ नेपाली साहित्यमा पनि उत्तिकै सक्रिय रहदै आउनु भएको छ।

उहाँका झण्डै दुई दर्जन जति कृतिहरू प्रकाशित छन् भने आधा दर्जन पुस्तकहरूको सम्पादन समेत गरिसक्नु भएको छ। विविध बिधामा कलम चलाउने उहाँका थुप्रै लेख रचनाहरू पत्रपत्रिकाहरूमा पनि प्रकाशित भैसकेको पाइन्छ। उमेरले ७० पार गरिसक्नु भएको उहाँ बिगत डेढवर्ष देखि लघुकथा लेखनमा सक्रिय भएको पाइएपछि यसै विषयबस्तुमा केन्द्रित रहेर हिमाल टाईम्स साहित्य विधा प्रमुख राजुु क्षेत्री ‘अपुरो’ले उनै साहित्यकार त्रिलोचन ढकालसंग गरिएको छोटो कुराकानी :

नमस्कार , यहाँको साहित्यिक यात्राबारे छोटो जानकारी गराइदिनुहोस् न !

— मेरो साहित्यिक यात्रा ११ वर्ष कै उमेरदेखि शुरु भएको हो । २०१७ सालमा कविताबाट सुरु भएको साहित्यिक यात्राले २०६५ सालपछि मात्र महत्व पाएको छ । बीचको कालखण्डमा पार्टिका विभिन्न पदमा रहेर काम गर्ने क्रममा मैले लेखन कार्य पनि अगाडि बढाउँदै लगेको थिएँं। साहित्यले गौण महत्व पाए पनि सङ्गत र लेखन भने जारी थियो ।अहिलेसम्म विविध बिधामा २३ कृतिहरू प्रकाशित भएका छन् । दुईवटा प्रकाशोन्मुख छन् । पत्रपत्रिकामा पनि असङ्ख्य लेख रचनाहरू प्रकाशित भएका भैसकेका छन् ।

हालको दिनचर्या कसरी बिताउँदै हुनुहुन्छ

— यति बेला साहित्यिक, सांस्कृतिक, सामाजिक र राजनीतिक अध्ययन र लेखनमा सक्रिय छु ।

लघुकथा लेखनमा के कसरी आकर्षित हुन पुग्नु भयो ?

— सामाजिक सञ्जालमा थुप्रै लघुकथाहरू पढ्ने अवसर मिल्यो। संक्षिप्त रूपमा हिजोको विवरण प्रस्तुत गर्न सकिने, छोटैमा आजको चोटिलो विश्लेषण हुने र केही हरफमा भोलिको मार्गदर्शन हुनेगरी सामाजिक प्रतिबिम्ब उतार्न सकिने भएको हुनाले म लघुकथा लेखनमा आकर्षित भएको छु । लामा लामा रचना पढ्न समय निकाल्न नसकेका आम पाठकहरूको लघुकथाप्रतिको रुचि बढेको हुनाले मैले पनि यो बिधामा कलम चलाउन थालेको हुँ । म डेढ वर्षदेखि लघुकथा लेखनमा सक्रिय रहँदै आइरहेको छु र अब एउटा सङ्ग्रह प्रकाशन गर्ने तयारीमा जुटेको छु ।

यहाँलाई मन परेका लघुकथाकारहरूको नाम लिनुपर्दा को कसको नाम लिन रुचाउनु हुन्छ?

— थुप्रै हुनुहुन्छ तरपनि मलाई लघुकथाकार नारायण तिवारी मन पर्नु हुन्छ । लघुकथाका आधारमा भन्दा डा.कपिलदेव लामिछाने मन पर्नु हुन्छ । उहाँको लघुकथा “हुर्केको रुख”ले जमिन्दार प्रथाको सही प्रस्तुति दिएको हुनाले मनपर्छ । लघुकथा पाठशालाका एडमिन लता केसी र राजु क्षेत्री अपुरो लगायत नयाँ लेखकहरूका केही लघुकथाहरू पनि मन पर्छन् ।

अन्तमा हाम्रो लघुकथा पाठशालालाई यहाँका केही सुझाव सल्लाह सहित आफ्ना केही भनाइ थिए कि ?

— लघुकथा पाठशालाको योजनामा लघुकथा लेखन, वाचन र केही भिडियोका रुपमा प्रस्तुत लघुकथाको प्रभाव विस्तार भइरहेको छ । नाटकका रुपमा समेत प्रस्तुत गरिँदा यसको प्रभावकारितामा अरु बढी बृद्धि हुने लाग्दछ । पाठशालाका गतिविधि प्रशंसायोग्य छन् । मलाई पनि नयाँ पुराना लेखकहरूसित घुलमिल हुने मौका दिनु भएको छ। यसका साथै सामाजिक सञ्जाल मार्फत मेरो अहिलेसम्म कतै पनि राम्रोसँग पुग्न नसकेको परिचयलाई आफ्ना पाठकहरू सामु पुर्‍याइदिनु भएकोमा तपाईँप्रति हार्दिक आभार व्यक्त गर्दछु।

(लघुकथा पाठशाला ग्रुप र हिमाल टाइम्सको सहकार्यका दैनिक एउटा लघुकथा हिमाल टाईम्सबाट सार्वजनिक हुदै आएको छ )