त्रिभुवन विश्वविद्यालयले अनलाइनबाटै प्राध्यापक छनोट गर्यो

everest kitchen

काठमाडौं । कोरोना प्रकोपको बीच त्रिभुवन विश्वविद्यालय सेवा आयोगले पहिलोपटक अनलाइन माध्यमबाट प्राध्यापक छनोट गरेको छ । अनुसन्धानात्मक विशिष्टताका आधारमा खुला प्रतियोगिताबाट प्राध्यापक छनोट गरिएको आयोगले जनाएको छ ।

विदेशी विज्ञसहितको छनोट टोलीले ५० वर्षभन्दा कम उमेरका प्रतिस्पर्धीमध्येबाट दुई प्राध्यापक र १६ सहप्राध्यापक छानेको छ । आयोगले गत पुसमा अनलाइन माध्यमबाट पाँच प्राध्यापक र २६ जना सहप्राध्यापक माग गरेको थियो । तोकिएको समयसीमाभित्र १ सय ६ जनाले आवेदन दिएका थिए । तीमध्ये ७१ जनाको मापदण्ड पुगेको थियो । अन्तिममा वनविज्ञान र सिभिल इन्जिनियरिङका दुई प्राध्यापक मात्र छनोट भए ।

त्यस्तै विभिन्न विषयका २६ जना सहप्राध्यापक हुनुपर्नेमा जम्मा १६ जना मात्र छनोटमा परेका छन् भने अंग्रेजी शिक्षा, व्यवस्थापन, तथ्यांकशास्त्र, कम्प्युटर विज्ञान, आईसीटी एजुकेसन, अर्थशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्धन विषयमा छनोट हुन अझै छैनन् । त्रिविले उक्त विषयमा पनि छिट्टै छनोट गर्ने बताएको छ ।

त्रिविले विश्व बैंकको सहयोगमा सञ्चालित उच्च शिक्षा सुधार परियोजनाअन्तर्गत दोस्रोपटक खुला प्रतिस्पर्धाबाट प्राध्यापक र सहप्राध्यापक छनोट गरेको हो । यसअघि २०६६ सालमा भौतिक रूपमा उपस्थित गराएर ६ प्राध्यापक र ५ सहप्राध्यापक छनोट गरिएका थिए ।

यसपटकको छनोटमा आयोगले भारत, बंगलादेश, मलेसिया, जापान, क्यानाडा, अमेरिका, बेल्जियम, फ्रान्स, थाइल्यान्ड र बेलायतबाट विज्ञहरू सहभागी गराएको आयोगका अध्यक्ष प्राध्यापक लालुप्रसाद पौडेलले बताए ।