बजार भाउ भन्दा ८० रुपैयाँ सस्तोमा प्याज किन्न उपभोक्तहरुको लाइन

everest kitchen

काठमाडौं । खाद्य व्यवस्था तथा बजार कम्पनीमा सहुलियत मूल्यमा प्याज किन्न उपभोक्ताको भिड लागेको छ । बजार अनुगमनको क्रममा जफत गरिएको प्याज कम्पनीले शुक्रबारदेखि प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न थालेपछि सर्वसाधारणको भिड बढेको हो ।

बजारमा अहिले प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँ भन्दा माथि छ । त्यसैले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सस्तोमा बिक्री गरेपछि धेरै टाढादेखि उपभोक्तहरु आएका छन् । कम्पनीका बागमती प्रदेश बिक्री प्रमुख रणबहादुर बुढोथाकीले एक जनालाई बढीमा ३ किलोसम्म प्याज बिक्री गरेको बताए। बजार मूल्य भन्दा प्रतिकिलो ८० रुपैयाँ कममा सरकारी कम्पनीले प्याज बिक्री गर्न थालेपछि कोरोना जोखिमकाबीच उपभोक्ताहरु लाइन लागेका हुन् ।

अघिल्लो साता बजार अनुगमनको क्रममा बल्पखु तथा कालीमाटी बजार लगायतमा लुकाएर राखिएको झण्डै १४ हजार किलो प्याज सरकारले जफत गरेको थियो । सोही प्याज सहुलियत मूल्यमा बिक्री गरिएको हो ।

प्याज किन्नको लागि बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म समय तोकिएको छ। एक जनाले तीन किलोसम्म किन्न पाउने खाद्यले जनाएको छ। प्याज किन्नको लागि सर्वसाधारणको लाइन लागेको छ। भारतले प्याज निर्यातमा रोक लगाएपछि व्यापारीहरुले महङ्गोमा प्याज बिक्री गरिरहेका छन् ।